Main News

गृहमन्त्री र मन्त्री नै पराजित भएको चुनाव : शक्तिको दुरुपयोग हुन नपाएको हो ?(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ मंसिर १० गते २१:३८
गृहमन्त्री र मन्त्री नै पराजित भएको चुनाव : शक्तिको दुरुपयोग हुन नपाएको हो ?(भिडियो रिपोर्टसहित)

१० मंसिर २०७९ काठमाडौं । नेपालको संसदीय निर्वाचनको इतिहास त्यति लामो छैन । २०१५ सालमा पहिलो निर्वाचन भएको थियो भने २०७९ सम्म आठवटा निर्वाचन भए ।

निर्वाचनको अभ्यास कम हुने मुलुकमा सामान्यतया सत्ता पक्ष हाबी हुने गरेको पाइन्छ । तर नेपालको सन्दर्भमा हेर्ने हो भने त्यस्तो कम देखिन्छ । यसपटकको निर्वाचनमा त बहालवाला गृहमन्त्रीसहित थुप्रै मन्त्रीहरु पराजित भए ।

निर्वाचन गराउने सरकारको गृहमन्त्री सबैभन्दा शक्तिशाली व्यक्तिको रुपमा लिने गरिन्छ । निर्वाचनमा सुरक्षादेखि व्यवस्थापनमा गृह मन्त्रालयको जिम्मेवारी धेरै हुन्छ ।

शक्ति र सत्ताको भरपुर प्रयोग निर्वाचनमा गृहमन्त्रीले गर्ने सम्भावना पनि हुन्छ तर यो निर्वाचनमा बहालबाल गृहमन्त्री बालकृष्ण खाँण आफैँ पराजित हुनु भएको छ । खाँणलाई रूपन्देही( ३ मा राप्रपाका दीपक बोहोराले हराउनु भयो । एमाले र जसपाको साथ पाएका बोहोराले ३६ हजार ६ सय ४८ मत ल्याउनु भयो भने सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका गृहमन्त्री खाँणले ३४ हजार ४ मत ल्याउनुभयो ।

२०७४ को निर्वाचनमा समानुपातिकबाट सांसद बनेका खाँण नेकपाले दुई तिहाइ बहुमतको सरकार गुमाएपछि कांग्रेस नेतृत्वमा बनेको सरकारमा गृहमन्त्री बन्ने अवसर पाउनु भएको थियो ।

निर्वाचन र मतगणनामा पनि धाँधली हुन सक्ने भएकोले पनि गृह मन्त्रालयको भूमिका निकै हुन्छ । त्यसो त सरकारमा भएका मात्र होइन अरु शक्तिशाली नेताहरु पनि निर्वाचन मात्र होइन मतगणनामासमेत प्रभावित बनाउन सक्छन् भन्ने भास्य नेपालमा दोस्रो संविधानसभा निर्वाचनका केही घटनाबाट स्थापित भइसकेको कुरा हो ।

तर खाँण भने सत्तारुढ दलको शक्तिशाली नेता मात्र होइन निर्वाचन सुरक्षाको कमाण्डिङ गर्दा गर्दै पनि पराजित हुनुपरेको छ ।

२०१५ सालमा बहालवाला गृहमन्त्री एवं नेपाली राष्ट्रिय कांग्रेसका अध्यक्ष डिल्लीरमण रेग्मी सबैभन्दा कम मत ल्याएर पराजित हुनु भएको थियो । यस्तै २०६४ को निर्वाचमा कृष्णप्रसाद सिटौला गृहमन्त्री हुदाँ राजेन्द्र लिङदेनसँग हार्नु भएको थियो । सिटौला अहिले पनि उनै लिङदेनसंग पराजित हुनुभएको छ।

२०५१ सालमा गृहमन्त्री हुदाँ केपी शर्मा ओली बिजयी हुनुभएको थियो भने गृहमन्त्री हुदाँ २०७० को निर्वाचनमा तत्कालीन गृहमन्त्री रहेका बामदेव गौतम दुई स्थानमा बिजयी हुनुभएको थियो । यस्तै यो निर्वाचनमा मन्त्री हुदाँहुदै पनि पराजय हुनेको संख्या धेरै छ । काठमाडौं ८ मा पर्यटन मन्त्री जीवनराम श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठसंग पराजित हुनुभयो ।

ललितपुर ३ मा उर्जा मन्त्री पम्फा भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीसँग पराजित हुनुभयो । बारा १ मा खानेपानी मन्त्री उमाकान्त चौधरीलाई एमालेका अच्युतप्रसाद मैनालीले हराउनुभयो । बाँके १ मा खेलकुद मन्त्री महेश्वरराज गहतराज पनि एमालेका सूर्यप्रसाद ढकालसँग पराजित हुनुभयो ।

यसले के देखाउँछ भने बहालवाला गृहमन्त्री र मन्त्री जो भए पनि जनतासँग नजिक नहुनेहरु सत्ताको पहुँचले मात्र चुनाव जित्न सक्दैनन् । बरु प्रतिपक्षमा बसेर सत्ताका कमजोरी ‍औँल्याउने र जनताको घरदैलो गरिरहनेहरुलाई चुनाव जित्न सहज हुने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *