Main News

रेखा शर्माको तेस्रोपटक सदन प्रवेश

२०७९ मंसिर ८ गते १३:३३
रेखा शर्माको तेस्रोपटक सदन प्रवेश

८ मंसिर २०७९ दाङ । मुलुकको राजनीतिमा परिपक्व र सशक्त भूमिका खेल्दै आउनुभएकी रेखा शर्मा तेस्रोपटक सङ्घीय संसद्मा प्रवेश गर्नुभएको छ ।

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित गरी उहाँ सदन प्रवेश गर्नुभएको हो ।

दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शर्मा २६ हजार आठ सय ७७ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का महासचिव पोखरेलले २६ हजार छ सय ८१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो । उहाँहरूबीचको मतान्तर एक सय ९६ रहेको छ । उक्त क्षेत्रमा एक लाख ३३ हजार सात सय ४८ मतदातामध्ये ७९ हजार चार सय ४६ मत खसेको थियो ।

अनेरास्ववियुको विद्यालय एकाइ कमिटीबाट विसं २०४२ बाट राजनीतिक यात्रा सुरु गर्नुभएकी शर्मा विसं २०५१ मा योङ्ग कम्युनिष्ट लिगको केन्द्रीय सदस्य हुँदै २०५७ मा नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य हुनुभयो । उहाँसँग अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको अध्यक्ष (२०५३–२०५८), समानुपातिक निर्वाचन प्रणालीबाट विसं २०७० मा संविधानसभा सदस्य तथा २०७४ मा प्रतिनिसभा सदस्य रही जिम्मेवारी सम्हालेको अनुभव छ ।

पिता गिरीराज शर्मा र माता पार्वती शर्मा पौड्यालको कोखबाट उहाँको जन्म विसं २०२६ असोज ९ गते भएको थियो । समाजशास्त्र विषयमा स्नात्तकोत्तर रहनुभएकी शर्माका पति कृष्णध्वज खड्का पनि राजनीतिक क्षेत्रमै सक्रिय हुनुहुन्छ । दाङको घोराही उपमहानगरपालिका– १८ स्थायी घर भएकी शर्मा २०७२ कात्तिकदेखि २०७३ कात्तिकसम्म समान्य प्रशासनमन्त्री हुनुभयो ।

नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकीकरण भएपछि उहाँ नेकपाको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । उहाँ विसं २०७० मा नेकपा माओवादी संसदीय दलको सचेतक तथा रुपान्तरित व्यवस्थापिकामा माओवादी केन्द्रको प्रमुख सचेतकको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

यसअघिको राज्यव्यवस्था तथा सुशासन समितिको सदस्य शर्मा सामाजिक न्याय र समानताको क्षेत्रमा विशेष रुचि राख्नुहुन्छ । सशस्त्र द्वन्द्वका समय विसं २०५८ देखि २०५९ चैतसम्म एक वर्ष सैनिक हिरासतमा बिताउनुभएकी शर्मा संविधानसभा पदकबाट विभूषित हुनुहुन्छ । करिब १० वर्ष भूमिगत जीवन बिताउनुभएकी शर्माका राजनीतिकलगायतका विषयमा फुटकर लेख, रचना प्रकाशित हुँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *