राजनीति

कमल थापाले किन गरे ओलीको भक्तिगान ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक २८ गते २१:४७
कमल थापाले किन गरे ओलीको भक्तिगान ? (भिडियो रिपोर्टसहित)

२८ कात्तिक २०७९ मकवानपुर । सूर्य चिह्न लिएर मकवानपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले अचेल एमाले अध्यक्ष केपी ओलीको प्रशंसामा आफूलाई केन्द्रित गर्नुभएको छ ।

राजनीतिक सिद्धान्त, विचार र एजेण्डासमेत फरक रहेका थापाले ओलीलाई किन आइडल बनाउने प्रयास गरिरहनु भएको छ ?

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सोमबार बिहानै एक ट्विट गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नै देशको हितमा रहने जिकिर गर्नुभयो । नाकाबन्दीविरुद्ध लड्ने र लिम्यिाधुरालाई समेटेर नक्सा जारी गर्ने आँट ओलीमा मात्रै भएको भन्दै सत्तारुढ गठबन्धनभन्दा ओली नेतृत्वकै सरकार देशको हितमा हुने उहाँको दाबी छ ।

यसअघि शनिबार पनि मकवानपुर क्षेत्र नम्बर–१ को चुनावीसभामा थापाले ओलीको प्रशंसामा लामै समय खर्चिनु भएको थियो । राष्ट्रियता बोक्न सक्ने, देशलाई संकटबाट मुक्त गर्ने, सिके राउत र विप्लवलाई शान्तिपूर्ण वार्तामा ल्याउने काम गरेकाले ओली महान नेता भएको थापाको जिकिर थियो ।

२०७२ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका आधा दर्जन उपप्रधानमन्त्री मध्येका एक थापा ओलीप्रति प्रायः नरम नै देखिनुहुन्छ । २०७५ पुस ५ गते तत्कालीन प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा संसद विघटन गर्दा पनि थापाले ओलीको खुलेआम प्रशंसा गर्नुभएको थियो ।

त्यसो त थापाले २०७४ सालमा माओवादीले एमालेसँग चुनावी गठबन्धन गरेपछि कांग्रेस नेतृत्वको सरकारको पनि रस्वादान गर्नुभएकै हो । तर ओलीसँगको सहकार्यमा राम्रै मुनाफा निकालिरहेका थापालाई कृतघ्न हुनु पर्ने पनि के नै छ र ?

गत वर्षको मंसिरमा आफैले गरेको पार्टीको महाधिवेशनबाट अध्यक्ष पदमा आफै पराजित भएपछि सम्हालिन नसकेका थापाले आफैले गरेको प्रण र खाएको गीताको कसम बिर्सेर राप्रपा पार्टी छोडेर नयाँ पार्टी खोल्नुभयो । उहाँले आफ्नो हारको दोष पूर्वराजा ज्ञानेन्द्रमाथि थोपर्दै राजतन्त्रको मुद्दा नै त्याग्नुभयो ।

मुलुक संघीय गणतन्त्रमा गएको डेढ दशकसम्म राजतन्त्रको मुद्दा बोकेर ब्याज खाइरहेका थापा एउटा पराजयबाटै विचलित भएर हार स्वीकार गर्न नसक्ने अवस्थामा पुग्नुभएको थियो । यतिबेला राजतन्त्रको मुद्दाबाट धेरै टाढा पुगिसकेका थापा आफ्नो वर्षौसम्मको पराजयको शिलशिला तोड्न एमालेकै चुनाव चिह्न लिएर मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भिड्दै हुनुहुन्छ । यो क्षेत्र वर्षौँदेखिको वामपन्थीको गढका रुपमा परिचित छ ।

एमाले अध्यक्ष ओलीले आफ्ना नेता कार्यकर्तालाई रुष्ट बनाउँदै चुनाव चिह्नसहित थापालाई नै टिकट दिएपछि मकवानपुरमा पुगेर ओलीको गुणगान गरिदिनुपर्ने बाध्यतामा अहिले थापा हुनुहुन्छ । जिल्लामा देखिएको नेतृत्वप्रतिको चरम असन्तुष्टिको सोझो प्रभाव मतदानमा पनि पर्ने भएपछि ओली र समग्रमा एमालेकै भक्तिगान गाउनुको विकल्पसमेत थापासँग देखिँदैन ।

रहस्य त थापाले गर्ने भक्तिगानमा भन्दा ओलीले देखाएको अगाध स्नेहमा बढी देखिन्छ । आफ्नो पार्टीका सक्रिय नेता कार्यकर्तालाई बाइपास गरेर बलियो आधार रहेकै जिल्लामा ओलीले थापालाई बोक्नु भएको छ ।

कुनै समय राजतन्त्र वा पञ्चायतविरुद्ध १४ वर्ष जेल बसेको बायोडाटा बोकेर पकटपटक सिंहदरबारको नेतृत्व सम्हालेका ओलीले अहिले तिनै तन्त्र र व्यवस्थाका बाछिटाहरुलाई बोकेर हिँड्नु चाँहि धेरेका लागि आश्चर्यको विषय बनेको छ । आफ्नो नेतृत्वपन्थीको आलोचना गरेकै भरमा भीम रावल, घनश्याम भुसालहरुलाई पाखा लगाउन तयार हुने ओलीले डेट एक्सपाएर भए पनि आयातित औषधिकै भर गर्नु भित्तो फोडेर छोरो तर्साउनु पो हो कि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्