Main News

यस्तो छ कांग्रेस उपसभापति खड्काको राजनीतिक यात्रा

२०७९ मंसिर ९ गते ७:५४
यस्तो छ कांग्रेस उपसभापति खड्काको राजनीतिक यात्रा

९ मंसिर २०७९ सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नं. १ बाट विजयी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का २०३१ सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ ।

राजनीतिमा सक्रिय भएपछि २०३२ सालदेखि नै उहाँले पटकपटक बन्दी जीवन बिताउनुभएको छ ।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय खड्काले नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्य र केन्द्रीय उपाध्यक्ष भएर काम गर्नुभयो । कांग्रेसको सुर्खेत सभापति भएर २०४५ सालदेखि २०४९ सम्म उहाँले सङ्गठन बिस्तारको काम गर्नुभयो । खड्का २०४८, २०५१ र २०५६ सालमा पनि सोही क्षेत्रबाट सांसद निर्वाचित हुनुभएको थियो ।

विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने उहाँ समानुपातिक सूचीमा समावेश हुनुभएको थियो । संविधानसभाको दोस्रो निर्वाचन, २०७० मा निर्वाचित खड्का २०७४ सालको आम निर्वाचनमा भने पराजित हुनुभएको थियो । यस क्रममा उहाँले राज्य व्यवस्था समितिको सभापति, युवा, खेलकुद तथा संस्कृतिमन्त्री, वाणिज्य मन्त्री, जनसङ्ख्या तथा वातावरणमन्त्री, सूचना तथा सञ्चार मन्त्री, उद्योग मन्त्री, गृह मन्त्री र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएर काम गर्नुभएको छ ।

विसं २०१२ फागुन १७ गते सुर्खेतको पाम्कामा बुबा प्रेमबहादुर खड्का र आमा मायादेवी खड्काको सुपुत्रका रुपमा उहाँको जन्म भएको थियो । खड्काले अष्टे«लिया, अष्ट्रिया, बङ्गलादेश, बेल्जियम, चीन, हङकङ, भारत, जापान, केन्या, लक्जम्बर्ग, नेदरल्याण्ड, कतार, सिङ्गापुर, श्रीलङ्का, स्वीट्जरल्याण्ड, थाइल्याण्ड, बेलायत र अमेरिकाको भ्रमण गर्नुभएको छ ।

खड्का कांग्रेसको गत वर्ष सम्पन्न महाधिवेशनबाट उपसभापति पदमा निर्वाचित हुनुभएको हो । यसअघि उहाँले पार्टीको महामन्त्री र सहमहामन्त्री भएर काम गरिसक्नुभएको छ । खड्का सुर्खेत क्षेत्र नं. १ बाट ४२ हजार छ सय सात मत प्राप्त गरी विजय हुनुभएको हो । उहाँले नेकपा (एमाले) का ध्रुवबहादुर शाहीलाई ११ हजार छ सय १९ को मतान्तरले पराजित गर्नुभयो । शाहीले ३० हजार नौ सय ८८ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *