Main News

निर्वाचनको समयमा नक्कली नोट र स्रोत नखुलेको रकमको बिगबिगी (भिडियो रिपोर्टसहित)

२०७९ मंसिर २ गते २०:२९
निर्वाचनको समयमा नक्कली नोट र स्रोत नखुलेको रकमको बिगबिगी (भिडियो रिपोर्टसहित)

२ मंसिर २०७९ काठमाडौं । प्रायः निर्वाचनको बेला स्रोत नखुलेका रकमको अधिक कारोबार हुनेगर्छ, सँगसँगै नक्कली नोटको बिगबिगी पनि ।

पछिल्ला दिनहरुमा छिटपुट रुपमा स्रोत नखुलेका र नक्कली नोटहरु बजारमा भेटिन थालेका छन् । अघिल्ला निर्वाचनका अनुभवलाई हेरेर प्रहरीले यसपालिको निर्वाचनमा त्यस्ता गतिविधिहरु नहोस् भनेर विशेष सतर्कता अपनाएको छ।

प्रहरीले कात्तिक २६ गते रौतहटबाट ८७ हजार नक्कली नोटसहित नक्कली नोटको कारोबार गर्ने गिरोहलाई नियन्त्रणमा लियो । त्यसको केही दिन अघि बाराको छुट्टाछुट्टै दुई स्थानबाट १० लाख नक्कली नोट सहित ४ जनालाई पक्राउ गरेको थियो ।

काठमाडौं कै गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीबाट पनि ८४ हजार नक्कली नोटसहित ५ जना कारोबारी पक्राउ परे । यसले पछिल्लो समय बजारमा नक्कली नोटको कारोबार बढेको देखाउँछ । विशेष गरी चाडपर्व र निर्वाचनका बेला यस्तो कारोबारी सक्रिय हुने गरेको देखिन्छ । यस्ता गिरोहबाट बच्न कारोबार गर्दा निकै सजक हुन नागरिकलाई प्रहरीको आग्रह छ ।

यतीमात्र होइन निर्वाचनका बेला अवैध कारोबार समेत बढ्ने गरेको तथ्यांक पनि प्रहरीसँग छ । कात्तिक महिनामा मात्रै प्रहरीले मुलुकका विभिन्न स्थानबाट १ करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकम बरामद गरिसकेको छ ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा औपचारिक रुपमा सरकार र उम्मेदवारहरुका तर्फबाट ३५ अर्ब रुपैयाँ खर्च हुने देखिन्छ । तर निर्वाचनमा करिब १ खर्ब रुपैयाँभन्दा माथि खर्च हुने आँकलन गरिएको छ । त्यसमा अधिकांश स्रोत नखुलेको रकमको कारोबार हुने गरेको ओपन सेक्रेट जस्तै रहेको जानकार बताउँछन् ।

यती धेरै कारबार रकम बैंकिङ च्यानलमा ल्याए निर्वाचन आयोगले तोकेको सीमा नाघ्ने र अनियमितता प्रमाणित हुने भयका कारण दल र उम्मेदवारले अवैध च्यानलबाट खर्च गर्ने गरेको देखिन्छ ।

यसरी आउने रकम हुन्डी, खुला सिमानाका लगायतबाट आताय हुने गरेको देखिन्छ । प्रहरीले नियन्त्रणको प्रयास गरेपनि अनौपचारिक ढंगबाट आएको रकमको अवेध कारोबारले चुनावअधिको बजार गर्माएको मात्रै होइन दल र उम्मेदवारको नैतिकतामाथि पनि प्रश्न उठाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *