राजनीति

कांग्रेसमा दर्जन बढी प्रधानमन्त्रीका आकांक्षी कसले मार्ला बाजी ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ मंसिर १४ गते २०:५१
कांग्रेसमा दर्जन बढी प्रधानमन्त्रीका आकांक्षी कसले मार्ला बाजी ? (भिडियो रिपोर्टसहित)

१४ मंसिर २०७९ काठमाडौं । प्रतिनिधिभसभा निर्वाचनको मतपरिणाम आउँदै गर्दा सत्तारुढ नेपाली कांग्रेस पहिलो दल बन्ने सम्भावना देखिएको छ ।

योसँगै कांग्रेसमा प्रधानमन्त्रीका आकांक्षीहरुको संख्या पनि बढिरहेको छ । प्रधानमन्त्रीको आकांक्षा राख्ने नेताहरु र उनीहरुको पार्टीभित्रको अवस्था के छ त ?

बहुमत प्राप्त गर्न नसके पनि यसपटकको निर्वाचनबाट संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस नै बन्ने सम्भावना देखिएको छ । अहिलेको सत्तागठबन्धन कायम रहँदा सरकारको नेतृत्व गर्ने अवसर कांग्रेसले नै पाउने छ ।

कांग्रेसभित्र अहिले प्रधानमन्त्रीको आकांक्षा राख्नेहरुको संख्या आधा दर्जन पुगिसकेको छ । प्रधानमन्त्री हुन संसदीय दलको नेता हुनुपर्ने कांग्रेस विधान छ । त्यसैले अब संसदीय दलको नेताका लागि कोको प्रतिस्पर्धी होलान् त ? भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।

शेरबहादुर देउवा
कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा आफ्नो निरन्तरता चाहनुहुन्छ। देउवा निकटस्थहरु संसदीय दलमा देउवाकै पल्ला भारी हुने भन्दै देउवाको विकल्प नभएको बताउँछन् । अहिले आएका परिणाम हेर्दा संसदीय दलमा देउवाको पल्लाभारी हुने देखिन्छ । प्रत्यक्षको टिकट वितरणदेखि समानुपातिकमा समेत आफ्नो लाइनकालाई बढी समेटेकाले उहाँको पक्षमा सांसदको संख्या बढी हुन सक्ने देखिन्छ । त्यसबाहेक १४औं महाधिवेशनपछि रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइरालाको साथ पाएकाले संसदीय दलमा पनि उहाँहरुको साथ पाउनेमा देउवा ढुक्क देखिनुहुन्छ ।

रामचन्द्र पौडेल
१४औं महाधिवेशनअघि कांग्रेसमा पौडेलको आफ्नै गुट थियो । संस्थापनइतर समुहका मुख्य नेता पौडेल १४औं महाधिवेशनमा भने देउवाका सारथी बन्न पुग्नुभयो । अहिले देउवासँग सुमधुर सम्बन्ध रहेका पौडेल सत्तागठबन्धनकै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको भेटपछि उत्साही देखिनुभएको छ । तर, संस्थापन र संस्थापनइतर दुवै समुहको उम्मेदवार बन्ने सम्भावना न्यून रहँदा पौडेलको सम्भावना कमजोर बनेको छ ।

गगन थापा
प्रधानमन्त्रीको आकांक्षा राख्नेमा देउवापछि महामन्त्री थापा अगाडि देखिनुहुन्छ । उहाँले ‘प्रोजेक्ट पिएम’ नै सञ्चालन गर्नुभएको छ । संसदीय दलको नेतामा उठ्ने घोषणा गरिसकेका थापाको पक्षमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा खुल्नुभएको छ । संस्थापनइतर समुहका शेखर कोइराला मौन हुनुहुन्छ ।

कोइरालाको मौनता र वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्रीहरु सिंह र कोइरालाको प्रधानमन्त्री हुने चाहना थापाका लागि चुनौती बन्ने देखिन्छ । उहाँहरु आफै नउठेमा थापा भन्दा देउवालाई समर्थन गर्ने सम्भावना बलियो ठानिएको छ । तर, देउवाको विकल्प खोज्नेहरुका लागि थापा निर्विकल्प एकल उमेदवार बनेमा भने परिणाम अहिलेनै अनुमान गर्न कठिन हुनेछ ।

प्रकाशमान सिंह
पूर्वमहामन्त्री सिंहले आफूलाई प्रधानमन्त्रीको स्वभाविक दाबेदार भन्नुभएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहिसकेको र यसअघि संसदीय दलमा समेत देउवासँग प्रतिस्पर्धा गरिसकेकाले संसदीय दलको नेतामा सिंहको पनि चर्चा छ । तर, १४औं महाधिवेशनमा देउवालाई साथ दिएकाले दलमा देउवाले नै इच्छा राख्दा सिंहले के गर्नुहोला रु चासोका साथ हेरिएको छ । हालसम्म सार्वजनिक परिणाम हेर्दा सिंहको अवस्था संसदीय दलमा कमजोर नै छ ।

शशांक कोइराला
पार्टीका पूर्व महामन्त्री कोइरालाले आफू पनि प्रधानमन्त्रीको आकांक्षी भएको बताउनुभएको छ । १४औं महाधिवेशनमा देउवालाई सघाएका कोइराला नेतृत्वको गुट अहिले छिन्नभिन्न छ । कोइरालासँग निकटस्थ केही मात्र निर्वाचित भएका छन् । १४औं महाधिवेशनमा देउवालाई सघाएकाले दलको नेतामा देउवाको साथ पाएमा भने कोइरालाको अवस्था बलियो बन्न सक्छ । तर, अहिले त्यस्तो सम्भावना क्षिण देखिन्छ ।

शेखर कोइराला
कोइराला परिवारबाटै प्रधानमन्त्रीका अर्का आकांक्षीका रुपमा शेखरलाई हेरिएको छ । तर, महाधिवेशनमा सभापतिमा कोइरालाई साथ दिएका महामन्त्री थापा आफै प्रधानमन्त्रीको दौडमा निस्किएपछि शेखरको सम्भावना कमजोर देखिएको छ । महाधिवेशनमा आफ्नो टिममा रहेकाहरुलाई समेट्न सक्दा भने कोइरालाको पक्षमा संसदीय दलमा राम्रै माहोल बन्ने देखिन्छ । तर, गगन थापा पछाडि नहट्ने अवस्थामा कोइरालाको दाबेदारी कमजोर बन्नेछ । त्यस्तो अवस्था कोइराला थापासँगै संसदीय दलमा उठ्ने वा अरु कसैलाई समर्थन गर्ने विकल्प हुनेछ ।

उसो त राजनीति सम्भावनाहरुकै खेल हो । संसदीय दलको निर्वाचनसम्म पुग्दा अवस्था के हुन्छ रु अहिलेनै आँकलन गर्न कठिन छ । तर, अहिलेकै अवस्था कायम रहेमा भने संसदीय दलमा देउवालाई चुनौती दिने बलियो दाबेदार देखिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्