महिला हिंसा: ‘शिक्षित’ र ‘सम्भ्रान्त’ नै पीडक (भिडियो रिपोर्टसहित)
२९ कात्तिक २०७९ काठमाडौं । विवाहलाई जीवनको सुन्दर पाटो भनिन्छ । धेरैले वैवाहिक जीवनमा माया र प्रेमको अनुभूति गर्ने भए पनि, कतिपयका लागि विवाह पीडा र आँशुको भेल हुने गरेको छ ।
महोत्तरी औरहियाकी नेहा चौधरीले विवाहको छोटो समयमै भोगेको कहालीलाग्दो हिंसाले सबैलाई सोच्न बाध्य बनाएको छ । दाइजोका कारण आफ्नो घरपरिवार र पतिको प्रताडनाले नेहा चौधरीलाई विक्षिप्त बनाएको छ । नेहाले सामाजिक सञ्जालमार्फत घटना सार्वजनिक गरेपछि धेरैलाई थाहा भयो ।
नेहा मात्रै हैन, दाइजोको कारण हिंसा भोग्ने महिलाको संख्या ठूलो भएको अनुमान गर्न सकिन्छ । राष्ट्रिय महिला आयोगमा यो वर्ष मात्रै दाइजोका कारण भएका २० वटा हिंसाका घटना आइपुगेका छन् ।
घरपरिवारलाई पुग्ने दाइजो नदिएकै कारण महिलाले मानसिक र शारीरिक हिंसा भोग्नुपर्दा न्यायको खोजीमा महिला आयोग पुगेका हुन् । दाइजो नपाएको भन्दै हिंसा गर्नेमा शिक्षित र सम्भ्रान्त परिवारनै छन् ।
तराईका विभिन्न जिल्लामा दाइजोकै कारण हुने हिंसा बढ्दो भए पनि, महिला आयोगसम्म थोरै मात्र उजुरी परेको महिला आयोगको भनाइ छ । दण्डहिनताका कारण दाइजोका कारण महिलामाथि हुने हिंसा रोकिएको छैन ।
संविधानमा नै हिंसाविरुद्धको हकलाई मौलिक हकको मान्यता दिएको छ । कुनै पनि महिलाविरुद्ध शारीरिक, मानसिक वा अन्य किसिमको हिंसा गरिने छैन र त्यस्तो कार्य कानूनी रुपमा दण्डनीय हुने उल्लेख छ ।
प्रथा, परम्परा र प्रचलनको नाममा कुनै पनि किसिमले कसैलाई शोषण गर्न नपाईने उल्लेख छ । तर यहाँ तिनै संविधान र कानूनलाई बुझेकाहरु नै हिंसामा संलग्न देखिन्छन् ।
प्रतिक्रिया