Main News

क्याविनेटमै प्रतिपक्षको भूमिका निर्वाह गर्ने नवनियुक्त गृहमन्त्रीको प्रष्टीकरण

आफ्नो नागरिकता वा पासपोर्ट अनुसन्धानमा हस्तक्षेप नगर्ने प्रतिबद्धता

हिमालय टिभी
२०७९ पुष ११ गते १८:०७
क्याविनेटमै प्रतिपक्षको भूमिका निर्वाह गर्ने नवनियुक्त गृहमन्त्रीको प्रष्टीकरण

११ पुस २०७९ काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले क्याबिनेटभित्र पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनु भएका उहाँले आज अपरान्ह सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीमाझ यस्तो योजना सार्वजनिक गर्नु भएको हो ।

उपप्रधानमन्त्री लामिछानेले जनताको पीरमर्का नबुझ्ने अथवा कुनै पनि गलत काम क्याविनेटमा पनि हुन्छ कि भनेर प्रतिपक्षको भूमिका निर्वाह गर्ने गरी नै आफ्नो पार्टी सरकारका सहभागी भएको पनि स्पष्ट पार्नु भयो ।

विगतमा आफूहरुले जनताको पक्षमा खवरदारी गर्दै आएको र त्यसलाई सरकार तथा संसदमा गएर पनि निरन्तरता दिने उहाँको भनाइ थियो । उपप्रधानमन्त्री लामिछानेले जनताको पक्षमा आफूहरुले गरेको बाचा पूरा गर्ने गरी केही दिनमै सत्तारुढ दलहरुको तर्फबाट सामूहिक प्रतिवद्धता सार्वजनिक गर्ने घोषणासमेत गर्नुभयो ।

उहाँले आफूहरु मन्त्री पदका लागि सरकारका नआएको पनि पटकपटक दोहो-याउनुभयो ।

उपप्रधानमन्त्री लामिछानेले आफ्नो नागरिकता वा पासपोर्ट अनुसन्धानको काममा कुनै पनि खालको हस्तक्षेप नगर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । स्वतन्त्र भएर सो विषयमा अनुसन्धान गर्न सम्बन्धित निकाय लाग्नुपर्ने र त्यसमा आफूले सक्दो सहयोग गर्ने उहाँको भनाई थियो ।

यसअघि उपप्रधानमन्त्री लामिछानेलाई गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहलगायतका कर्मचारीहरुले मन्त्रालयमा भव्य स्वागत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *