के हो त लामिछानेको दोहोरो नागरिकताको विषय र विवाद ? (भिडियो रिपोर्टसहित)
दोषी ठहरिए के हुन्छ कारवाही ?
१७ मंसिर २०७९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः विवादमा तानिनुभएको छ । चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेको दोहोरो नागरिकताको विषय उठेपछि उहाँ विवादमा तानिनु भएको हो । के हो त लामिछानेको दोहोरो नागरिकताको विषय र विवाद ?
चितवन– २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएपछि रवि लामिछानेविरुद्ध दोहोरो नागरिकताको विषयलाई लिएर निर्वाचन आयोगमा उजुरी पर्यो । सो विषय सञ्चामाध्यम र सामाजिक सञ्जालमा निरन्त उठे पनि आयोग दोहोरो नागरिकताको विषयमा मौन नै रह्यो ।
लामिछाने चितवन–२ बाट निर्वाचित हुनुभयो । नागरिकता र राहदानी ‘अवैध’ रहेको भन्दै पुनः गृह मन्त्रालयमा उजुरी पर्यो । सोही उजुरीका आधारमा लामिछानेको नागरिकता र राहदानीको वैधानिकताबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । लामिछानेले खारेज भइसकेको नागरिकता दुरूपयोग गरेको दाबी उजुरीमा गरिएको छ ।
गृहले अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्राचार गरेपछि प्रशासनले बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुसन्धान गर्नका लागि पत्र पठाएको थियो । पत्र पाएसँगै लामिछानेमाथि अनुसन्धान शुरु भइसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भरत बाहेराले जानकारी दिनुभयो ।
अहिले अनुसन्धान शुरु मात्रै भएकाले केही तथ्य भेटिएपछि मात्रै सञ्चारमाध्यमलाई प्रतिक्रिया दिने बोहराले बताउनुभयो । लामिछानेले २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएको र सो नागरिकता ‘त्याग’ नगरी अमेरिकी नागरिकता लिएको उजुरीकर्ताको दाबी छ ।
के छ कानूनी व्यवस्था श्र
नेपाल नागरिकता ऐन, २०६३ को दफा (१०) को उपदफा (१) अनुसार ‘नेपालको कुनै नागरिकले आफूखुसी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम हुने छैन’ भन्ने उल्लेख छ । यही दफाको उपदफा (२) मा अर्को देशको नागरिकता लिँदा नेपाली नागरिकता त्याग्न पनि तोकिएबमोजिम प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था राखेको छ।
यस्तै ऐनको दफा (११) मा ‘कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुने’ व्यवस्था पनि गरेको छ । यो व्यवस्थाअनुसार पुनः नागरिकता प्राप्तिका लागि नियमावलीको नियम (११) बमोजिमको कार्यविधिअनुसारको प्रक्रिया पूरा गर्नैपर्छ ।
जसको नियम ११ (१) मा ‘ऐनको दफा ११ बमोजिम नेपालको नागरिकता त्यागी विदेश गएको कुनै व्यक्तिले पुनः नेपाली नागरिकता प्राप्त गर्न चाहेमा विदेशी नागरिकता त्यागेको निस्सासहित निजले पहिले नागरिकता प्रमाणपत्र प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा अनुसूची ११ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने छ’ भन्ने व्यवस्था छ । सोअनुसार निवेदन आएपछि ‘साविककै विवरणअनुसार नयाँ नेपाली नागरिकता जारी गर्ने’ व्यवस्था छ ।
दोषी ठहरिए के हुन्छ कारवाही ?
लामिछानेले पुनः नेपाली नागरिकता प्राप्तिको प्रक्रिया पूरा नगरी पुरानै नागरिकता प्रयोग गरेर नेपालमा सक्रिय रहेको र उम्मेदवारी दिएको उजुरीमा दाबी छ । यदि यो दाबी पुष्टि भएमा लामिछानेलाई जेल सजायँसमेत हुन सक्छ । नेपालको ‘राहदानी ऐन २०७६’ को दफा २१ (क) मा झुटा विवरण दिई राहदानी लिन नहुने प्रष्ट उल्लेख छ ।
यदि त्यसो गरेको पाइएमा दफा २२ बमोजिम दुई लाखदेखि पाँच लाख रूपैयाँसम्म जरिवाना वा एक वर्षदेखि ३ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । रविमाथिको आरोप पुष्टि भएमा रविको सांसदको हैसियतसमेत गुम्ने कानूनका जानकारहरु बताउँछन् ।
प्रतिक्रिया