Main News

राष्ट्रिय दल बन्न संघर्षरत एकीकृत समाजवादी, प्रत्यक्षमा १० सिट कसरी जित्यो ? (भिडियो रिपोर्टसहित)

२०७९ मंसिर १४ गते २१:०४
राष्ट्रिय दल बन्न संघर्षरत एकीकृत समाजवादी, प्रत्यक्षमा १० सिट कसरी जित्यो ? (भिडियो रिपोर्टसहित)

१४ मंसिर २०७९ काठमाडौं । राष्ट्रिय दल बन्नका लागि प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिकमा कुल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

थ्रेस होल्ड कटाएर राष्ट्रिय दल बन्न नेकपा एकीकृत समाजवादी पार्टी संघर्षरत छ । कुल एक करोड ९ लाख समानुपातिक मत खसेकोमा एक करोड दुई लाख बढी मत गणना सकिँदा एकीकृत समाजवादीले दुई लाख ९० हजार मात्रै मत पाएको छ । तर प्रत्यक्षमा भने उसले १० सिट जित्ने मत कसरी पायो त ?

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २१ ठाउँमा उम्मेदवारी दिएको नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ । पराजित भएका ठाउँमा पनि उसको मत राम्रो नै छ । समानुपातिकमा ३ प्रतिशत अर्थात् मोटामोटी ३ लाख मत पुर्‍याउन हम्मेहम्मे परिरहेको एकीकृत समाजवादीले प्रत्यक्षतर्फ भने प्रत्यक्षमा ४ लाख ३४ हजार ७ सयभन्दा बढी मत पाएको छ ।

सल्यान–१ मा एकीकृत समाजवादी पार्टीका प्रकाश ज्वाला ३५ हजार ७ सय मत ल्याएर निर्वाचित हुनुभयो । त्यहाँ समानुपातिकमा भने ९ हजार ४ सय ६७ मत मात्रै छ । यसरी हेर्ने हो भने यो निर्वाचन क्षेत्रमा ज्वालालाई कांग्रेस एमालेको उल्लेख्य मत खसेको छ ।

गुल्मी–२ मा पराजित भएकी रामकुमारी झांक्रीले पनि २६ हजार ४ सय ४१ मत पाउनुभयो । जबकी स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा एकीकृत समाजवादी जम्मा ६ सय ५८ मत मात्रै पाएको थियो । अन्य ठाउँमा पनि एकीकृत समाजवादीको अवस्था उस्तै छ ।

सामान्यरुपमा हेर्ने हो भने एकीकृत समाजवादीका लागि निकै ठूलो मात्रामा मत ट्रान्सफर भएको देखिन्छ । तर समाजवादीका नेताहरु भने यो कुरा सहज रुपमा स्वीकार्दैनन् । बरु मतको आंकलन कसरी गरिएको थियो भन्नेमै समेत अन्योल देखिन्छ ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा चार लाख २२ हजार ७ सय ३७ मत ल्याएर छैठौं स्थानमा रहेको एकीकृत समाजवादीले अहिले त्यो हाराहारीको मत पाउने छाँटकाँट नै देखिएको छ ।

तर यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ नै बढी ध्यान दिएका कारण समानुपातिकमा उसले अपेक्षित मत पाउन नसकेको स्पष्टै छ ।
स्थानीय निर्वाचनपछि कतिपय नेताहरु एमालेमै फर्किनु र कतिपय ठाउँमा कांग्रेस र माओवादीसँग गरेको गठबन्धनका कारण असन्तुष्टि बढ्नुले पनि उसको मतको दर केही घटेको विश्लेषकहरु बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *