सडक कालोपत्रे नहुँदा हिउँदमा धुलो बर्खामा हिलोको सास्ती (भिडियो रिपोर्टसहित)

२ मंसिर २०७९ बागलुङ । मध्य पहाडी लोकमार्ग अझै पनि निर्माण सकिएको छैन । सडक कालोपत्रे नहुँदा लोकमार्गमा हिउँदमा धुलो उड्ने र वर्षामा हिलो हुने अवस्था अन्त्य भएको छैन ।
निर्वाचनको समयमा उम्मेदवार चुनावी एजेन्डा बनाएर मतदाता माझ पुगेपनि अहिलेसम्म लोकमार्ग नबन्दा नागरिकले भोग्ने समस्या ज्यूँ का त्यूँ छ ।
बागलुङको काठेखोला गाउँपालिका–१ पालाको सडक । मध्यपहाडी लोकमार्गबाट उडेको धुलोले आजित भएर मध्यपहाडी लोकमार्गमा स्थानीय पानी हाल्दै छन् । वर्षाको समयमा हिलो र हिउँदको समयमा लोकमार्गबाट उडेको धुलोले बस्नै नसक्ने अवस्था रहेको नागरिकको गुनासो छ ।
सांसद लगायतका उच्च पदस्त व्यक्ति यही बाटो भएर हिड्ने गरेपनि कालोपत्रे गर्नका लागि कसैले पनि चासो नदिएको बागलुङबासीको गुनासो छ । २०७४ को निर्वाचनमा मध्यपहाडी लोकमार्ग कालोपत्रे गर्ने एजेण्डा बोकेर बागलुङ क्षेत्र नम्बर १ बाट नेकपा एमालेबाट सांसद बनेका डा। सूर्य पाठक यस पटक पनि चुनावी मैदानमा हुनुहुन्छ । एक कार्यकाल सांसद बनिसकेका डा। पाठक पुनः पुरानै एजेण्डा बोकेर मतदाता फकाउदै गर्दा मध्यपहाडी लोकमार्गको समस्या भने ज्यूँका त्यूँ छ ।
लोकमार्गमा कालोपात्रे नहुँदा यात्रुहरु जोखिम मोलेर ओहोर–दोहोर गर्न बाध्य छन् । लोकमार्ग समयमै कालोपत्रे नहुँदा ज्यानकै जोखिम त छँदैछ यात्रु बढी भाडा तिर्न समेत बाध्य छन् । २०५६ सालबाट निर्माण थालिएको यो सडक ट्रयाक खुलेको दुई दशकसम्म पनि कालोपत्रे हुन सकेको छैन ।
लोकमार्गको उपल्लाचौरदेखि बिहँसम्म भारत–सिद्धिसाई जेभीले १३ किलोमिटर कालोपत्रे गर्ने भनि २०७३ माघ १४ गते र बिहँ–घोडाबाँधे खण्ड एमपीरएससिएफरइसिसी जेभीले १२ किलोमिटर २ वर्षमा कालोपत्र गर्ने भनि २०७२ माघ १० मा ठेक्का सम्झौता गरेका थिए । लोकमार्गले २४ जिल्ला छोएको छ । लोकमार्गको एक हजार ७ सय ८६ किलोमिटरको दुरी छ । जसमध्य सबैभन्दा धेरै बागलुङ खण्डमा १ सय ३४ किलोमिटर पर्दछ ।
प्रतिक्रिया