Main News

कञ्चनपुरको भीमदत्त नगरपालिकामा देखियो केही फरक किसिमको विरोध शैली (भिडियो रिपोर्टसहित)

२०७९ मंसिर २६ गते १६:४४
कञ्चनपुरको भीमदत्त नगरपालिकामा देखियो केही फरक किसिमको विरोध शैली (भिडियो रिपोर्टसहित)

२६ मंसिर २०७९ कञ्चनपुर । माग पूरा गर्न मानिस अनशन बस्छ । हड्ताल गर्छ । अर्थात् विरोध गर्ने अनेक शैली अपनाउँछ । केही समयअघि ठेकेदारको विरोध गर्न नागरिकले ठेकेदारको तस्वीरमा कालोमोसो दले ।

केहीले सार्वजनिक सवारीसाधनमा ठेकेदारको तस्वीर टाँसे । यस्तै फरक किसिमको विरोध कञ्चनपुरको भीमदत्त नगरपालिकामा देखियो । बजेट कटौती गरेको विरोधमा नगरपालिकाका वडाध्यक्षले सडकमै कार्यालयको काम गरेर विरोध जनाएका छन् ।

दायाँ बायाँ कुर्सी । केही मानिसको हुल । यो दृश्य देख्दा झट्ट एक समूह चिया खाने पसलमा जम्मा भएको जस्तो देखिन्छ । तर, दृश्यले देखाए जस्तो भने पक्कै होइन । यो त कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष रवीन्द्र देवकोटाको धर्ना हो । मंगलबारदेखि उहाँ यसरी नै सडकमा धर्ना दिइरहनुभएको छ ।

धर्ना बसेपनि उहाँले वडा कार्यालयको काम भने यहीँबाट गरिरहनुभएको छ । नगरपालिकाले सडक कालोपत्रेको बजेट कटौती गरिदिएपछि बजेट व्यवस्थापनको माग गर्दै खासमा देवकोटा धर्नामा बस्नु भएको हो ।

नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा निर्माण सुरु गरिएका सडकको बजेट कटौती गरिदियो । केही दिन अघि बजेट कटौती गरिएका सडकका नाम सहित नगरपालिकामा पत्र पठाइएको थियो । निर्माणको अन्तिम चरणमा रहेका सडक योजनामा नगरपालिकाले बजेट कटौति गरेको वडाध्यक्षको भनाई छ ।

नगरपालिकाले पत्थरपुर, भगतपुर सहित ७ सडकको कालोपत्रे बजेट कटौती गरेको छ । यही सडकमा विहान १० देखि साँझ ५ बजेसम्म देवकोटा मंगलबारदेखि धर्नामा बसिरहेका छन् । आयोजनास्थलमा हरेक दिन फरकफरक स्थानमा उहाँको धर्ना चलिरहेको छ । सेवाग्राहीलाई आफ्नो कारणले असर पुगेको भन्दै क्षमा समेत मागिरहनुभएको छ । वडाध्यक्षको धर्नामा स्थानीयले समेत समर्थन जनाएका छन् ।

तर, नगरपालिकाले भने वडाध्यक्ष समेत सहभागी हुने नगरसभाबाट बजेट पारित भएको दावी गरेको छ । वडाध्यक्षले बजेट विनियोजन हुँदा नगरसभामा यसबारेमा कुनै प्रश्न नउठाएको तर्क गरेको छ । तर, उहाँको माग सम्बोधन गर्ने विषयमा छलफल गर्ने प्रतिबद्धता जनाएको छ ।

बजेट कटौतीको विषयलाई धेरैले राजनीतिसँग जोडेर हेरेका छन् । वडाध्यक्ष देवकोटा एमालेबाट निर्वाचित भएको र कांग्रेसबाट निर्वाचित नगरप्रमुखले राजनीतिक प्रतिशोध साँधेको चर्चा नगरपालिकामा चुलिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *