Main News

सात दलले मात्रै कटाए थ्रेसहोल्ड, एकीकृत समाजवादी आउट (भिडियो रिपोर्टसहित)

समानुपातिकमा कसको कति सीट आउला ?

२०७९ मंसिर २० गते २०:०२
सात दलले मात्रै कटाए थ्रेसहोल्ड, एकीकृत समाजवादी आउट (भिडियो रिपोर्टसहित)

२० मंसिर २०७९ काठमाडौं । निर्वाचनको १७ दिनपछि प्रत्यक्ष र समानुपातिक सबैको मतगणना सकिएको छ ।

समानुपातिक तर्फको निर्वाचनमा १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ । समानुपातिक निर्वाचनमा भाग लिएर ७ वटा दलले थ्रेस होल्ड कटाए भने अन्य ४० दलले प्राप्त गरेको मत खेर गएको छ ।

मसिंर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार १ करोड ५ लाख ६० हजार ६७ मत गणना सदर भएको हो । समानुपातिकतर्फको अन्तिम परिणाममा नेकपा एमालेले २८ लाख ४५ हजार ६ सय ४१ मत सहित पहिलो दल बनेकोछ ।

नेपाली कांग्रेस २७ लाख १५ हजार २ सय २५ मत ल्याएर दोस्रो, माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४ सहित तेस्रो दल बन्यो । यसपटक नयाँ दलका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख ३० हजार २ सय ४४ मत ल्याएर चौथो स्थानमा छ, जनमत पार्टीले ३ लाख ९४ हजार ६ सय ५५ मत सहित समानुपातिकमा सातौं बनेर राष्ट्रिय दल बनेको छ ।

पुरानै दल भएपनि अघिल्लो पटक राष्ट्रिय दल बन्न नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूलाइ स्थापित गरेको छ। राप्रपाले ५ लाख ८८ हजार ८ सय ४९ ल्याएर पाँचौ ,जनता समाजवादी पार्टी ४ लाख २१ हजार ३ सय १३ मतसहित छौठौंमा छ । यो सँगै सात राजनीतिक दलले ३ प्रतिशत थ्रेस होल्ड ल्याएर राष्ट्रिय दलको मान्यता पाएका छन । यस्तै अन्तिमसम्म पनि थ्रेस होल्ड कटाउने प्रयासमा रहेको एकीकृत समाजवादको प्रयास सफल हुन सकेन ।

एकीकृत समाजवादीले समानुपातिकमा २ लाख ९८ हजार ३ सय ९१ मत मात्र ल्यायो । यो परिणामसंगै निर्वाचनमा समानुपातिक तर्फ १२ लाख ७७ हजार ६ सय ५४ मत खेर गएको छ । जिल्ला निर्वाचन कार्यालयहरुले इन्ट्री गरेका मतमा आयोग केन्द्रीय कार्यालयले अन्तिम मत सार्वजनिक गरेको हो ।

समानुपातिक निर्वाचनमा ४७ मध्ये ४० वटा दलले थ्रेस होल्ड कटाउन सकेनन । आयोगले प्राप्त मतलाई अन्तिम प्रमाणित गरेर दलहरुले पाएको मतलाई आधार बनाएर समानुपातिकमा कुन दलले कति सिट प्राप्त गरे भन्ने तथ्याङ निकाल्ने काम गरिरहेको छ ।

समानुपातिकमा कसको कति सीट आउला ?
नेकपा एमाले– ३४ सीट
कांग्रेस– ३२ सीट
माओवादी केन्द्र– १४ सीट
राष्ट्रिय स्वतन्त्र पार्टी– १३ सीट
राष्ट्रिय प्रजातन्त्र पार्टी– ७ सीट
जनता समाजवादी पार्टी– ५ सीट
जनमत पार्टी– ५ सीट

समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्ड कटाएका दलले ११० सिटको बाँडफाँडबाट हुनेछ । त्यसपछि दलले प्राप्त गरेको सीटमा आदिवासी जनजाति २८ दशमलव ७ प्रतिशत, खस आर्य ३१ दशमलव २ प्रतिशत, थारु ६ दशमलव ६ प्रतिशत, दलित १३ दशमलव ८ प्रतिशत, मधेसी १३ दशमलव ३ प्रतिशत र मुस्लिम ४ दशमलव ४ प्रतिशत प्रतिनिधित्वको सुनिश्चितता गर्नु पर्ने हुन्छ । कुल सदर मतको ३ प्रतिशत अर्थात ३ लाख १६ हजार ८ सय ३ मत नपाएका कारण समानुपातिक निर्वाचनमा भाग दिएको ४७ दल मध्ये ४० राजनीतिक दलले समानुपातिक सिट नपाउने भएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *