Main News

बहसमा नेवा विश्वविद्यालय, विश्वविद्यालय कति र किन ? (भिडियो रिपोर्टसहित)

२०७९ पुष ५ गते १४:२१
बहसमा नेवा विश्वविद्यालय, विश्वविद्यालय कति र किन ? (भिडियो रिपोर्टसहित)

५ मंसिर २०७९ काठमाडौं । पुस २ गते ललितपुर महानगरपालिकाको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले लतिलपुरका मेयर चिरिबाबु महर्जनलाई नेवा विश्वविद्यालय स्थापनामा सहकार्यको प्रस्ताव गर्नुभयो ।

मेयर बालेन्द्रको प्रस्तावपछि नेवा विश्वविद्यालयको आवश्यकता र प्रयोजनका विषयमा विभिन्न थरी टिप्पणी भएका छन् । सरकारको मातहतमा रहेको त्रिभुवन विश्वविद्यालय सहित देशभरका १४ विश्वविद्यालयको गुणस्तर र विद्यार्थीलाई टिकाइराख्ने सामर्थ्यका विषयमा बहस भइरहेका बेला अर्को विश्वविद्यालयको आवश्यकता किन पर्‍यो त ?

नेपालको संविधानको अनुसूचि ५ को १५ मा केन्द्रीय विश्वविद्यालय, विश्वविद्यालय मापदण्ड र नियमन संघ सरकारको अधिकार भनेर तोकेको छ ।

संविधानको अनुसूचि ६ अनुसार प्रदेश सरकारको अधिकारमा प्रदेश विश्वविद्यालय, उच्च शिक्षालय, पुस्तकालय र संग्रहालय स्थापना, संचालन गर्न सक्ने उल्लेख छ ।

अब कुरा गरौँ अनुसूचि ८ को जसमा स्थानीय सरकारको अधिकार उल्लेख गरिएको छ । स्थानीय सरकारले भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास गर्न सक्छन् । तर विश्वविद्यालय खोल्नु र सञ्चालन गर्नु उनीहरुको क्षेत्राधिकारको कुरा होइन । संघ, प्रदेश र स्थानीय सरकारका साझा अधिकारका रुपमा भाषा, संस्कृति संरक्षणको बिषयलाई तोकिएको छ । काठमाडौंका मेयर शाहले विश्वविद्यालय स्थापनाको इच्छा व्यक्त गरे पनि संविधानतस् यो संघको अधिकार क्षेत्रको कुरा हो ।

कति छन् त नेपालमा विश्वविद्यालय ?
नेपालमा वि।सं। १९७५ मा त्रिचन्द्र कलेजको स्थापना भयो । त्यस समयसम्म नेपालमा उच्च शिक्षाको व्यवस्था थिएन । विश्वविद्यालय खुल्न कलेज खुलेको ४१ वर्ष कुर्नुपर्‍यो । २०१६ सालमा त्रिभुवन विश्वविद्यालय खुलेपछि भने अन्य कलेजहरुसँगै विश्विद्यालय खुल्ने क्रम पनि बढ्दै गयो ।

त्रिभुवन विश्वविद्यालयको स्थापना पश्चात नेपालमा महेन्द्र संस्कृत विश्वविद्यालयको स्थापना गरियो र त्यसको लगत्तै काठमाडौं विश्वविद्यालयको स्थापना भयो । हालसम्म देशभर १४ विश्वविद्यालय स्थापना भइसकेका छन् ।

हाल सञ्चालनमा रहेका विश्वविद्यालय
–त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, स्थापना विक्रम संवत २०१६
–नेपाल संस्कृत विश्वविद्यालय त्रिभुवननगर, स्थापना विक्रम संवत २०४३
–काठमाडौं विश्वविद्यालय धुलिखेल, स्थापना विक्रम संवत २०४८
–पूर्वाञ्चल विश्वविद्यालय विराटनगर, स्थापना विक्रम संवत २०५२
–पोखरा विश्वविद्यालय लेखनाथचोक, स्थापना विक्रम संवत २०५४
–लुम्बिनी बौद्ध विश्वविद्यालय लुम्बिनी, स्थापना विक्रम संवत २०६१
–सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगर, स्थापना विक्रम संवत २०६७
–मध्यपश्चिमाञ्चल विश्वविद्यालय वीरेन्द्रनगर, स्थापना विक्रम संवत २०६८
–नेपाल कृषि तथा वन विश्वविद्यालय भरतपुर, स्थापना विक्रम संवत २०६८
–नेपाल खुला विश्वविद्यालय ललितपुर, स्थापना विक्रम संवत २०७३
–राजर्षि जनक विश्वविद्यालय जनकपुर, स्थापना विक्रम संवत २०७४
–गण्डकी विश्वविद्यालय तनहुँ, स्थापना विक्रम संवत २०७६
-मनमोहन प्राविधिक विश्वविद्यालय मोरङ, स्थापना विक्रम संवत २०७६
–मधेश कृषि विश्वविद्यालय सप्तरी, स्थापना विक्रम संवत २०७८

नेपालको सन्दर्भ सञ्चालनमा रहेका विश्वविद्यालय नै बढी भएको शिक्षाविद्हरुको भनाइ छ । चलिरहेका विश्वविद्यालयले विद्यार्थी अभाव खेप्नेदेखि राजनीतिक चपेटामा परिरहेको सन्दर्भमा नयाँ विश्वविद्यालयको आवश्यकता कति छ त ?

कुनै पनि सभ्यता संरक्षण तथा त्यसको अन्तराष्ट्रियकरणका विश्वविद्यालय नै सबैथोक होइन । भइरहेका विश्वविद्यालयलाई नै व्यवस्थित गरेर ती विश्वविद्यालयलाई नै अनुसन्धान केन्द्रका रुपमा विकास गर्न सकिन्छ । अर्को तिर देशको आवश्यकता र नीतिगत कुरा के छ भन्ने पनि महत्वपूर्ण विषय हो ।

काठमाडौं महानगरपालिकाका मेयर शाहले देखेको नेवा विश्वविद्यालयको सपनाले कति सार्थकता पाउँछ यो त समयले बताउला । तर देशभर विश्वविद्यालय थपिँदै जाने तर विद्यार्थीहरु चाँहि युरोप र अस्ट्रेलियाका लागि ‘नो अब्जेक्सन लेटर’ को लाइनमा बढ्दै जाने हो भने यसतर्फ भने ध्यान दिन जरुरी छ । नत्र सस्तो लोकप्रियताका लागि चलाइएको हल्ला मात्र हो भने यसमा बहस गर्नुले कुनै सार्थकता दिने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *