गण्डकी प्रदेशसभा : ३६ जना सदस्यमा ३२ जना नयाँ अनुहार (भिडियो रिपोर्टसहित)

२१ मंसिर २०७९ कास्की । ६० सदस्यीय गण्डकी प्रदेशसभामा प्रत्यक्षबाट ३६ र समानुपातिकबाट २४ सांसद चुनिन्छन् । ३६ स्थानमा विजयी भएकाहरू मध्ये ३२ जना नयाँ अनुहार छन् ।
त्यसध्ये पहिलो पटक संसदीय अभ्यास गर्नेको संख्या २९ छ । प्रत्यक्षमा मात्र नभई समानुपातिकमा समेत धेरै नयाँ अनुहार छन् । संघीय संसदमा लामो अनुभव भएकाहरू मुख्यमन्त्री बन्ने दाउसहित प्रदेशसभा छिर्दैछन् ।
मंसिर ४ मा सम्पन्न निर्वाचनबाट गण्डकी प्रदेशमा नयाँ जनप्रतिनिधि निर्वाचित भएका छन् । प्रत्यक्ष तर्फ निर्वाचित हुनेमा युवा पुस्ता र नयाँ अनुहारको संख्या धेरै छ । मतदाताले उनीहरूलाई पुराना नेताको विकल्पमा छानेको जनमतले प्रष्ट पार्छ ।
गण्डकी प्रदेश सभाले १६ जना ५० वर्ष मुनिका र ९ जना ६० वर्ष नाघेका प्रदेश सभा सदस्य पाएको छ । जनताको रोजाइमा परेका ती जनप्रतिनिधि संसद प्रवेशका लागि उत्साहित छन् ।
निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसबाट १५ जना, एमालेबाट ११ जना, माओवादीबाट तीन जना नयाँ अनुहार छन् । गएको पाँच वर्ष प्रदेशसभा सदस्यको सक्रियतालाई कमजोर मानिएको थियो । त्यसैले यो पटक नयाँ अनुहारबाट भने जनताले धेरै अपेक्षा गरेका छन् ।
यिनै अनुहारबाट नयाँ मुख्यमन्त्री छनोट हुनेछ । गण्डकीमा बहुमत पु¥याएर सरकार बनाउन ३१ सांसद चाहिन्छ, जुन गठबन्धनले पुर्याउन सक्ने देखिन्छ । कांग्रेसबाट मुख्यमन्त्रीका दाबेदार सुरेन्द्रराज पाण्डेलाई मानिएको छ ।
उता, एमालेले संघबाट प्रदेश पठाएको खगराज अधिकारी पनि एमालेका मुख्यमन्त्रीको दाबेदार हुन् । तर, कांग्रेस पहिलो दल बन्दा खगराजले भने राजनीतिमा उथलपुथल नभएसम्म गण्डकीको नेतृत्व गर्ने सम्भावना भने तत्काल देखिँदैन ।
प्रतिक्रिया