राजनीति

माओवादी केन्द्रमा युवा मत, प्रतिपक्षमै बस्नु उचित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ मंसिर २४ गते २०:२३
माओवादी केन्द्रमा युवा मत, प्रतिपक्षमै बस्नु उचित (भिडियो रिपोर्टसहित)

२४ मंसिर २०७९ काठमाडौं । संविधानसभाको पहिलो निर्वाचन २०६४ सालमा पहिलो शक्ति बनेको नेकपा माओवादी केन्द्र पछिल्ला वर्ष कमजोर हुँदै गएको छ ।

२०७९ सालको आमनिर्वाचनमा जसोतसो तेस्रो शक्ति भएको माओवादी केन्द्रका शीर्ष नेताहरू सरकारमा जाने मात्रै हैन सरकारकै नेतृत्व गर्ने कसरतमा छन । तर, माओवादी केन्द्रका युवा नेताको समूह भने पार्टी प्रतिपक्षमै बस्नु पर्ने पक्षमा छ ।

मंसिर ४ गते सम्पन्न आम निर्वाचनले नेकपा माओवादी केन्द्रलाई कम सीट दिएर तेस्रो बनाइदिएको छ । पहिलो र दोस्रो पार्टीलाई भन्दा निकै कम मत पाएको माओवादी नेतृत्व गठबन्धन बनाएर निर्वाचनमा जाँदाको सहमति भन्दै सरकारको नेतृत्व दाबी गर्दै आएकोछ ।

माओवादीलाई सरकारको नेतृत्व गर्नेगरी मतादेश प्राप्त भएको छैन । तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जसरी पनि प्रधानमन्त्री हुने अडानमा हुनुहुन्छ । नेतृत्वको सत्ता लालसा माओवादीकै युवा नेतालाई मन परेको छैन । उनीहरु सरकारका लागि मरिहत्ते गर्न छाडेर पार्टी बनाउन लाग्न नेतृत्वलाई खबरदारी गरिरहेका छन् ।

२०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा माओवादीले प्रत्यक्षमा सबैभन्दा बढी १२० स्थानमा जित निकाल्यो । समानुपातिकमा पनि सबैभन्दा बढी ३१ लाख ४४ हजार २०४ मत ल्याएर पहिलो दल बन्यो । २०७० को संविधानसभा निर्वाचनमा ८४ सिटमा खुम्चियो ।

२०७४ सालमा भएको आम निर्वाचनमा एमालेसँगको गठबन्धन गरेको माओवादीले ३६ सिट जित्यो । २०७९ मा आउँदा माओवादीले १८ सीटमात्रै जित्यो । समानुपातिक तर्फ पनि माओवादी निरन्तर ओरालो लागिरहेको छ । पहिलो संंविधान सभामा २१.१४ प्रतिशत मत पाएको माओवादीले दोस्रो संंविधान सभामा १५.२१ मत पायो ।

२०७४ मा आउँदा त माओवादीको लोकप्रिय मत १३.६६ प्रतिशतमा झर्‍यो । २०७९ मा आउँदा त माओवादीले ११.१८ प्रतिशत मत मात्रै पायो । यसरी पार्टी निरन्तर ओरालो लाग्नुको कारण नेतृत्वको सत्ता मोह र संगठन विस्तारमा बेवास्ता नै प्रमुख कारण भएको माओवादीका युवा पुस्ताको बुझाइ छ ।

पटक पटकको सत्ता यात्रा र निराशाजनक मतादेशबाट माथि उठ्न नेतृत्व गम्भीर हुनु पर्ने युवा नेताको सुझाव छ । युवा नेताले अब इतिहासको ब्याजबाट पार्टी चल्न नसक्ने चेतावनी नै दिएका छन ।

५ वर्षमा आलोपालो गरेर भए पनि सरकारको नेतृत्व गर्ने दाउमा रहेका प्रचण्डलाई संसदीय गणित मिलाउन मात्रै हैन् पार्टीकै पनि साथ नहुने खतरा छ । यसर्थ प्रचण्डले सत्ताको तिकडममा भन्दा युवा नेताले भने झैं पार्टी बनाउन लाग्नु उपयुक्त हुन्छ ।
सपना न्यौपाने

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्