आलमलाई माफी दिन अध्यादेश ल्याएको एमालेको आरोप (भिडियो रिपोर्टसहित)

२६ मंसिर २०७९ काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सरकारले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई आम माफी दिने नियतले अध्यादेश ल्याउन लागेको आशंका गर्नु भएको छ ।
सरकारले राजनीतिक बन्दीहरुलाई रिहा गर्ने गरी मुलुकी अपराध संहिता संशोधन गर्न अध्यादेश ल्याउन लागेको विषयमा रिमालले शंकाको सुई इट्टाभट्टामा जिउँदै मान्छे पोलेको आरोप लागेका आलमतिर सोझ्याउनु भएको हो ।
उहाँले ‘संविधानको रक्षा गर्छौं’ भन्ने चुनावी नारा घन्काएको गठबन्धन सरकारले संविधानको भावनामाथि नै असर पर्नेगरी यस्तो अध्यादेश ल्याउन खोज्नु गलत भएको उल्लेख गर्दै एमालेले त्यसको सशक्त बिरोध गर्ने समेत स्पष्ट पार्नुभयो ।
राजनीतिलाई अपराधीकरण गर्न र अपराधलाई राजनीतिकरण गर्न सकिन्छ भन्ने दृष्टान्तसहित काम चलाउ सरकारले विधेयकमार्फत शासन गर्छु भन्नु नै गलत भएको उहाँको टिप्पणी छ। रिमालले काम चलाउ सरकारलाई कुनै पनि खालको अध्यादेश ल्याउने अधिकार नै नभएको तर्कसमेत गर्नुभयो ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले कैलालीको टिकापुर घटनाका आरोपी रेशम चौधरीसहितका नेता कार्यकर्तालाई रिहा गर्ने गरी अध्यादेश ल्याउन लागेको ठानिएको छ । एमाले उपमहासचिव रिमाललले चौधरीसहित आलमलाई पनि रिहा गर्ने नियत रहेको आशंका गर्नु भएको हो ।
प्रतिक्रिया