राजनीति

चुनाव प्रचार: यादव, ठाकुर र राउत आफ्नै निर्वाचन केन्द्रमा खुम्चिए (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक २९ गते २१:००
चुनाव प्रचार: यादव, ठाकुर र राउत आफ्नै निर्वाचन केन्द्रमा खुम्चिए (भिडियो रिपोर्टसहित)

२९ कात्तिक २०७९ काठमाडौं । सामान्यतया निर्वाचनमा पार्टीका प्रमुख नेता आफ्नो निर्वाचन क्षेत्रसँग पार्टीका अन्य उम्मेदवारले आयोजना गर्ने चुनावी सभामा पनि सहभागी हुनुपर्ने हो । तर, मधेस केन्द्रित दलका प्रमुख नेताहरु यो पटकको निर्वाचनमा आफ्नै निर्वाचन क्षेत्रमा खुम्चिएका छन्।

जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यका लागि मैदानमा हुनुहुन्छ । कात्तिक १९ गते पार्टीको घोषणापत्र सार्वजनिक गर्न काठमाडौं आएका अध्यक्ष यादव त्यसयता आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त हुनुहुन्छ ।

जसपाले कतै नेकपा एमालेसँग तालमेल गरेर त कतै एकल उम्मेदवारी दिएकोछ । जसपाले प्रतिनिधिसभाका लागि ८१ स्थान र प्रदेशसभाका लागि १ सय ४५ स्थानमा उम्मेदवार प्रतिष्पर्धामा उतारेको छ । ती मध्ये एकाध स्थानबाहेक अन्य ठाउँमा अध्यक्ष यादव जानुभएको छैन ।

यादवले उम्मेदवारी दिएको सप्तरी २ मा राजविराज नगरपालिका, महादेवा गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र छिन्नमस्ता गाउँपालिका पर्छ । यी मध्ये राजविराजमा मात्रै जसपाका उम्मेदवार प्रमुखमा विजयी भए । यहि कारण पनि उहाँलाई यो क्षेत्रमा जित्न चुनौतिपूर्ण हुने भएकाले आफ्नै क्षेत्रमा केन्द्रित हुनुभएको आँकलन गरिएको छ । यादवसँग जनमत पार्टीका अध्यक्ष सीके राउत, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर प्रतिष्पर्धामा हुनुहुन्छ ।

जसपाका अध्यक्ष यादव मात्रै होइन, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि आफ्नै लागि मात्र मत माग्न व्यस्त हुनुहुन्छ । महोत्तरी ३ बाट प्रतिनिधिसभा उम्मेदवार भएका ठाकुर आफ्नै क्षेत्रमा कडा प्रतिस्पर्धा हुने भएपछि अन्य क्षेत्रको कार्यक्रममा नगएको लोसपाका नेताहरु बताउँछन् ।

यस क्षेत्रमा जसपाले पूर्व कृषिमन्त्री हरिनारायण यादवलाई उम्मेदवार बनाएको छ भने कुनै बेला ठाकुरलाई दरिलो साथ दिएका वृषेशचन्द्र लालले तराई–मधेस लोकतान्त्री पार्टीबाट उम्मेदवारी दिनुभएको छ । यहि कारण पनि ठाकुरले यो निर्वाचनलाई कठिन परीक्षाका रुपमा लिएको लोपसा नेता बताउँछन् । अन्य नेताले पनि अध्यक्ष ठाकुरलाई आफ्नै क्षेत्रमा सकस पर्ने भएकाले चुनावी प्रचारमा डाक्न सकेका छैनन् ।

यादव र ठाकुरलाई मधेसको मुद्दालाई संस्थागत गर्न नसकेको आरोप लगाउँदै आएका जनमत पार्टीका अध्यक्ष राउत पनि धेरैजसो आफ्नै क्षेत्रमा व्यस्त हुनुहुन्छ । मधेसको वैकल्पिक पार्टीका रुपमा उदाएको जनमतले प्रतिनिधिसभातर्फ ५५ र प्रदेशसभा ९२ स्थानमा उम्मेदवारी दिएको छ ।

अध्यक्ष राउत सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुनुभएको छ । जहाँ जसपा अध्यक्ष यादव पनि उम्मेदवार हुनुहन्छ । जसपा अध्यक्ष यादव र लोसपा अध्यक्ष ठाकुर भन्दा उहाँ बढी सक्रिय देखिनुभएको छ । उहाँ आफ्नो निर्वाचन क्षेत्रसँगै धनुषा, सिरहा, कपिलवस्तु, रुपन्देहीमा आयोजना हुने चुनावी सभामा पनि सहभागी हुनुभयो।

जसपा अध्यक्ष यादव र लोसपा अध्यक्ष ठाकुरलाई मतदाताको पनि थेगिनसक्नु गुनासो आउन थालेका छन् । २०७२ को संविधानमा मधेसका मुद्दा ओझेलमा परेको र त्यसलाई संविधानमा अटाउने आश्वासन दिएर २०७४ को निर्वाचनमा दुवै नेता निर्वाचित भएका थिए । पाँच वर्षमा दुवै अध्यक्षले सरकारको चास्नीमा मधेसका मुद्दा साटेको आरोप छ । त्यसैले आसन्न निर्वाचनमा पार्टी भन्दा आत्मरक्षामा मधेसका प्रमुख नेताहरु देखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्