बालेन : भरोसा टुटाउँदै, गरिखानेलाई धपाउँदै (भिडियो रिपोर्टसहित)
२५ मंसिर २०७९ काठमाडौं । राजनीतिक दल र यीनका नेताबाट जनता कति आजित भए भन्ने प्रमाण देशमा सम्पन्न तीनै तहका निर्वाचनको नतिजाले देखाएको छ ।
यस्तै गत स्थानीय तहको निर्वाचनबाट चरम आशा भरोसकासाथ उदाएका विकल्प हुन् काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह । सुरुवाती दिनमा शहर व्यबस्थापन र राजधानीको मौलिक पहिचान फर्काउन लागेका मानिएका साह र उनी मातहतको प्रहरी पछिल्ला दिनमा गरिबमाथि निर्दयी भएको आरोपले आलोचित छ ।
यो भिडियो सामाजिक सन्जाल प्रयोगकर्ता तपाई हामीका लागि नयाँ केही महिनादेखि नौलो होइन । विगत केही दिनदेखि सामाजिक सन्जालको भिन्न भिन्न प्लाटफर्ममा छ्याछ्याप्ती यो भिडियोले फेरि एकपटक धेरैको मनमस्तिष्क नराम्ररी हल्लाएको छ ।
भिडियोका बिषयमा फरक फरक कोणबाट विश्लेषण पनि भइरहेको छ । यहि भिडियो सेयर गर्दै कोहि लेख्छन्, मानवता नभएको सहर, निर्वाचित गुण्डा रहेको सहर अनि कोहि भन्छन् गरिबको चमेली बोल्दिने कोहि छैन । केही पत्रिकाले त गरिब देख्न नसक्ने भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख तर्फ इंगित गर्दै कार्टुन नै बनाएका छन् ।
भिडियोमा देख्न सकिन्छ, ठेलामा तरकारी बेच्न हिडेका दुई महिला जब आफ्नो पछि महानगर प्रहरी देख्छन् तब भाग्न सुरु गर्छन् । उनीहरुको भागदौडमा प्रष्ट देखिन्छ, दिनभर व्यापार गरेर छाक टार्न ल्याएका वस्तु लुकेर जर्वजस्ती सामान लुट्ने बर्दीधारीले लुटेर नलैजाउन्।
पछिल्लो दिनमा महानगर प्रहरीको धन्धा नै बनेको छ, शहर सफा बनाउने चक्करमा गरिबका मकै पोल्ने ठेला उठाउनेदेखि पसलकबलमा राखेका सामान समेत लुट्दै नगरपालिकाको गाडीमा हाल्ने । साथमा युट्युवर केही थान लिएर आफ्नो पुरुषार्थ देखाउन खटिएका उनीहरुसँग सामान्य सोधपुछ पनि गर्न पाइन्न ,लाग्छ उनीहरु कानुन र संबिधानभन्दा माथि हुन् ।
मेयर सापको आदेश भनेर कालो चस्मामा बम्किने महानगर पुलिसका हाकिमलाई शहरमा गरिबलाई पनि बस्ने रहर लाग्छ भन्ने के थाह रु साहहरु त यसै पनि इतिहासदेखि नै एक मानो दुधभात जाबो खान नपाउनेलाई नागरिकको दर्जा नदिने नै भए । फुटपाथ खाली गरिनुपर्छ, शहर सफा गरिनुपर्छ, नियम पालना सबैले गर्नुपर्दछ तर महानगरपालिकाको प्रहरीको शैलीले कानुन पालना होइन दक्षिण भारतीय फिल्म चाहि बन्छ होला ।
गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुखको रुपमा बालेन्द्र साह बालेन निर्वाचित भएसँगै फिल्मी शैलीका काम र कारबाहीसँग हामी साक्षात्कार हुदैँ आएका छौं । कहिले उनी डोजर लिएर टहरा भत्काउन पुग्छन् त कहिले घरधनीसँग वादविवाद गरिरहेको भेटिन्छन् ।
प्रमुख साहको सपथपछि आजसम्म आइपुग्दा उनका कति सर्मथक आलोचक बने भने केही थोरै जमात आलोचकबाट समर्थक पनि भए ।
राजनीतिक दल र तिनका नेताप्रतिको असन्तुष्टि र चरम वितृष्णाले वालेन साहहरु उदाए भने उनीहरुप्रतिको अतिआशा नै गलत भएको विश्लेषकहरुको भनाइ छ।
प्रमुख साहको प्रमुख दायित्व हो शहर व्यवस्थापन गर्नु । निर्वाचन अघि सहरी विकास, बाटो पुल बनाउने ढाँचा सिकाएर लोकप्रिय र आश गरिएका युवा साह अहिले कतै सन्की राजा त बनिरहेका छैनन् ? प्रश्न यहि हो । सायद उनको नियत खराब नहोला तर कतै उनको नाममा नगरप्रहरीले मानवीयताको खिल्ली त उडाइरहेको छैन ?
सहरी विकासको अवधारणामा पनि फटपाथमा व्यापार हुनुहुदैँन, ठेला, नाङ्लो व्यापार वा बाटो किनारमा बसेर प्रर्दशन, मनोरन्जन गर्न पाइँदैन भनेर छैन । सडक यातायातको सुविधा, वित्तीय, शिक्षा, स्वास्थ्यको सुविधासँगै साना ठूला सम्पूर्ण व्यापारको व्यवस्थापन एक सहरीकरणको अवधारणाले खोज्दछ ।
तर मेयर साहका आदेश पालकले शहरको अवधारणाको मात्र खिल्ली उडाएका छैनन् बरु शहरमा सपना देखेर आउने गरिबहरुलाई अनागरिक बनाउने खतरा उत्पन्न भएको छ। विश्वका धनी र समृद्ध देशमा पनि निश्चित समयका लागि फुटपाथमा ब्यापार गर्न पाइन्छ, ठेला ओसार्न पाइन्छ अनि गरिब पनि नागरिक हुन पाउँछन् । सायद मेयर साहले देखेको सुन्दर काठमाण्डौ बनाउन पनि ति गरिबको मुहारमा त्रास र आँसु होइन मुस्कान र जीवन बाँच्ने विकल्प पो सोच्ने कि ?
प्रतिक्रिया