Main News

आयोगले आज राष्ट्रपति भण्डारीसमक्ष निर्वाचन प्रतिवेदन पेश गर्ने

हिमालय टिभी
२०७९ मंसिर २९ गते ९:२६
आयोगले आज राष्ट्रपति भण्डारीसमक्ष निर्वाचन प्रतिवेदन पेश गर्ने

२९ मंसिर २०७९ काठमाडौं । निर्वाचन आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन प्रतिवेदन पेश गर्ने भएको छ ।

प्रदेश, प्रतिनिधि सभा निर्वाचन २०७९ को अन्तिम परिणाम हिजो औपचारिक रुपमा घोषणा गरेको आयोगले प्रतिनिधि सभाको परिणाम आज राष्ट्रपति भण्डारीसमक्ष पेश गर्ने भएको हो । प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन भने पर्सि शनिबार सातै प्रदेशको प्रदेश प्रमुख समक्ष पेश गर्ने तयारी गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतिनिधि सभातर्फ २ सय ७५ र प्रदेश सभातर्फ ५ सय ५० जना गरी जम्मा ८ सय २५ सांसद निर्वाचित भएका छन् । प्रतिनिधि सभातर्फ १ सय ८४ जना पुरुष र ९१ जना महिला निर्वाचित भएका छन् ।

प्रदेश सभातर्फ भने ६३ दशमलव ६४ प्रतिशत पुरुष निर्वाचित भएको आयोगका प्रमुख आयुक्त थपलियाले जानकारी दिनुभयो । निर्वाचनमा १ करोड १० लाख ४७ हजार ३४ मतदाताले मतदान गरेका थिए । जसमा ५ दशमलव शून्य ६ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ६१ दशमलव ८५ प्रतिशत मतदान भएकोमा ५ दशमलव ०९ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिएका ७६ दशमलव ०४ प्रतिशत उम्मेदवारको धरौटी रकम जफत भएको छ ।

निर्वाचनमा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था भए अनुसार उनीहरूको जमानत जफत भएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *