Main News

सुप मतगणना : प्रतिनिधिसभाका दश निर्वाचन क्षेत्रको टुङ्गो

२०७९ मंसिर ८ गते १३:१८
सुप मतगणना : प्रतिनिधिसभाका दश निर्वाचन क्षेत्रको टुङ्गो

८ मंसिर २०७९ महेन्द्रनगर । जम्मा १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा हालसम्म दश वटा निर्वाचन क्षेत्रको टुङ्गो लागेको छ ।

नौ वटा जिल्ला रहेको सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीमा पाँच वटा निर्वाचन क्षेत्र रहेका छन् भने कञ्चनपुरमा तीन, अछाममा दुई र बाँकी जिल्लामा एक÷एक निर्वाचन क्षेत्र रहेको छ ।

यहाँ दश निर्वाचन क्षेत्रको निर्वाचन नतिजा भए पनि एक निर्वाचन क्षेत्रमा मतदान प्रक्रिया रोकिएको छ भने पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ । प्रतिनिधिसभातर्फ डडेल्धुराबाट प्रधानमन्त्री शेरबहादुर देउवाले सातौँ पटक निर्वाचनमा विजयी हुनुभएको छ । उहाँले प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाल र नेपाली कांग्रेस बिपीका नेता कर्ण मल्ललाई पराजित गर्नुभयो । विसं २०४८ यता डडेल्धुराबाट निरन्तर निर्वाचनमा जित्दै आउनुभएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवालाई यस पटक सत्ता गठबन्धन दलको दरिलो साथसमेत थियो ।

त्यसैगरी नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश अध्यक्ष एवं सत्ता गठबन्धनका उम्मेदवार वीरबहादुर बलायर कैलाली निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित हुनुभएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका बलायरले यसअघि २०७० सालको निर्वाचनमा डोटीबाट निर्वाचन जित्नुभएको थियो । विसं २०७४ मा तत्कालीन नेकपा एमालेका (हाल एकीकृत समाजवादी पार्टी) नेता प्रेम आलेसित पराजित हुनुभएका नेता बलायरले यस पटक भने सत्ता गठबन्धनका कारण कैलाली सर्नुपरेको थियो । निर्वाचन क्षेत्र नं ४ मा नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री लेखराज भट्टलाई पराजित गर्दै बलायर निर्वाचित हुनुभएको हो ।

त्यसैगरी कैलाली निर्वाचन क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टीका नेता गङ्गाराम चौधरी निर्वाचित हुनुभएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार चौधरीले सत्ता गठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्रका नेता कृष्णकुमार चौधरीलाई पराजित गर्नुभएको छ । कैलालीमा निर्वाचन क्षेत्र नं १, २ र ५ को गणना भइरहेको छ । त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार पूर्वमन्त्री नारायणप्रकाश साउद निर्वाचित हुनुभएको छ ।

नेपाली कांग्रेसका नेता साउदले नेकपा (एमाले) का नेता नरबहादुर धामीलाई पराजित गर्दै आफू निर्वाचित हुनुभयो । विसं २०७४ को निर्वाचनमा एमाले उम्मेदवार धामीसित पराजित गर्नुभएका कांग्रेस नेता साउद २०७० सालमा पनि निर्वाचित हुनुभएको थियो ।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा पनि नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश लेखक फराकिलो मतान्तरले निर्वाचित हुनुभएको छ । नेकपा (एमाले)का उम्मेदवार निरुदेवी पाललाई पराजित गर्दै सत्ता गठबन्धनका उम्मेदवार लेखक यहाँबाट तेस्रो पटक निर्वाचित हुनुभएको छ ।

नेता लेखक २०७४ सालको निर्वाचनमा एमालेका उम्मेदवार डा दीपकप्रकाश भट्टसित झिनो मतले पराजित हुनुभएको हो । तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा अहिले निर्वाचन क्षेत्र नं १ को गणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएकी माओवादी केन्द्रकी नेता बिना मगर जारी गणनामा पछि पर्नुभएको छ ।

