Main News

कसरी, कुन व्यवस्थाअनुसार हुन्छ सांसदहरूको शपथ ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष ६ गते २०:३८
कसरी, कुन व्यवस्थाअनुसार हुन्छ सांसदहरूको शपथ ? (भिडियो रिपोर्टसहित)

६ पुस २०७९ काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले बिहीबार शपथ लिँदै छन् । त्यसअघि ज्येष्ठ सदस्यको हैसियतमा राप्रपाबाट समानुपातिकतर्फ निर्वाचित पशुपति शमशेर जबराले राष्ट्रपतिसँग सभामुखको शपथ लिनुभएको छ ।

उहाँले नै प्रतिनिधिसभामा निर्वाचित सांसदलाई शपथ गराउनुहुनेछ । कुन व्यवस्था अनुसार हुन्छ शपथ र संसद अधिवेशन आह्वान ?

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन निर्वाचन आयोगले मंसिर २९ गते राष्ट्रपतिलाई बुझाइसकेको छ । आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाउनु अन्तिम नतिजा सार्वजनिक भएको मानिन्छ । यसैलाई आधार मानेर राष्ट्रपतिले ३० दिनभित्र अर्थात पुस ३० गतेभित्र संसद बैठक आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, संसद बैठकमा भाग लिनुअघि नवनिर्वाचित सांसदले शपथ लिनुपर्नेछ ।

शपथ सम्बन्धी संवैधानिक व्यवस्था
संविधानको धारा ८८ मा सांसदको शपथ सम्बन्धी व्यवस्था रहेको छ । धारा ८८ मा ‘संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानून बमोजिम शपथ लिनुपर्नेछ’ भन्ने उल्लेख छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ ले सांसदको शपथ सम्बन्धी व्यवस्था गरेको छ । ऐनको दफा ७५ को उपदफा १ ले निर्वाचित सदस्यले प्रतिनिधिसभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रतिनिधिसभाको अध्यक्षता गर्ने व्यक्ति समक्ष तोकिएको ढाँचामा शपथ लिनुपर्ने उल्लेख गरेको छ ।

प्रतिनिधिसभाको अध्यक्षता सभामुखले गर्ने संवैधानिक व्यवस्था रहेकाले सभामुख चयन नभएसम्म ज्येष्ठ सदस्यले अध्यक्षता गर्ने संविधानको धारा ९१ को उपधारा ५ मा उल्लेखछ । ज्येष्ठ सदस्यको निर्क्यौल निर्वाचन आयोगले गर्ने व्यवस्था छ ।

त्यसैका आधारमा बुधबार ज्येष्ठ सदस्य राप्रपाका पशुपति शमशेर जबराले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा १ बमोजिम शपथ लिनुभयो । अब जबराले यही ऐन अनुसार प्रतिनिधिसभामा निर्वाचित २ सय ७४ सांसदलाई बिहीबार शपथ गराउँदै हुनुहुन्छ । प्रतिनिधि सभा सदस्यको शपथपछि राष्ट्रपतिले संघीय संसद अधिवेशन आह्वान गर्नुहुनेछ ।

संसद अधिवेशन आह्वान सम्बन्धी व्यवस्था
संविधानको धारा ९३ को उपधारा १ मा भनिएको छ– ‘राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसदको अधिवेशन आव्हान गर्नेछ । त्यसपछि यस संविधानबमोजिम राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्नेछ । तर, एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि ६ महिनाभन्दा बढी हुने छैन ।’

यसरी दुबै सदनको अधिवेशन प्रारम्भ हुन्छ । यो अधिवेशन प्रारम्भ भएको १५ दिनमा सभामुख र उपसभामुख निर्वाचित गर्नुपर्ने संविधानको धारा ९१ ले प्रष्ट पारेको छ । शपथ सम्बन्धी ऐन २०७९ को दफा ५ ले सरकारी कामकाजको भाषा नेपाली र नेपालमा बोलिने मातृभाषामा शपथ लिन सक्ने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *