Main News

१९औं सार्क शिखर सम्मेलन ७ वर्षदेखि किन अन्योलमा ? (भिडियो रिपोर्टसहित)

२०७९ पुष ४ गते १७:०१
१९औं सार्क शिखर सम्मेलन ७ वर्षदेखि किन अन्योलमा ? (भिडियो रिपोर्टसहित)

४ पुस २०७९ काठमाडौं । १९औं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० शिखर सम्मेल ७ वर्षदेखि अन्यौलमा छ । २०७३ मै हुनुपर्ने सम्मेलन भारत र पाकिस्तानबीचको टकराबले नयाँ मिति तय हुन सकेको छैन ।

सम्मेलन अनिश्चित बन्दा सार्क सचिवालयका कर्मचारी पनि कामबिहीन मात्र भएका छैनन् तीन महिनापछि सार्क सचिवालय नै नेतृत्वविहीन हुँदै छ ।

२०७२ मा काठमाडौंमा सम्पन्न सार्कको १८औं शिखर सम्मेलनले १९ औं शिखर सम्मेलन पाकिस्तानमा गर्ने तय गर्यो । २०७२ मै पोखरामा सम्पन्न सार्कको परराष्ट्रमन्त्रीस्तरीय बैठकले शिखर सम्मेलन २०७३ कातिक २४ र २५ गते पाकिस्तानको इस्लामाबादमा गर्ने निर्णय गरेको थियो ।

तर उक्त निर्णय भएको सात वर्ष वित्न लागिसक्दा पनि सार्क सम्मेलन आयोजना गर्नेबारे सुरुसार छैन । भारत र पाकिस्तानबीचको तनावको कोपभाजनमा सार्क परेको जानकार बताउँछन् । जसले गर्दा सार्कको अस्तित्व नै संकटमा पर्ने देखिन्छ ।

पाकिस्तानले १९औँ सार्क शिखर सम्मेलन आयोजना गर्ने चाहना व्यक्त गरिरहँदा भारतले भने यथास्थितिमा सार्क सम्मेलन हुन नसक्ने दोहोर्‍याउँदै आएको छ।

दुईदेशबीचको तनाब र अर्को सदस्य राष्ट्र अफगानिस्तानमा उदाएको तालिवान सत्तालाई सार्क राष्ट्रले मान्यता नदिएका कारण सम्मेलन तत्कालकै हुने सम्भावना देखिदैन । यो बीचमा सार्कको अध्यक्ष राष्ट्रको हैसियतले नेपालले सम्मेलन आयोजना गर्न समन्वयकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

१९औँ शिखर सम्मेलन अनिश्चित रहेकै बेला अबको तीन महिनापछि सार्क सचिवालय पनि नेतृत्वविहीन हुँदैछ । सार्क महासचिव इसाला रुवान विराकुनको समयावधि मार्च १ अर्थात् फागुन १७ देखि सकिँदैछ । तर वर्णानुक्रमअनुसार सार्कको महासचिव पाउनुपर्ने अफगानिस्तानको तालिवान सरकारलाई अन्य सदस्यराष्ट्रले मान्यता दिएकै छैनन् ।

सार्क निश्प्रभावित बन्दा काठमाडौंको ठमेल स्थित सार्क सचिवालयका महासचिवसहित आठ राष्ट्रका आठ निर्देशक र अन्य कर्मचारीहरु कामविहीन भएका छन् । त्यहाँ कार्यरत करिब ५० भन्दा बढी कर्मचारीको काम सातामा ५ दिन कार्यालय आउने हाजिर गर्ने र घर फर्कनेमा सीमित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *