Main News

कसरी हुँदैछ प्रदेशसभा सदस्यहरुको शपथ ?(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष ६ गते २०:४७
कसरी हुँदैछ  प्रदेशसभा सदस्यहरुको शपथ ?(भिडियो रिपोर्टसहित)

६ पुस २०७९ काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि भोलि प्रतिनिधिसभा सदस्यले सपथ लिँदैछन् ।

प्रदेशसभा सदस्यको समेत सपथ लिनुपर्ने भएकाले अहिले सात वटै प्रदेश सचिवालयले सपथको मिति तोक्न व्यस्त छन् ।

प्रदेशसभा सस्दयमा निर्वाचित भएका सबैलाई प्रदेशसभाको पहिलो बैठक अघि सपथ लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही प्रावधान अनुसार प्रदेश सांसदलाई सपथ खुवाउने तयारी सुरु भएको छ । केही प्रदेशमा प्रदेशसभा सञ्चालन नियमावली अनुसार ज्येष्ठ सदस्यले सपथ गराउँदैछन् भने केही प्रदेशमा प्रदेश प्रमुखले नै सपथ गराउने तय भएको छ । प्रदेश १ प्रदेशसभाका नवनियुक्त प्रदेश सांसदको सपथ पुस ११ गतेलाई तोकिएको छ ।

यो पटक सभामुख चयन हुनुअघिका बैठक ज्येष्ठ सदस्य गयानन्द मण्डलले सञ्चालन गर्नेछन् । प्रदेश प्रमुखसँग सपथ लिएपछि मण्डलले ९२ सदस्यलाई सपथ गराउने तयारी गरिएको छ । मधेश प्रदेशमा पनि प्रदेश प्रमुख हरिशंकर मिश्रले ७१ वर्षका गोविन्दबहादुर न्यौपानेलाई सपथ गराउने तय भएको छ । प्रदेश सचिवालयका अनुसार न्यौपानेले सपथपछि १ सय ६ सदस्यलाई सपथ गराउनेछन् । तर, अहिलेसम्म सपथको मिति भने तय भएको छैन ।

बागमती प्रदेशमा पनि सपथको तयारी भइरहेको छ । प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता नेकपा माओवादी केन्द्रका सांसद रामप्रसाद ढुंगानाले गर्ने तय भएको छ । ढुंगानाले प्रदेश प्रमुखबाट सपथ लिएपछि १ सय ९ सदस्यलाई पुस ११ गते सपथ गराउने तय भएको छ । यता, गण्डकी प्रदेशमा पर्वतको क्षेत्र नम्बर १ को २ बाट निर्वाचित सांसद मित्रलाल बस्यालले ज्येष्ठ सदस्यको रूपमा प्रदेश प्रमुखसमक्ष सपथ लिने तयारी गरिएको छ ।

पुस १३ गते सपथ लिएपछि बस्यालले पुस १४ गते ५९ सदस्यलाई सपथ गराउने कार्यतालिका छ । लुम्बिनीमा प्रदेशसभा सदस्यहरुलाई प्रदेश प्रमुखले नै सामूहिक रुपमा सपथ गराउने तयारी भएको छ । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को ४ को अनुसूची १ ढाँचा अनुसार ८७ जना सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ ग्रहण गराउने तयारी भएको प्रदेशसभा सचिवालयले जनाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा गुल्मीबाट निर्वाचित डिल्लीराज भुसालले ज्येष्ठ सदस्यका रूपमा प्रदेशसभा बैठकको अध्यक्षता गर्नेछन् ।

कर्णाली प्रदेशमा भने नयाँ सांसदको सपथ केही पर धकेलिने भएको छ । प्रदेश प्रमुख बाहिर रहेकाले सचिवालयले सपथको तयारी अघि बढाएको छ । तर, सचिवालयका अनुसार दैलेख निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित नेकपा एमालेका विनोद कुमार शाहले ज्येष्ठ सदस्यका रूपमा सपथ लिनेछन् । त्यसपछि ४० सांसदलाई शाहले सपथ गराउनेछन् ।

यता, सुदूरपश्चिम प्रदेशसभा सदस्यको सपथ भने पुस १५ मा गर्ने तय भएको छ । प्रदेश प्रमुख देवराज जोशीले अछाम क्षेत्र नम्बर २ को प्रदेश सभा ख बाट निर्वाचित ज्येष्ठ सदस्य मानबहादुर रावललाई सपथ गराउने तय भएको छ । त्यसपछि रावलले त्यसपछि ५२ सदस्यलाई सपथ गराउनेछन् । सात वटै प्रदेशमा सपथ गराउने तयारी भएपनि सरकार निर्माणका लागि भने अहिलेसम्म प्रदेश प्रमुखबाट आह्वान भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *