Main News

प्रधानमन्त्रीमा प्रचण्ड , कसरी भयो सहमति ?

हिमालय टिभी
२०७९ पुष १० गते १६:५०
प्रधानमन्त्रीमा प्रचण्ड , कसरी भयो सहमति ?

१० पुस २०७९ काठमाडौं । अन्तत: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बन्ने निश्चित भएको छ ।

शक्तिको बाँडफाँटमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा कुरा नमिलेपछि नेकपा एमालेको साथ लिएर प्रचण्ड सरकारको नेतृत्वमा पुग्नु निश्चित भएको हो । प्रचण्डले कसरी पाउनु भयो एमालेको साथ ?

नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमा आइतवार साँझ सकिने भएपछि नेपाली कांग्रेसको नेतृत्वको गठबन्धनको बैठक विहानैदेखि बालुवाटारमा बस्यो । गठबन्धनको बैठककै बीचबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाहिरिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुग्नु भयो ।

प्रचण्ड बाहिरिएसंगै नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रयास समाप्त भैसकेको थियो भने बालकोटमा नयाँ गठबन्धनको वातावरण तयार भयो । एमालेले प्रचण्डलाई मात्र होइन नयाँ गठबन्धनका लागि आवश्यक सिट जोहो गर्न राष्ट्रिय स्वतन्त्री पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतलाई पनि आमन्त्रण गर्‍यो ।

बालकोट पुगेका राप्रपा, रास्वपा, जसपा, जनमत तथा नागरिक उन्मुक्ति पार्टी नयाँ गठबन्धन बनाएर सरकारमा जान तयार भए ।
हालको सत्ता गठबन्धन भत्काउन लागिपरेको एमाले पावर शेयरिङमा अन्य पदहरुबाट लाभ हुने भएपछि माओवादीलाई प्रधानमन्त्री दिन तयार भयो र अरु साना दल प्रचण्डको नेतृत्वमा सरकारमा जान राजी भए ।

राष्ट्रपति पद पनि नछोड्ने र प्रधानमन्त्रीको पहिलो २ वर्षे कार्यकाल पनि नछोड्ने कांग्रेसको हठ नै नयाँ गठबन्धनको कारक बन्नु पुग्यो ।
नेकपा एमालेका नेताहरुले निर्वाचनको परिणाम सार्वजनिक भएपछि नै माओवादी अध्यक्ष प्रचण्डलाई नयाँ सरकारको नेतृत्व लिन प्रस्ताव गरेका थिए । तर प्रचण्ड विश्वस्त हुन सक्नुभएको थिएन ।

किनकी पहिले पनि आलोपालो सरकारको नेतृत्व गर्ने सहमति एमाले अध्यक्ष ओलीले तोडेको प्रचण्डले आरोप लगाउँदै आउनु भएको थियो । तर नेपाली कांग्रेस सत्ताको भागबन्डामा लचिलो नभएपछि प्रचण्ड फेरि ओलीकै शरणमा पुग्नु भयो र ओली पनि उहाँलाई प्रधानमन्त्रीमा स्वीकार गर्न तयार भएपछि नयाँ समीकरण तयार भयो।

एमालेसहितको गठबन्धनको आधारका पछाडि माओवादी केन्द्रका नेता वर्षमान पुनको पछिल्लो चीन भ्रमणलाई पनि मानिएको छ । उपचारका लागि चीन गएको बताइए पनि एमाले र माओवादी सहितको नयाँ सरकार बनाउने चीनको भित्री चाहना थियो र फर्के लगत्तै वर्षमान पुनले एमालेसहितको सरकार बनाउन अग्रसरता लिनु भएको थियो । केही समयअघि चिनियाँ अधिकारीहरुले पनि वाम नेताहरुसँग भेटेको चर्चा सेलाउन नपाउँदै एमाले अध्यक्ष ओलीको प्रचण्ड प्रतिको नरम अभिव्यक्ति लगायतलेसमेत प्रचण्डको नेतृत्व स्वीकार गरेर सरकारमा जान एमाले तयार भएको संकेत मिलिरहेको थियो ।

एमालेले देखाएको हरियो झण्डका कारण पनि प्रचण्ड कांग्रेसको भन्दा झण्डै एक तिहाइ कम सिट हुँदासमेत प्रधानमन्त्रीमा बलियो दाबेदारी देखाइरहनु भएको थियो । अन्ततस् बालुवाटारमा कांग्रेस नेताहरुले पहिलो दुई वर्षे कार्यकालमै प्रचण्डलाई प्रधानमन्त्री नदिने अडान लिएपछि उहाँलाई ुकहाँ पोखियो घ्यू भातैु मा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *