आफू प्रधानमन्त्री बन्न प्रचण्डको दौडधुप (भिडियो रिपोर्टसहित)
२४ मंसिर २०७९ काठमाडौं । चुनावी अंक गणितमा पार्टीको आकार घट्दो छ । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा भने ‘परिवर्तनको नेतृत्व गर्ने’ चाहना बढ्दो छ ।
उहाँकै भनाइमा परिवर्तनको नेतृत्व गर्ने भनेको प्रधानमन्त्री बन्ने हो । पार्टीको सानो साइजले प्रधानमन्त्री बन्ने उद्देश्यमा धक्का दिनेजस्तो लागेर होला, सानो मोर्चा बनाएर भएपनि उहाँ प्रधानमन्त्रीका लागि सौदाबाजी बढाउने प्रयासमा हुनुहुन्छ ।
चुनावमा गठबन्धन नगरेको भए नयाँ सरकार बनाउन कांग्रेसलाई माओवादी केन्द्रको जरुरी नपर्न सक्थ्यो । तर, सँगै लैजाऊँ न त भन्ने कांग्रेसलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको जसरी पनि प्रधानमन्त्री बन्ने कसरत टाउको दुखाई बन्दै छ ।
कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले दुई, दुई र एक वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएपनि सुरुआतको नेतृत्व कसले गर्ने भन्ने टुंगिएको छैन । कांग्रेस र माओवादी केन्द्रको हानाथाप भइरहँदा कमजोर संख्याकै कारण कांग्रेसले हेप्ने हो कि भन्ने लागेर होला प्रचण्ड आफ्नो नेतृत्वमा साना दलको मोर्चा बनाउने प्रयासमा हुनुहुन्छ ।
ताकि, मोर्चा आवद्ध दललाई अगाडि सारेर कांग्रेसँग सत्ताको बार्गेनिङ गर्ने शक्ति बढोस् । दाहालले अहिलेसम्म गठबन्धनको कुन दलले सरकार नेतृत्व गर्छ भन्ने प्रष्टसँग मुख खोल्नुभएको छैन । किनकि, उहाँ आफ्नो शक्ति बढाउने अभियानमै हुनुहुन्छ ।
८९ सीटसहित पहिलो बनेको र गठबन्धनको पनि नेतृत्व गरिरहेको कांग्रेसविरुद्ध प्रचण्ड एकीकृत समाजवादी, जसपा, जनमत, नागरिक उन्मुक्ति र केही स्वतन्त्र सांसद मिलाएर मोर्चा बनाउने प्रयासमा हुनुहुन्छ । प्रयास सफल भयो भने उहाँको मोर्चामा माओवादी केन्द्रका ३२, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका ६, नागरिक उन्मुक्ति र लोसपाका ४–४ र स्वतन्त्र सांसद प्रभू साह र किरण साह गरी ७० जना सांसद हुन्छन् ।
यो संख्या कांग्रेसको भन्दा १९ मात्रै कम हो । आफ्ना ३२ सहित ७० सांसदको समर्थन जुटाउन सके भए आफैं नभए प्रचण्डले अन्ततः कांग्रेसलाई नै सरकार बनाउन नदिने हो कि भन्ने शंकासमेत गर्न थालिएको छ । तर, नेपाली कांग्रेसका नेता भने जनादेश बाहिर गएर माओवादी केन्द्रले सरकार नेतृत्वको चाहना नै नराख्ने दाबी गर्छन् ।
गठबन्धनभित्रै अर्को मोर्चा बनाएर प्रधानमन्त्रीको बार्गेनिङ गर्ने प्रचण्डको दाउमा साना दलले साथ दिने संभावना देखिन्छ । किनकि, प्रचण्डले मोर्चाको नेतृत्व गर्दा उनीहरुको पनि महत्व बढ्छ । तर, अहिलेकै अवस्थामा कांग्रेस प्रचण्डलाई नेतृत्व दिन तयार देखिँदैन । अन्तिमसम्म पनि कांग्रेस तयार नभए प्रचण्ड नेतृत्वको मोर्चा एमालेतिर लहसिने संभावना हुन्छ । किनकि, प्रचण्ड जसरी पनि प्रधानमन्त्री बन्ने दाउमै हुनुहुन्छ ।
प्रतिक्रिया