Main News

दौरा सुरुवालालाई राष्ट्रिय पोशाक स्वीकार गर्न नमानेका प्रचण्ड कसरी बदलिनुभयो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष ११ गते २०:०५
दौरा सुरुवालालाई राष्ट्रिय पोशाक स्वीकार गर्न नमानेका प्रचण्ड कसरी बदलिनुभयो ? (भिडियो रिपोर्टसहित)

११ पुस २०७९ काठमाडौं । देशको ४४औँ प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल फरक रुपमा देखिनु भएको छ ।

प्रधानमन्त्रीका रुपमा पहिलो र दोस्रो पटक सर्ट, पाइन्ट र कोट नछोडेका प्रचण्ड, तेस्रो पटक प्रधानमन्त्री बन्दा चाँहि दौरासुरुवालमा देखिनुभयो । दौरा सुरुवालालाई राष्ट्रिय पोशाक स्वीकार गर्न नमानेका प्रचण्ड कसरी बदलिनुभयो ?

विगतमा कहिल्यै पनि दौरा सुरुवाल नलगाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेर शपथ खान जाँदा भने अनौठो स्वरुपमा देखिनुभयो ।

कसैलाई पनि लागेको थिएन, आफैले सामन्ती भनेर करार गरिदिएको पोशाक लगाएर प्रचण्डले राष्ट्रपतिसँग देश र जनाताका नाममा शपथ खानुहुनेछ ।

प्रचण्ड भन्नुहुन्थ्यो, दौरा सुरुवाल राजा–महाराजाले विकास गरेको सामन्ती पोशाक हो । दौरा सुरुवालले विभेदको प्रतिनिधित्व गर्छ भन्ने तर्क गर्दै कम्युनिष्टहरु अन्तर्राष्ट्रवादी भएका कारण पनि एउटा संस्कृतिको केन्द्रमा रहेको दौरा सुरुवाल लगाउन हुन्न भन्नुहुन्थ्यो उहाँ ।
माक्र्स, लेनिन र एङ्गेल्सले पनि टाइसुट लगाएको र त्यो नै अन्तर्राष्ट्रको पहिचान रहेको दाबी गर्ने प्रचण्ड अचानक यही सामान्ती पोशाकमा फर्किनुभयो ।

प्रचण्डले राष्ट्रले स्वीकार गरेको दौरा सुरुवाल किन नलगाउनु भएको भन्ने जिज्ञासा यसअघि पटकपटक उठ्ने गरेका थिए । पहिलो पटक प्रधानमन्त्री बन्दा नै टाइसुटमा भादगाउँले टोपी लगाएका प्रचण्ड, राष्ट्रवादी बन्न भादगाउँले टोपी र अन्तर्राष्ट्रवादी बन्न टाइसुट लगाएको तर्क गर्नुहुन्थ्यो ।

सामान्यतया नेपालमा पोशाकका विषयमा त्यतिधेरै तर्क हुने गरेको छैन । दौरा सुरुवाललाई संस्कृतिका रुपमा लिइन्छ, जुन कुनै धर्म, भाषा, जातजाति वा समुदायभन्दा माथि छ ।

सरकारमा जानेहरुले सेतो रंगको दौरासुरुवाल र खरानी रंगको कोट लगाउने परम्परा नै बसिसकेको छ । बीचमा कसैले रंग फेरेरै लगाउँदा पनि प्रश्न उठिहाल्दैन । तर पोशाकलाई नै सामन्ती करार गरेका प्रचण्ड यो कुरामा सँधै बाठो देखिनुभयो ।

पहिलो पटक बालुवाटारमा सार्वजनिक हुँदा अर्का नेता बाबुराम भट्टराईसँगै प्रचण्ड खाकी रंगको सर्ट र त्यही रंगको पाइन्टको जोडी मिलाएर फरक पहिचान स्थापित गर्न खोजेको जस्तो देखिनुहुन्थ्यो । त्यसअघि युद्धकालीन समयमा सुप्रिम कमाण्डरका रुपमा माओवादी लडाकुकै सैन्य पोशाकका तस्बिरहरु पनि सार्वजनिक भएका थिए ।
तर राजकीय सत्तामा आएपछि प्रचण्डले लडाकु पोशाक त लगाउनु परेन नै बालुवाटार छिर्दाको खाकी रंग पनि मिल्काइसक्नु भएको थियो ।

अहिले सामान्य रुपमा देशभित्र हुने कार्यक्रमहरुमा टाइसुटमा जाने राजनीतिक नेताहरु कमै हुन्छन् पछिल्लो दशकमा प्रचण्ड यसको अपवाद बनिरहनु भयो ।

२ वर्षअघि बीबीसीसँगको कुराकानीमा नेपाली पोशाक दौरा सुरुवालबारे प्रचण्ड निकै नरम सुनिनु भयो, र भन्नुभयो ‘कुनै दिन दौरा सुरुवाल लगाउन सक्छु ।’

अहिले गज्जबको संयोग त के देखिएको छ भने गत बिहीबार प्रतिनिधिसभा सदस्यहरुको शपथ कार्यक्रमका लागिसंसद सचिवालयले सांसदहरुलाई राष्ट्रिय पोशाक वा आ–आफ्नो मौलिक पोशाकमा उपस्थित हुन आग्रह गरेको थियो । त्यसलगत्तै नेकपा एमालेले आफ्ना सांसदहरुलाई राष्ट्रिय पोशाकमा उपस्थित हुन उर्दी जारी गर्यो ।

कांग्रेस नेतृत्वको सत्ता गठबन्धन तोडेर एमालेले संयोजन गरेको गठबन्धनबाट प्रधानमन्त्री पद पाउन सफल प्रचण्ड यहीबेला दौरा सुरुवालमा देखिनु भएको छ । उमेरले ६८ लागेपछि प्रचण्डले परम्परागत पोशाकलाई नै स्वीकार गरेर शपथ खानुका पछाडि कुनै मनोवैज्ञानिक दबाब होला कि साँच्चै अब आफ्नो मौलिक पोशाक हुनुपर्छ र त्यो दौरा सुरुवाल नै हो भन्ने लागेको होला ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *