राजनीति

किन कमजोर भयो एमाले ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ मंसिर १३ गते २१:२९
किन कमजोर भयो एमाले ? (भिडियो रिपोर्टसहित)

१३ मंसिर २०७९ काठमाडौं । ०७४ सालमा पहिलो दल बनेको नेकपा एमाले यसपटक खुम्चिएको छ । अहिलेको मतपरिणाम हेर्दा संघ र प्रदेश दुवैतर्फ एमालेको आकार घटेको छ । आखिर किन कमजोर हुन पुग्यो एमाले ?

मंसिर ४ गते निर्वाचनको मिति तोकिएपछि एमाले अध्यक्ष केपी ओलीले नेकपा एमाले नै पहिलो पार्टी बन्ने उद्घोष गर्नुभयो । चुनावी सभाहरुमा ओलीको आत्मविश्वास र अभिव्यक्ति पनि त्यस्तै थियो। मंसिर १५ मा एमाले नेतृत्वमै सरकार बन्ने उहाँको दाबा थियो । मंसिर ४ मा मतदान गरेपछि ओलीले दिएको यो प्रतिक्रिया सुनौं ।

तर, हालसम्म सार्वजनिक परिणाम हेर्दा भने ओलीको दाबा दाबीमै सिमित हुने पक्का छ । ०७४ सालमा माओवादी केन्द्रसँग गठबन्धन गरेर ८० सिट जितेको एमाले अहिले करिब आधा सिटमा खुम्चिएको छ । १६५ मध्ये १५८ स्थानको मतपरिणाम सार्वजनिक हुँदा एमालेले ४२ स्थानमा जित हात पारेको छ ।

प्रदेशतर्फ पनि बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सत्तागठबनधनले बहुमत ल्याइसकेको छ । मधेस र लुम्बिनी प्रदेशमा पनि सत्ता गठबन्धन नै अगाडि देखिएको छ । संघमा एमालेका शीर्ष तहका नेताहरु नै पराजित भएका छन् ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल,उपमहासचिव प्रदीप ज्ञवाली संसदमा हुने छैनन् । नेकपा एमाले पार्टीको खस्कँदो साखमा नेतृत्वको कमजोरी भन्दा सत्तागठबन्धनले धाँधली गरेका कारण अपेक्षित नतिजा आउन नसकेको जिकिर एमाले नेताहरुले गर्न थालेका छन् ।

०७४ मा एमालेले दिएको स्थिरता र समृद्धिको नाराले धेरैलाई लोभ्याएको थियो । वाम गठबनधनका कारण पनि धेरैले एमालेको नारा पत्याएका थिए । त्यहीकारण करिब दुई तिहाई बहुमत नजिक पुगेको वाम गठबन्धनको सरकार काम भन्दा आन्तरिक विवादमै अल्झिन पुग्दा अलोकप्रिय बन्यो ।

आन्तरिक विवादका कारण नेकपा विभाजित नै भयो । सरकारमा रहँदाको अलोकप्रियता, नेकपा विभाजन र सत्तागठबन्धन नै एमाले कमजोर हुनुको मूल कारण ठानिएको छ । तर, एमाले विगतका कमजोरीबाट सच्चिने भन्दा धाँधलीको जामा पहिर्याएर आफ्नो पराजयलाई स्वभाविक देखाउन प्रयासरत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्