Main News

सुर्खेत–२ : मा कांग्रेसका थानी विजयी

२०७९ मंसिर ७ गते ७:५४
सुर्खेत–२ : मा कांग्रेसका थानी विजयी

७ मंसिर २०७९ सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका हृदयराम थानी विजयी हुनुभएको छ ।

उहाँ ३४ हजार छ सय २५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार पाँच सय ५८ मत प्राप्त गर्नुभएको छ । थानीले एमालेका जिल्ला अध्यक्षसमेत रहनुभएका अमृतबहादुर बुढाक्षेत्रीलाई पाँच हजार ६७ मतान्तरले पराजित गर्नुभएको छ ।

थानीले योसँगै तीनपटक प्रतिनिधिसभा सदस्यमा जित हासिल गर्नुभएको छ । विसं २०७४ मा एमालेका नवराज रावतसँग उहाँ पराजित हुनुभएको थियो । रावतले ३७ हजार चार सय ४७ मत ल्याएर निर्वाचित हुँदा थानीले २८ हजार छ सय ४६ मत प्राप्त गर्नुभएको थियो । थानी यसअघि विसं २०५६ र २०७० मा यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो भने सहकारी तथा गरिबी निवारणमन्त्री भइसक्नुभएको छ ।

सुर्खेत १ मा कांग्रेस उपसभापति खड्काको सुरुआती अग्रता
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यमा सुरुआती अग्रता लिनुभएको छ । सुर्खेत–१ मा मङ्गलबार राति १२ बजेबाट मतगणना सुरु भएको थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार तीन हजार दुई सय ३८ मतगणना हुँदा खड्काले एक हजार सात सय ७२ मत प्राप्त गर्नुभएको छ । यस्तै नेकपा (एमाले)का ध्रुवकुमार शाहीले एक हजार तीन सय ५५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै राप्रपाका छत्रपति थापाले ६६ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका मोहम्मद हसरत अलीले १७ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभातर्फ पनि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारले सुरुआती अग्रता लिनुभएको छ । प्रदेशसभा (१) तर्फ नेपाली कांग्रेसका उम्मेदवार खड्क पोखरेलले दुई हजार दुई मत प्राप्त गर्नुभएको छ भने एमालेका ठम्मर विष्टले एक हजार तीन सय २६ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा (२)बाट लोकतान्त्रिक–वाम गठबन्धनका कृष्ण जिसी ‘जितेन्द्र’ अगाडि हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जिसीले एक हजार एक सय ७८ मत प्राप्त गर्नुभएको छ भने एमालेका डण्डीप्रसाद शर्माले नौ सय २९ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *