राजनीति

भूईँको लोभ गर्दा कांग्रेसले यसरी पोल्टाको गुमायो

हिमालय टिभी
२०७९ पुष १० गते १७:५०
भूईँको लोभ गर्दा कांग्रेसले यसरी पोल्टाको गुमायो

१० पुस २०७९ काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्री पदसमेत आफैले राखेर सर्वशक्तिमान बन्ने ध्याउन्नमा रहेको नेपाली कांग्रेस सर्वस्व गुमाउन पुगेको छ ।

भुईँमा रहेको प्रधानमन्त्री पद उठाउन खोज्दा पोल्टामा रहेको राष्ट्रपति पदसमेत गुमाएको कांग्रेसले अब सत्ताका कुनै पनि पद नपाउने निश्चित भएको छ ।

दोस्रो ठूलो दल नेकपा एमाले र तेस्रो दल माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टी र अरु साना दल समेटेर नयाँ सरकार बनाउने सहमति गरेसँगै कांग्रेस केन्द्रमा मात्र होइन प्रदेशमा समेत प्रतिपक्षमा पुग्नेछ ।

आइतबार बिहानसम्म पनि सत्ता गठबन्धन जोगाउन प्रयासरत कांग्रेसले पहिला माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री दिन तयार भएन । पार्टीभित्रको दबाब भनेर प्रचण्डलाई नै दबाबमा पार्न खोजिरहेको कांग्रेस अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा उपसभामुख लगायतका पदबाट बञ्चित हुने निश्चित भएको छ ।

यतिमात्र होइन केन्द्रको समीकरण बदलिएसँगै कांग्रेसले प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाका सभामुख र उपसभामुखलगायतका पद पनि गुमाउने छ भने कम्तीमा ६ वटा प्रदेशमा प्रतिपक्षी बन्ने निश्चित छ । यी सबै पदहरु अब एमाले नेतृत्वको गठबन्धनका दलहरुबीच भागवण्डा हुनेछन् ।

प्रदेश–१ को सबैभन्दा ठूलो दल एमालेलाई सरकार बनाउन ७ सिट अभाव थियो । तर माओवादी केन्द्रसँग १३ सिट भएकाले अब सजिलै सरकार बन्नेछ । ९३ सदस्यीय प्रदेशसभामा एमालेसँग ४० सिट छ । राप्रपासँग ६ र जसपासँग एक सिट छ । प्रदेशसम्म यो गठबन्धनले निरन्तरता पाए २९ सिटको कांग्रेस प्रदेश–१ मा प्रतिपक्षमा बस्नुपर्नेछ ।

मधेश प्रदेशमा एमाले, माओवादी, जसपा र जनमत पार्टी मिले सरकार बन्नेछ । एमालेसँग २३, जसपासँग १६, जनमत पार्टीसँग १३ र माओवादीसँग ८ सिट छ । १०७ सदस्यीय प्रदेशसभामा यी चारको सिट संख्या ६० पुग्नेछ । सरकार बनाउन ५४ सिट आवश्यक पर्छ ।

बागमती प्रदेशमा राप्रपाको साथ पाए एमाले नेतृत्वकै गठबन्धनले सरकार बनाउनेछ । ११० सदस्यीय प्रदेशसभामा एमालेसँग २७ र माओवादीसँग २१ सिट छ । १३ सिटको राप्रपाको साथ पाएमा सरकार बन्नेछ ।

गण्डकीमा पनि राप्रपाको साथ पाउँदा कांग्रेस इतरको सरकार बन्नेछ । गण्डकीमा एमालेसँग २२ र माओवादीसँग ८ सिट छ । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ सिट आवश्यक पर्छ । राप्रपासँग २ सिट भएकाले बहुमत पुग्छ ।

लुम्बिनीमा पनि राप्रपाको साथ पाउँदा सरकार बन्नेछ । लुम्बिनीमा एमालेसँग २९, माओवादीसँग ९ र जसपासँग ३ सिट छ । राप्रपासँग ४ सिट भएकाले प्रदेशसभामा बहुमत पुग्छ । ८७ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ४४ सिट आवश्यक पर्छ ।

कर्णालीमा एमाले र माओवादी मिल्दा मात्रै सरकार बन्छ । ४० सदस्यीय प्रदेशसभामा माओवादीसँग १३ र एमालेसँग १० सिट छ ।
सुदूरपश्चिममा भने नागरिक उन्मुक्ति निर्णायक छ । ७ सिटको नागरिक उन्मुक्ति पार्टीले साथ दिएमा यो प्रदेशमा कांग्रेस सरकारमा जान सक्ने वा सरकारको नेतृत्व गर्ने अवस्थामा छ । ५३ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रसँग ११ र एमालेसँग १० सिट छ ।

समग्रमा अब कांग्रेस साढे एक वर्ष अगाडिको एमालेको हालतमा पुगेको छ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल भएर पनि प्रतिपक्षीको भूमिकामा रहनुपर्ने बाध्यतामा कांग्रेस पुगेको हो । पाँच दलीय गठबन्धन गरेर प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बनेको कांग्रेस अब गठबन्धन जोगाउन र सरकार निर्माण गर्न नसकेको आरोपमा पार्टीभित्रै विवाद र आलोचनाको शिकार हुने देखिन्छ ।

प्रचण्डले एमालेको साथ लिएर सरकारको नेतृत्व गर्ने तय भइरहँदा कांग्रेस नेता र देउवाका निकटसमेत मानिएका रामचन्द्र पौडेलले देउवाबाट प्रचण्डलाई धोका भएको भन्न भ्याइसक्नु भएको छ । प्रचण्ड नेतृत्वको नयाँ सरकार गठनसँगै कांग्रेसभित्रको विवाद थप पेचिलो बन्न सक्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *