के ओली यसपटक साढे दुई वर्ष कुर्ने मनस्थितिमै छन् त ? (भिडियो रिपोर्टसहित)

१ पुस २०७९ काठमाडौं । नेकपारुपी विशाल जहाजलाई सुरक्षित अवतरण गर्न नसकेका केपी ओली र पुष्पकमल दाहाल एक्काइस महिनाको विर्सनलायक व्यवहारपछि फेरि जोडिएका छन् ।
सत्ताका लागि मरिहत्ते गर्ने यि दुबै पात्रको मिलनले मुलुकलाई के दिन्छ, विस्तारै थाहा होला । तर, वामपन्थी जमातलाई भने उत्साहित बनाएको छ । यो उत्साह कतिको टिक्ट मूलतः प्रचण्डकै व्यवहारमा निर्भर हुने देखिन्छ । किनकि, सत्ताको साँचो लिएका ओली यसपटक साढे दुई वर्ष कुर्ने मनस्थितिमै देखिन्छन् ।
२०७४ को आम चुनावमा माओवादी केन्द्रसँगको मोर्चाबन्दी सफल भएपछि २०७४ फागुन ३ गते एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भए । २०७५ जेठ ३ गते तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भयो । र, ओली दुई तिहाई हाराहारी रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शक्तिशाली प्रधानमन्त्री भए ।
प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति कार्यान्वयनको विषयबाट केपी–प्रचण्डबीच विवाद सुरु भयो । र, विवादको उत्कर्षमा सत्ता छोड्नुपर्ने परिस्थिति आएपछि ओलीले दुईपटक संसद विघटन गरे, २०७७ पुस ५ र २०७८ जेठ ८ गते ।
पहिलो र दोस्रो विघटनको बीचमा २०७७ फागुन २३ मा सर्वोच्चले नेकपालाई एमाले र माओवादी केन्द्रकै रुपमा अलग गरिदियो । बाटो फरक भइसकेका दुबैलाई अदालतले पनि आफ्नो गरी खानु भनेजसरी छुट्याइदियो ।
प्रचण्डकै डिजाइनमा दोस्रो विघटनसँगै १४६ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिपाऊँ भनेर सर्वोच्च अदालत गुहारे । र, मागअनुसार सर्वोच्चले २०७८ असार २८ गते देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परामादेश नै दियो । २९ गते ओली सत्ताच्यूत र देउवा प्रधानमन्त्री भए ।
शक्तिमा हुँदा ओलीमा बढेको उन्माद र शक्तिहीन बन्दा प्रचण्डमा बढेको कुण्ठाले नेकपा मात्रै सकिएन, प्रचण्डकै डिजाइनमा ओली सत्ताबाहिर पुगे ।
पहिलो संसद विघटनसँगै ओली र प्रचण्ड एक नदिका दुई किनार भइसकेका थिए । त्यसलाई झनै फराकिलो बनायो, नेकपाको औपचारिक विभाजन र दोस्रो संसद विघटनसँगै सर्वोच्चको आदेशले । २०७७ पुस ५ गते फाटेको मन मिलाउन ओली र प्रचण्डलाई ठीक २ वर्ष ५ दिन लाग्यो ।
२०७९ पुस १० गते ओली र प्रचण्ड एउटै बार्दलीमा मुस्कुराएनन् मात्र, धेरैलाई चक्मा दिँदै सत्ता सहयात्री नै बने । एक्काइस महिनाअघि ओलीलाई सत्ताच्यूत गर्ने डिजाइनर प्रचण्ड थिए । र, एक्काइस महिनापछि प्रचण्डलाई सत्ता सुम्पिने सुत्राधार बने ओली । सत्ताका लागि फुटेका ओली र प्रचण्ड फेरि सत्ताकै लागि जुटेका छन् ।
प्रचण्ड प्रधानमन्त्री त बने । तर, सत्ताको साँचो ओलीसँग छ । जसलाई उनले जुनसुकै बेला मर्काउन सक्छन् । वा, सहमति भएको भनिएअनुसार साढे दुई वर्ष धैर्यपूर्वक प्रतीक्षा गर्लान् । त्यसअघि नै ओलीलाई प्रधानमन्त्री अफर गरेर कांग्रेसले प्रचण्डसँग बदला लियो भने मात्रै, नत्र ओलीसँग कुर्नुको विकल्प छैन ।
आफैंलाई सत्ताच्यूत गरेका प्रचण्डलाई सत्ता सम्पनु ओलीको र आफैंले सडकमा पछारेका ओलीको शरण परेर सत्ता स्याहार्नु प्रचण्डको बाध्यता हो, अस्तित्व रक्षाको बाध्यता । यद्यपी, सत्ताका लागि जे पनि गर्छन् भन्ने आम आरोपबाट फेरि यि दुई पात्र सक्दो सेकिने छन् ।
प्रचण्डले ओलीलाई प्रतिगामी भन्थे । ओली प्रचण्डलाई कुलंगार । ओली र प्रचण्डको यो मिलन केपीको प्रतिगनम सच्चिएर भएको हो कि दाहालको चरित्र सुध्रिएर, सायद जवाफ दुबैबाट आउने छैन । बोरु, केही समयपछि आत्मालोचना गर्दै बिगतमा दुबै आ–आफ्नो ठाउँमा सही रहेको तर व्याख्या चाहिँ गलतरुपमा गरिएको भनेर दोष जति देशी–विदेशी प्रतिक्रियावादीलाई दिन सक्छन् ।
ओली र प्रचण्डको यो मिलन विगतका गल्तीको कोर्स करेक्सनको प्रस्थान विन्दू हो वा होइन भनिहाल्न हतार हुनेछ । किनकि, फेरि सहयात्रा सुरु भएपनि यि दुबै जोगी देख्दा भैंसी तर्सने, भैंसी देख्ला जोगी भन्ने मनस्थितिमै छन् । ओलीलाई विश्वासमा लिएर प्रचण्डले सरकार कसरी चलाउँछन् भन्ने कुराले यिबीचको आउँदो सम्बन्ध निर्धारण हुने छ । मूल कुरा, साँढे दुई वर्ष ओलीलाई नेता मान्ने धैर्यता प्रचण्डमा छ राख्छन् कि राख्दैनन् भन्ने हो । सपथमा दौरा–सुरुवाल लगाएर प्रचण्डले ओलीपथ अंगिकार गर्ने संकेत भने गरिसकेका छन् ।
शक्तिमा हुँदा उन्माद र नहुँदा कुण्ठा बढ्ने रोगले ओली र प्रचण्डलाई थप गाँज्दै लगेन भने यो सहकार्यले वामपन्थी जमातलाई मात्र होइन निरास नागरिकलाई पनि उत्साहित बनाउन सक्छ ।
प्रतिक्रिया