Main News

समानुपातिकतर्फको नामावली पठाउने आज अन्तिम दिन, छलफलमा दल

हिमालय टिभी
२०७९ मंसिर २४ गते ९:११
समानुपातिकतर्फको नामावली पठाउने आज अन्तिम दिन, छलफलमा दल

२४ मंसिर २०७९ काठमाडौं । निर्वाचन आयोगले समानुपातिक संसदको अन्तिम सूची पेस गर्न दिएको समयसीमा आज सकिँदैछ ।

आयोगले, समानुपातिक तर्फबाट सांसद बन्ने उम्मेदवारको नामावली आजसम्म पठाउन बिहिवार राजनीतिक दलहरूलाई पत्र पठाएको थियो । आयोगले दिएको समय आज दिउँसो ४ बजे सकिनेछ । समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवार मध्येबाट समानुपातिक समावेशी सिद्धान्त बमोजिम प्राथमिकता क्रमको आधारमा उम्मेदवारको नाम सिफारिस गरी पठाउन दलहरूलाई आयोगले पत्र पठाएको हो ।

आयोगले दिएको समय आज सकिने भएपनि दलहरूलाई भने उम्मेदवार छनौटमा समस्या देखिएको छ । मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभातर्फको समानुपातिक सिट बाँडफाँट अनुसार सबैभन्दा धेरै एमालेले १ सय ४ सिट पाएको छ । जसमध्ये ३४ प्रतिनिधि सभातर्फ हो भने बाँकी प्रदेश सभाको हो ।

यसैगरी, ९६ सांसदसहित दोस्रो स्थानमा रहेको काँग्रेसले प्रतिनिधि सभामा ३२ र बाँकी प्रदेश सभामा पाएको छ । ४३ सांसदसहित तेस्रो स्थानको माओवादी केन्द्रले प्रतिनिधि सभामा १४ र बाँकी प्रदेश सभामा पाएको छ । २४ सांसदसहित चौथो स्थानमा रहेको राप्रपाले प्रतिनिधि सभामा ७ र बाँकी प्रदेश सभामा सिट पाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा मात्र १३ सिट पाएको छ ।

एकीकृत समाजवादीले प्रतिनिधि सभामा सिट पाएको छैन भने प्रतिनिधि सभामा जम्मा ९ सांसद पाएको छ । नेमकिपाले प्रदेश सभामात्रै २ सांसद पाएको छ । जनता समाजवादी पार्टीले प्रतिनिधिसभा ५ र प्रदेशसभामा ९ सांसद पाएको छ ।

जनतम पार्टीले प्रतिनिधि सभामा ५ र प्रदेशसभा ९ सिट पाएको छ । प्रदेश सभामात्र सिट पाएका लोसपाले ३, नेपाल सङ्घीय समाजवादीले १, नागरिक उन्मुक्ति पार्टीले ५, राष्ट्रिय जनमोर्चाले १, हाम्रो नेपाली पार्टीले १ सिट पाएको निर्वाचन आयोगले जनाएको छ ।

यसैबीच नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । निर्वाचनपछि पहिलोपटक काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने छ । बैठकमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समीक्षा हुने बताइएको छ । यस्तै बैठकमा गठबन्धन र आगामी सरकारबारे छलफल हुने नेताहरूले बताएका छन् ।

त्यस्तै नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको नेकपा एमालेका नेता विष्णु रिजालले जानकारी दिनुभयो ।

बैठकमा मङ्सिर ४ गते सम्पन्न निर्वाचनको समानुपातिक प्रणाली अन्तर्गत समानुपातिक तर्फका सांसद चयन गर्ने विषयमा छलफल हुने बताइएको छ । यसअघि हिजोका लागि तोकिएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको हो । एमालेले प्रतिनिधि सभामा समानुपातिकतर्फ ३४ सिट पाएको छ ।

त्यस्तै, प्रदेश १ मा १५, मधेस प्रदेशमा ८, बागमती प्रदेशमा १४, गण्डकी प्रदेशमा १०, लुम्बिनी प्रदेशमा ११, कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा ७ सिट पाएको छ । कूल सदर मतमध्ये एमालेले ३० दशमलव ६९ प्रतिशत मत प्राप्त गरेको छ ।
यस्तै समानुपातिक सांसदको नाम टुङ्गो लगाउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ ।

यसअघि हिजो बसेको पदाधिकारी बैठक समानुपातिक सांसदको अन्तिम सूची टुङ्गो नलगाइ सकिएको थियो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो बसेको पदाधिकारी बैठक समानुपातिक सूचीका विषयमा पुनः छलफल गर्ने गरी सकिएको थियो ।

समानुपातिक सूचीका विषयमा सरोकारवाला निकाय र कानुन विद्हरूसँग छलफल गरेर आज टुङ्गो लगाइने सचिव लीलामणि पोखरेलले जानकारी दिनुभयो । माओवादीले सङ्घमा १४ र प्रदेशमा कुल २९ सिट पाएको छ ।

त्यसैगरी जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ ।

पार्टी कार्यालयमा अहिले केहीबेरमा बस्नदे बैठकले समानुपातिकतर्फका सांसदबारे निर्णय गरिने सम्भावना रहेको छ । जसपाले प्रतिनिधि सभातर्फ समानुपातिकमा ५ सिट पाएको छ ।

बैठकमा प्रदेश र प्रतिनिधि सभा चुनावको समीक्षासँगै आगामी सत्ता समीकरणबारे पनि छलफल हुने सम्भावना रहेको पार्टी कार्यालयका प्रवक्ता प्रकाश अधिकारीले बताउनुभयो । दलहरूले समानुपातिक सांसदहरूको नाम आज अपरान्ह ४ बजेसम्म निर्वाचन आयोगलाई बुझाउनुपर्ने छ ।

आयोगले थ्रेसहोल्ड कटाएका दलहरूलाई पाएको सिट सङ्ख्या, क्लस्टरअनुसारको सङ्ख्या र महिलाको सङ्ख्यासहितको पत्र यसअघि नै पठाइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *