Main News

देशको नेतृत्व गर्ने अवसर पाए आउँदा पिँढीले सम्झने काम गर्छु : अध्यक्ष प्रचण्ड

२०७९ मंसिर २८ गते २०:४२
देशको नेतृत्व गर्ने अवसर पाए आउँदा पिँढीले सम्झने काम गर्छु : अध्यक्ष प्रचण्ड

२८ मंसिर २०७९ कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफू छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–१ स्थित महेन्द्र आधारभूत विद्यालयको हीरक जयन्तीको आज समापन समारोहमा उहाँले आफू देशको नेतृत्व गर्ने ठाउँमा पुग्न लागेको उल्लेख गर्दैै नेतृत्व गर्ने अवसर पाउँदा अविस्मरणीय र आउँदा पिँढीले देख्ने, बुझ्ने र सिक्नेगरी विकासका परियोजना अघि बढाउने बताउनुभयो ।

अध्यक्ष प्रचण्डको जन्मस्थल र प्रारम्भिक शिक्षा हासिल गरेको सो विद्यालयको कार्यक्रममा उहाँले भन्नुभयो, “अब मसँग धेरै वर्ष समय छैन । यहाँहरूको आशीर्वाद, माया र शुभकामनाले काम गर्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु ।”

अध्यक्ष प्रचण्डले आफूलाई देशको नेतृत्व गर्ने अवसर प्राप्त हुँदा पहिलो प्रथामिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नेतर्फ केन्द्रित हुने स्पष्ट पार्नुभयो । उहाँले प्रधानमन्त्रीका रुपमा आफ्नो पहिलो कार्यकाल राम्रोसँग विधि प्रक्रिया र सबै उतारचढाव बुझ्न नपाईं व्यतित भएको र दोस्रो कार्यकालमा देशका लागि राम्रो काम गर्न सकेकामा गर्व लागेको बताउनुभयो ।

राष्ट्रको एकतालाई सुदृढ गर्ने, मधेश, पहाड र हिमाललाई एकताबद्ध गरी सिङ्गो देशलाई लोकतान्त्रिक प्रक्रियामा प्रवेश गराउनका लागि दोस्रो कार्यकालमा आफू सफल भएको अध्यक्ष प्रचण्डले स्मरण गर्नुभयो ।

उहाँले आफ्नो बाँकी जीवन सुशासन र विकासका लागि बिताउने बताउँदै यसपटकको निर्वाचनमा जनताले प्रमुख राजनीतिक दलका नेताहरुलाई केही चुनौती र अवसर दिएको उल्लेख गर्नुभयो । सबै दलले समीक्षा गरी आर्थिक विकास र समृद्धि गर्ने अभियानमा लाग्नुको विकल्प नभएको अध्यक्ष प्रचण्डको भनाइ थियो ।

उहाँले भन्नुभयो, “हामीले गम्भीर समीक्षासहित आउँदो दिनमा सुशासनको दृष्टिकोणले पनि विकास र समृद्धिको दृष्टिकोणले पनि नयाँ अभियान सुरु गर्न सकेनौँ भने आउने दिनमा देशमा निकै अप्ठ्यारो हुन सक्छ ।”

निर्वाचनमा केही नयाँ दल जन्मेको हुनाले यसलाई सकारात्मकरुपमा नै लिनुपर्ने उहाँको भनाइ छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु केसीले अन्नपूर्णसहित नेपालको विकास र समृद्धिको दाहाल पुनःप्रधानमन्त्री बन्नुपर्ने बताउनुभयो । दाहाल जन्मेको क्षेत्रमा हाल धुलाम्मे सडक भएकाले यहाँको विकासका लागि दाहालको सहयोग आवश्यक भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *