अब को बन्लान् राष्ट्रपति, को बन्लान् सभामुख ? (भिडियो रिपोर्टसहित)
११ पुस २०७९ काठमाडौं । आइतबार वालुवाटारमा चलेको कांग्रेस नेतृत्वको गठबन्धन छाडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेपछि राजनीतिक समीकरण नै फेरियो ।
एमालेसहित सात राजनीतिक दल र तीन स्वतन्त्र सांसदको समर्थनमा प्रचण्ड मुलुकको ४४औँ प्रधानमन्त्री बन्नुभयो । प्रधानमन्त्री नियुक्तसँगै अब शक्ति बाँडफाँटको चर्चा सुरु भएको छ । अब राष्ट्रपति र सभामुख को हुने भन्ने चर्चा सुरु भएको छ ।
बालकोटमा माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटाएसँगै राष्ट्रपति र सभामुखबारे पनि एमाले र माओवादी केन्द्रबीच सैद्धान्तिक सहमति जुटेकोछ । एमाले र माओवादी केन्द्रबीच ५ वर्षमा आधा कार्यकाल प्रचण्ड र आधा कार्यकाल एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सहमति भयो । योसँगै राष्ट्रपति एमालेले लिने र सभामुख पनि आधा–आधा कार्यकाल बाँड्ने दुई दलबीच सहमति जुटेको छ ।
सभामुखको निर्वाचन संघीय संसदको पहिलो बैठक बसेको १५ दिनमा हुनुपर्ने संवैधानिक व्यवस्था छ । त्यस्तै राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐनले राष्ट्रपतिको पदावधि सकिनु एक महिनाअघि निर्वाचन आयोग निर्वाचनको मिति तोक्नुपर्ने व्यवस्था गरेको छ । हालकी राष्ट्रपति विद्यादेवी भण्डारीको अवधि फागुन २९ गते सकिदैछ । ऐन अनुसार माघ २९ अगावै निर्वाचन भइसक्नुपर्छ । अहिले राष्ट्रपति र सभामुख को बन्ला भन्ने आंकलनहरु हुन थालेका छन् ।
एमालेको भागमा राष्ट्रपति
सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच भएको सैद्धान्तिक सहमति अनुसार एमालेको भागमा राष्ट्रपति परेको छ । प्रधानमन्त्रीमा एमालेले माओवादी केन्द्रलाई सघाएपछि राष्ट्रपतिमा माओवादी केन्द्रसहितको नयाँ गठबन्धनले एमालेलाई सघाउनुपर्नेछ । यहाँ संघीय संसद सदस्य र प्रदेशसभा सदस्यको मतभारका आधारमा निर्वाचन हुन्छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन २०७४ अनुसार मतभार तोकिएको छ ।
संघीय संसद सदस्यको मतभार
नेपालको कूल जनसंख्यालाई संघीय संसद सदस्यले भाग गर्दा आउने परिणामलाई पुनः एक हजारले भाग गर्दा एउटा सदस्यको मतभार निर्क्योल हुन्छ । त्यस्तै प्रदेशसभा सदस्यको पनि कुल जनसंख्यालाई प्रदेशसभा सदस्यले भाग गरेर आउने संख्यामा १ हजारले भाग गर्दा आउने संख्या प्रदेशसभा सदस्यको मतभार बन्छ । २०७८ को प्रारम्भीक जनसंख्यालाई आधार मान्दा एक संघीय सांसदको मतभार ८८ हुन आउँछ । यही आधारमा एक प्रदेश सांसदको मतभार ५४ हुन आउँछ ।
एमाले–माओवादी नेतृत्वको गठबन्धनको मतभार कस्तो छ ?
एमाले– १६,९३२
माओवादी केन्द्र– ८,५६४
राप्रपा– २,४७४
रास्वपा– १,७६०
जसपा– १,३५६
जनमत पार्टी– १,३९२
नागरिक उन्मुक्ति पार्टी– ९४६
राष्ट्रपतिका लागि कुल मतभारको ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्छ । सात दलको मतभार जोड्दा सहजै राष्ट्रपति नयाँ गठबन्धनले पाउँने देखिन्छ ।
एमालेबाट राष्ट्रपति को बन्ला ?
एमालेबाट राष्ट्रपतिमा उपाध्यक्ष सुवास नेम्वाङ र अष्टलक्ष्मी शाक्यको चर्चा छ । उपाध्यक्ष नेम्वाङ इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुनुहुन्छ । उहाँले यसअघि अन्तरिम संसदको सभामुख, दुईपटक संविधानसभाका अध्यक्ष बनिसक्नुभएको छ । उहाँले अब आफू सभामुख वा मन्त्री बन्ने चाहनामा नरहेको बताइसक्नुभएको छ । उहाँले आफूलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा उभ्याउनुभएको छ ।
अष्टलक्ष्मी शाक्य यसअघि मन्त्री र सांसद बनिसक्नुभएको छ । उहाँ २०७४ को निर्वाचनमा बागमती प्रदेशको सांसद हुनुहुन्थ्यो र एमाले विभाजनपछि मुख्यमन्त्रीसम्म बन्नुभयो । गत निर्वाचनमा टिकट अस्वीकार गरेर शाक्यले राष्ट्रपतिकै लागि बाटो खोलेको चर्चा छ । पार्टीको निर्णयको प्रतिक्षामा उहाँ पनि हुनुहुन्छ । यस्तै एमालेमा अमृत बोहरा, युवराज ज्ञवाली पनि राष्ट्रपतिको आकांक्षी मानिनुभएको छ ।
सभामुख पदको पहिलो कार्यकाल पनि एमालेकै भागमा
संसदको पहिलो बैठक बसेको १५ दिनमा सभामुख चयन गरिनुपर्ने संवैधानिक व्यवस्था छ । एमाले र माओवादी केन्द्रबीच सभामुखको आधा–आधा कार्यकाल बाँड्ने सहमति भएको छ । जसअनुसार पहिलो कार्यकाल एमालेले नै सभामुख पद राख्नेछ ।
छविलाल विश्वकर्मालाई एमालेमा नयाँ सभामुखको उम्मेदवारका रुपमा चर्चा गर्न थालिएको छ । दुईपटक मन्त्री भइसकेका विश्वकर्मा दलित समुदायबाट पहिलो पटक सभामुख बन्ने चाहनामा रहनुभएको छ । यस्तै, विद्या भट्टराईको पनि सभामुखमा चर्चा रहेको छ । अबको केहीदिनमा राष्ट्रपति तथा सभामुख दुबै पद टुंगो लाग्नेछ ।
प्रतिक्रिया