नेकपा (एमाले)का उम्मेदवार पूर्व प्रदेश सरकारका मन्त्रीसमेत रहनुभएका तारालामा तामाङले यहाँ सुरुवातदेखि अग्रता लिनुभएको छ । निर्वाचन क्षेत्र नं १ मा यसअघि माओवादी केन्द्रकी नेत्री बिना मगर निर्वाचित हुनुभएको थियो ।

त्यसैगरी दुई निर्वाचन क्षेत्र रहेको अछाममा सत्ता गठबन्धनका दुवै उम्मेदवार निर्वाचित हुनुभएको छ । अछाम निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका नेता एवं श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवर निर्वाचित हुनुभएको छ । सो निर्वाचन क्षेत्रमा नेकपा (एमाले) बाट झपट बोहरा उम्मेदवार हुनुहुन्थ्यो । उक्त क्षेत्र नेकपा (एमाले)का नेता डा भीम रावलको क्षेत्र पनि हो । त्यसैगरी अछाम निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार तथा कांग्रेस नेता पुष्पबहादुर शाह निर्वाचित हुनुभएको छ ।

यहाँ कांग्रेस नेता शाहले एमालेका उम्मेदवार यज्ञबहादुर बोगटीलाई पराजित गरी २३ वर्षपछि उक्त क्षेत्रमा कांग्रेसलाई विजयी बनाउनुभयो ।

त्यसैगरी डोटी र बझाङमा पनि सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका एकीकृत समाजवादीका नेताद्धय प्रेम आले र भानुभक्त जोशी निर्वाचित हुनुभएको छ । डोटीमा पूर्वमन्त्री आलेले नेकपा (एमाले)का उम्मेदवार गौरी ओलीलाई पराजित गर्दै जितलाई निरन्तरता दिनुभयो । यसअघि पनि उहाँ डोटीबाटै निर्वाचित हुनुभएको थियो ।
यता बझाङमा एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री भानुभक्त जोशीले नेकपा (एमाले) का उम्मेदवार युवा नेता ऐन महरलाई पराजित गर्नुभयो ।

त्यसैगरी सुदूरपश्चिमको अर्को पहाडी जिल्ला दार्चुलामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडू निर्वाचित हुनुभयो । सत्ता गठबन्धनबाट उम्मेदवार रहनुभएका मन्त्री बडूले नेकपा (एमाले) का उम्मेदवार पूर्वमन्त्री गणेशसिंह ठगुन्नालाई पारजित गर्नुभयो ।

विसं २०७० मा एमाले नेता ठगुन्नासित नै पराजित हुनुभएका मन्त्री बडू विसं २०७४ मा भने समानुपातिक सांसद हुनुहुन्थ्यो । त्यसैगरी बैतडीमा प्रतिनिधिसभाको मतगणना जारी छ । यहाँ सत्ता गठबन्धनबाट माओवादी केन्द्रका नेता नरेन्द्र कुँवर र नेकपा (एमाले) का उम्मेदवार पूर्वमन्त्री दामोदर भण्डारीबीच प्रतिस्प्रर्धा भइरहेको छ ।

त्यसैगरी सुदूरपश्चिमको विटक पहाडी जिल्ला बाजुरामा भने मतदानका दिन विभिन्न स्थानमा आक्रमणलगायत तनाव भएपछि मतदान प्रक्रिया नै अघि बढेको छैन् । निर्वाचनको दिन यहाँ मतदानका क्रममा झडप हुँदा एक जनाको गोली प्रहार र अर्का एक युवकको कुटपिटबाट मृत्यु भएपछि चार दिनयता त्यहाँको अवस्था सामान्य हुनसकेको छैन् । बाजुरामा पनि एक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र छ । यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सह–महामन्त्री बद्रीप्रसाद पाण्डेय उम्मेदवार हुनुहुन्छ भने नेकपा (एमाले)बाट पूर्वमन्त्री कर्ण थापा उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *