Main News

स्वार्थै-स्वार्थमा जेलिएको गठबन्धन, कसको नेतृत्वमा बन्ला सरकार ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ मंसिर २० गते २०:०९
स्वार्थै-स्वार्थमा जेलिएको गठबन्धन, कसको नेतृत्वमा बन्ला सरकार ? (भिडियो रिपोर्टसहित)

२० मंसिर २०७९ काठमाडौं । सत्तागठबन्धनका दलहरुले नयाँ सरकार गठनको प्रयास थालेका छन् । अहिलेकै सत्तागठबन्धनको निरन्तरता दिन सहमति गरिसके पनि उनीहरुबीच आ–आफ्नो नेतृत्व कसले गर्ने भन्नेबारे समझदारी बनेको छैन ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निर्वाचन पछाडि पहिलो पटक सत्तागठबन्धनको बैठक बस्यो । चुनावमा गठबन्धनभित्र भएको घातप्रतिघातले कतै गठबन्धन विग्रने हो कि भन्ने शंका सुरू भएको थियो । तर, बैठकपछि नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका तर्फबाट हस्ताक्षर गरेर विज्ञप्ति जारी गर्दै गठबन्धनको निरन्तरता रहने उद्घोष गरियो ।

निर्वाचन परिणामले गठबन्धनको सान्दर्भिकता पुष्टि भएको निष्कर्ष निकाल्दै बालुवाटार बैठकले गठबन्धनलाई थप एकतावद्ध बनाएर अघि बढ्ने निर्णय गर्यो । चुनावअघि मात्र जोडिएको लोकतान्त्रिक समाजवादी भने बैठकमा सामेल भएन । यसले लोसपालाइ समेत जोडेर सत्ता यात्राको तयारीमा रहेका प्रमुख चार दलसँग लोसपा छ कि छैन भन्ने प्रश्न उठायो । तर, लोसपाका नेता भने अध्यक्ष महन्थ ठाकुर काठमाडौंबाहिर भएकाले बैठकमा सहभागी नभएको दाबी गर्छन् ।

उनीहरू अहिले पनि आफुहरु सत्तागठबन्धनमै रहेको बताउँछन । उसले मधेस आन्दोलनका क्रममा कारागारमा रहेकाहरुको रिहाईको माग राखेर सरकारमा सहभागी हुने संकेत गरेको छ ।

अहिले मूलतः सरकारको नेतृत्व कसले गर्ने भन्नेमा गठबन्धनभित्र अनेक अड्कलवाजी भइरहेका छन् । कांग्रेसले प्रधानमन्त्री लिँदा राष्ट्रपति र सभामुख माओवादी केन्द्र र एकीकृत समाजवादीले लिने गरि पावर सेयरिङको चर्चा छ ।

प्रधानमन्त्री छाड्न तयार नदेखिएको कांग्रेस माओवादी र समाजवादी एकता नजिक रहेकाले राष्ट्रपति र सभामुख दुवै पद दिन नहुने मत कांग्रेसभित्र बलियो छ । कांग्रेसले यस्तो अडान राखेमा माओवादी केन्द्र पनि आफ्नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पहिलो सरकारको नेतृत्व दिनुपर्ने अडानमा छन ।

अहिले गठबन्धनमा यही विषय चुनौती बनेको छ । सरकारको नेतृत्व गरिररहेको दल नेपाली कांग्रेस गठबन्धनमा अरू दललाई पनि भित्र्याउने तयारीमा छ । जनमत पार्टी सरकारमा आउन तयार बनिसक्दा जनता समाजवादी पार्टीले पनि एमालेसँगको सहकार्य सकिएको घोषणा गरेर सरकारमा आउने संकेत गरेको छ । अन्य दल पनि थप गरेर सरकार बनाउने कांग्रेस रणनीति छ ।

गठबन्धनमा रहेका घटकहरु तत्काल एमालेसँग सहकार्यको मूडमा नदेखिँदा कांग्रेस केही ढुक्क देखिन्छ । तर, कुनै पनि बेला जस्तो पनि निर्णय लिनसक्ने प्रचण्डका कारण गठबन्धनबाट कांग्रेस नेतृत्वमा सरकार बन्छ वा कांग्रेस प्रचण्डलाई स्वीकार्न तयार हुन्छ ? चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *