राजनीति

कलाकारको राजनीति मोह, को-को छन् चुनावी संग्राममा ?(भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक २८ गते २१:१६
कलाकारको राजनीति मोह, को-को छन् चुनावी संग्राममा ?(भिडियो रिपोर्टसहित)

२८ कात्तिक २०७९ काठमाडौं । पछिल्लो समय राजनीतिमा कलाकारको संलग्नता बढेको मात्र छैन ठूला तथा साना पर्दाका कलाकारहरु चुनावी प्रतिस्पर्धामै उत्रिएका छन् ।

आसन्न निर्वाचनमा पनि केही प्रख्यात कलाकारहरुको रोचक चुनावी प्रतिस्पर्धा देखिने भएको छ । कलाकारहरुको चुनावी मैदान कस्तो छ त ? यो हेरौं ।

उहाँ, चर्चित अभिनेत्री मनिषा कोइराला । चुनावी मैदानमा उम्मेदवार नभए पनि पछिल्ला दिनमा उहाँको राजनीतिक सक्रियता बढेको छ । उहाँ यतिवेला राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि मत माग्न व्यस्त हुनुहुन्छ । विरासतले कांग्रेस संस्थापक नेता वीपीकी नातिनी मनिषा अहिले राप्रपासँग जोडिनुभएको छ ।

मनिषा मत माग्दै हिड्दा अन्य चलचित्रकर्मी, संगीतकार, हाँस्यअभिनेता, चलचित्र निर्माता, निर्देशकसम्म चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।

अभिनेत्री रेखा थापा मोरङ क्षेत्र नम्बर ३ बाट राप्रपाकी उम्मेदवार हुनुहुन्छ । बाम किल्ला मानिने यो क्षेत्रमा एमालेबाट भानुभक्त ढकाल र सत्ता गठबन्धनबाट कांग्रेसका सुनिल शर्मा मैदानमा हुनुहुन्छ ।

मनोज पण्डित
प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका अर्का चर्चिच चलचित्रकर्मी हुनुहुन्छ मनोज पण्डित । राजनीतिक फिल्ममा सफल देखिएका निर्देशक तथा निर्माता पण्डितले काभ्रे क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिनु भएको छ । उहाँ नेकपा एमालेका गोकुल बास्कोटा र गठबन्धनका उम्मेदवार शिव हुमागाईंसँग चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

कोमल वली
चुनावी मैदानमा उत्रिएकी अर्की चर्चित अनुहार हुनुहुन्छ, कोमल वली । राष्ट्रियसभा सदस्यसमेत रहिसकेकी वली दाङ क्षेत्र नम्बर ३ बाट एमाले उम्मेदवार हुनुहुन्छ । पूर्वसञ्चारकर्मीसँगै चर्चित गायिका वलीले सत्ता गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेस नेता दीपक गिरीसँग प्रतिष्पर्धा गर्दै हुनुहुन्छ ।

मुरलीधर
कुनै समयका चर्चित गायक तथा अभिनेता मुरलीधर सिरहा–२ बाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । राप्रपाबाट उम्मेदवारी दिएका मुरली मिजारले नेपाली कांग्रेसकी चित्रलेखा यादव तथा जनता समाजवादी पार्टीका राजकिशोर यादवसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

हिमेश पन्त
राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका हिमेश पन्त स्ट्याण्डअप कमेडियन हुनुहुन्छ । पन्तले बागमती प्रदेशका मुख्यमन्त्री समेतरहेका सत्ता गठबन्धनकाका उम्मेदवार एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डे र एमालेका भूमि त्रिपाठीसँग प्रतिष्पर्धा गर्नुपर्ने छ ।

मधुसुधन पाठक (सिते बा)
हाँस्य कलाकार मधुसुधन पाठक ‘सीते बा’ समेत हाम्रो नेपाली पार्टीको लौरो अभियानबाट उम्मेदवार हुनुहुन्छ। काठमाडौं क्षेत्र– ५ का पाठकले सत्तारुढ गठबन्धनबाट कांग्रेसका प्रदीप पौडेल र एमालेका ईश्वर पोखरेल लगायतका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

कला क्षेत्रबाट राजनीतिमा होमिएका कलकारहरुको संख्या उच्च छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा आबद्ध गायक संजय श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । लोकदोहोरी गायक मिलन लामा अर्थात् विष्णु लामा पनि सांसद बन्ने दौडमा चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यतर्फ स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । यी बाहेक प्रतिनिधिसभा र प्रदेशसभाका विभिन्न क्षेत्रमा स्वतन्त्र रुपमा उम्मेदवारी दिने कलाकारको संख्या धेरै देखिन्छ ।

गत स्थानीय तह निर्वाचनमा र्‍यापर बालेन साहलाई काठमाडौंका मतदाताले मेयर पदमा जिताएपछि कलाकारमा राजनीति मोह अझै बढेको देखिन्छ । त्यसो त नेपालमा मात्र नभएर भारतमा राजनीतिमा आउने कलाकारको संख्या ठूलो छ । यसको प्रत्यक्ष प्रभाव पनि नेपाली राजनीतिमा देखिएको अनुमान लगाउन कठिन छैन । तर कलाकारितबाट लोकप्रिय भएकै भरमा मतदाताको मन जित्न कति सहज छ त्यो बुझ्न भने निर्वाचन परिणाम नै आउनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्