राजनीति

को बन्ला लुम्बिनी प्रदेशको मुख्यमन्त्री ? (भिडियो रिपोर्टसहित)

२०७९ मंसिर १७ गते १७:०७
को बन्ला लुम्बिनी प्रदेशको मुख्यमन्त्री ? (भिडियो रिपोर्टसहित)

१७ मंसिर २०७९ बुटवल । लुम्बिनी प्रदेशसभा प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएलगत्तै को बन्ला मुख्यमन्त्रीको चर्चा शुरु भएको छ ।

कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत नआएको प्रदेशसभामा दलका नेताहरू सरकार गठनको लागि कसरत गर्न थालेका छन् । तर, प्रदेशमा सरकार गठनको लागि साना दलको भरपर्नु पर्ने अवस्था छ ।

लुम्बिनी प्रदेशमा कुनै पनि दलको स्पष्ट बहुमत आउन नसक्दा गठबन्धन गरेरै सरकार बन्ने निश्चित छ । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा प्रत्यक्ष तर्फ ५२ र समानुपातिक तर्फ ३५ सिट हुँदा सरकार गठनको लागि ४४ सांसदको आवश्यकता हुन्छ ।

यो निर्वाचनमा प्रत्यक्ष तर्फ १८ सिट जित्दै पहिलो दल बनेको नेकपा एमालेले पनि सरकार गठनको लागि अरु दलकै भर पर्नुपर्ने अवस्था छ । चुनावी तालमेलमा रहेको राप्रपा र जसपाले दुई–दुई सिट प्राप्त गर्दा अरु दललाई पनि तालमेलमा ल्याउन सके मात्र एमालेले सरकार गठन गर्न सक्ने छ । एमालेमा मुख्यमन्त्रीको लागि संसदीय दलको नेतामा प्रदेश अध्यक्ष लीला गिरी, पूर्व प्रदेशसभाका प्रमुख सचेतक भुमिश्वर ढकालको चर्चा छ ।

१७ सिट जित्दै प्रदेशसभामा दोश्रो भएको नेपाली काँग्रेसले गठबन्धनको साथमा सरकारको नेतृत्वकोे लागि कसरत सुरु गरेको छ । कांग्रेसले माओवादी केन्द्र, लोसपा र जनमतलाई साथमा लिएर सरकार गठनको तयारी थालेको छ ।

प्रत्यक्षतर्फ माओवादी केन्द्रले ५, लोसपा २, जनमत पार्टीले १ सिट जितेका छन् । काँग्रेसको संसदीय दलको नेता बन्दै मुख्यमन्त्री बन्नको लागि केन्द्रीय सदस्य अब्दुल रज्जाक र प्रदेशका बाहालवाला पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीको चर्चा छ ।

माओवादीले यदी सरकारको नेतृत्व पाए माओवादीबाट रोल्पाका जोखबहादुर महरा मुख्यमन्त्री बन्ने बलियो सम्भावना छ ।

माओवादीबाट मुख्यमन्त्रीमा आकांक्षी रहनुभएका गुल्मीका सुदर्शन बराल पराजित भएसँगै उहाँको बाटो सहज भएको हो । लुम्बिनी प्रदेशसभामा प्रत्यक्ष तर्फ ८ राजनीतिक दल र ३ स्वतन्त्र उम्मेदवारको सहभागिता हुने छ । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी पहिलो पटक संसद जाँदै छन् । प्रदेशमा सरकार गठनको लागि साना दलको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

२०७४ मा पाँच राजनीतिक दलले ंसंसदमा सहभागिता जनाउँदा २ पटक एमालेका महासचिव शंकर पोखरेल र माओवादीका कूलप्रसाद केसीले प्रदेश सरकारको नेतृत्व गरेका छन् । अहिले ८ राजनीतिक दल संसदमा जाने पक्का हुँदा लुम्बिनी प्रदेश सरकार स्थिर हुनेमा शंका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्