Main News

नेता रमेश लेखक : तेस्रो पटक संसदमा

२०७९ मंसिर ८ गते ७:३१
नेता रमेश लेखक : तेस्रो पटक संसदमा

८ मंसिर २०७९ काठमाडौं । लोकतान्त्रिक वाम गठबन्धनका साँझा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले तेस्रो पटक सङ्घीय संसद्, प्रतिनिधिसभामा विजयी हुनुभएको छ । उहाँ कञ्चनपुर–३ बाट १२ हजार मतान्तरसहित निर्वाचित हुनुभएको हो ।

उहाँले नेकपा एमालेकी निरुदेवी पाललाई १२ हजार ७५ मतले पराजित गर्दै लेखक निर्वाचित हुनुभएको हो । विसं २०२० मा बैतडीमा जन्मिनुभएका लेखकले ३० हजार पाँच सय २३ मत प्राप्त गर्नुभएको हो । त्यसैगरी पालले १८ हजार चार सय ४८ मत प्राप्त गर्नुभयो । लेखक यसअघि २०५६ र २०७० सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुुनुभएको थियो । उहाँ २०७४ सालको निर्वाचनमा भने नेकपा (एमाले) का नेता दिपकप्रकाश भट्टसँग पराजित हुनुभएको थियो ।

नेता लेखक विसं २०३७ मा आइएस्सी पढ्दै गर्दा नेविसङ्घको तर्फबाट स्ववियु सभापतिमा चुनावमा प्रतिस्पर्धा गर्नुभयो र पराजित हुनुभएको थियो । यसपछि लेखक भारतको लखनँउ विश्वविद्यालय पुगे । उहाँले भारतबाट बिए, एमए र एलएलबी (कानुन) को अध्ययन पूरा गर्नुभएको छ । विसं २०४८ मा नेता लेखक नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सचिव हुँदै २०४८ देखि ०५६ सम्म कांग्रेस कञ्चनपुरको दुई कार्यकाल सचिव रहनुभएको थियो ।

विसं २०६२ को संसद् स्थापनापछि नेता लेखकले सुरुमा श्रमराज्यमन्त्री र त्यसपछि श्रममन्त्री बन्नुभएको थियो । तत्कालीन माओवादी संग विस्तृत शान्ती सम्झौता गर्न पनि नेता लेखकले सदस्यको हैसियतबाट महत्वपूर्ण कार्य गर्नुभएको थियो । त्यसपछि नेता लेखक ०६४ को आम निर्वाचनमा प्रत्यक्ष नभइ पार्टीबाट समानुपातिकमा निर्वाचन लड्नुभएको थियो ।

विसं २०७० मा चुनाव जिते पछि नेता लेखक भौतिक पूर्वाधार तथा योजना मन्त्री बन्नुभएको थियो । त्यस समयमा नेता लेखकले महाकाली नदीमा चार लेनको पक्की पुल, नेपाल, भारत र चीन जोड्ने महाकाली करिडोरको महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *