Main News

मेलम्ची खानेपानी आयोजना, उद्घाटनकै मोह (भिडियो रिपोर्टसहित)

२०७९ मंसिर २४ गते २०:४५
मेलम्ची खानेपानी आयोजना, उद्घाटनकै मोह (भिडियो रिपोर्टसहित)

२४ मंसिर २०७९ काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको पानी झार्ने योजनाभन्दा पनि उद्घाटन र जस लिने होडमा नेतादेखि मन्त्रीसम्म लागिपरेका छन् ।

अध्ययनको ३४ वर्ष र निर्माण सुरु भएको २२ वर्ष वितिसक्दा अध्ययन भएको ३४ वर्ष र निर्माण सुरु भएको २२ वर्षपछि पनि पाँच पटक उद्घाटन भइसकेको छ । अझै पानी नियमित आउने सम्भावना न्यून रहेको सरोकारवालाहरु नै बताउँछन् ।

काठमाडौं उपत्यकामा खानेपानीको संकट हुन नदिन मेलम्ची खानेपानी आयोजना बनाउने काम भयो । २०३३ सालमा पहिलो पटक बहसमा आएको मेलम्चीको अध्ययन २०४५ सालमै सुरु गरियो । २०५७ सालमा आएर बल्ल निर्माण सुरु भयो । तर, आयोजनामा राजनीति गिजोलिएन मात्र जस लिने होडमा ५ पटकसम्म त उद्घाटन मात्र गरियो । अझै पनि पानी नियमित आउने छाँटकाँट छैन ।

मेलम्ची खानेपानी आयोजनाको उद्घाटन कहिले–कहिले भयो ?

२०७७ असार २१ गतेः
तत्कालीन खानेपानीमन्त्री बिना मगरबाट उद्घाटन

२०७७ फागुन १० गतेः
तत्कालीन खानेपानीमन्त्री मणिचन्द्र थापा र शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरबाट उद्घाटन

२०७७ चैत २३ गतेः
भृकुटीमण्डपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पानी वितरणको उद्घाटन

२०७८ चैत १९ गतेः
खानेपानीमन्त्री उमाकान्त चौधरीबाट उद्घाटन

२०७९ मंसिर २३ गतेः
खानेपानीमन्त्री उमाकान्त चौधरीबाट पुनः पानी वितरणको शुभारम्भ

यसबाहेक २०७७ फागुन २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको खानेपानी काठमाडौं आइपुगेको घोषणा गर्नुभयो । २०७७ सालकै चैत १५ गते काठमाडौं खानेपानी लिमिटेडले मेलम्चीको पानी उपत्यकामा वितरण गरेको घोषणा गर्यो ।

झण्डै ६५ अर्ब रुपैयाँ खर्च भएको मेलम्ची आयोजनाबाट पछिल्लो पटक शुक्रबार पानी वितरण गरिएको छ । २०७७ चैतमा पहिलो पानी वितरण गरिएको थियो । तर, २०७८ जेठ मसान्तमा मेलम्ची नदीमा आएको बाढी–पहिरोले आयोजनाको मुख्य सुरुङ बाहेकमा क्षति पुर्याएको थियो । २०७८ चैतमा मर्मत सम्भार गरेर पुनः पानी वितरण गरियो । त्यसपछि वर्षा सुरुभएसँगै पुनः पानी वितरण रोकियो । अहिले फेरि हिउँदमा पानी वितरण सुरु गरिएको छ । तर, यो स्थायी होइन, अब फेरि वर्खा लागेपछि मुहान बन्द गर्नुपर्ने अवस्था आउने जानकार बताउँछन् । खानेपानी मन्त्री उमाकान्त चौधरी भने १२ महिना नै पानी वितरण गर्ने दाबी गर्नुहुन्छ ।

काठमाडौंका मतदाता आकर्षित गर्न होस् वा आफूले काम गरेको देखाउन मेलम्ची आयोजनामा राजनीतिकरण गरिंदै आएको छ । २०४८ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानीले काठमाडौंको सडक पखालिने घोषणा गर्नुभएको थियो ।

त्यसपछिका प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले मेलम्चीको पानी वितरण गर्ने आश्वासन बाँड्दै आए । पछिल्लो पटक त कसले उद्घाटन गर्नेसम्मको होडबाजी देखियो । तर, अहिले प्रश्न उठ्न थालेको छ, के मेलम्चीको पानीले काठमाडौंलाई पुग्छ ?

काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर पानी आवस्यक पर्छ । आपूर्ति १२ करोड लिटर आसपास मात्र रहँदा शुक्रबारबाट थप १७ करोड लिटर आपूर्ति हुन्छ । अर्थात २९ करोड लिटर पानी काठमाडौं आइपुग्छ । तर, माग अनुसार आपूर्ति पुग्दैन ।

उपत्याका भित्र कहाँ कति लिटरका रिजर्भ ट्यांकी छन् ?
मिनभवनः ३० लाख लिटर
अनामनगरः २७ लाख लिटर
पानीपोखरीः ४५ लाख लिटर
कीर्तिपुरः ६० लाख लिटर
महाँकालः ८५ लाख लिटर
बालाजुः ३६ लाख लिटर
मध्यपुर थिमिः ३० लाख लिटर
कटुन्जेः ६० लाख लिटर
बाँसबारीः २० लाख लिटर
खुमलटारः १ करोड ३० लाख लिटर

बढ्दो सहरीकरणसँगै काठमाडौं उपत्यकामा खानेपानीको माग उच्च बनेको छ । तर, मेलम्चीसँगै याङ्ग्री, लार्के, महादे, सिस्नेरी, ठोसेबाट पनि पानी ल्याउनुपर्छ । त्यसतर्फ ध्यानदिनुभन्दा पनि जस लिने दौडधुपले मेलम्ची खानेपानी योजना स्वार्थ पूरा गर्ने बाटो बन्दै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *