Main News

ओलीले दाबी गरेअनुसार एमाले पहिलो पार्टी बन्ने आधार के छन् ? (भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक २७ गते २०:४१
ओलीले दाबी गरेअनुसार एमाले पहिलो पार्टी बन्ने आधार के छन् ? (भिडियो रिपोर्टसहित)

२७ कात्तिक २०७९ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गर्दै आउनु भएको छ ।

कतिपय आमसभाहरुमा त ओलीले एमालेले १ सय ५० सिट जित्ने दाबी गर्नु भएको छ । ओलीले दाबी गरेजस्तै आगामी निर्वाचनमा एमालेको जित सहज छ त ?

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेका थिए । दुवै दलको मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस थियो । एमाले र माओवादी केन्द्रको तालमेल सफल पनि भयो । १ सय ६५ निर्वाचन क्षेत्रमा एमालेले ८० सिटमा जित हासिल गर्दा माओवादी केन्द्रले ३६ सिट जित्यो भने २३ सिटमा खुम्चिएको कांग्रेस प्रत्यक्षतर्फ तेस्रो स्थानमा धकेलियो ।

मंसिर चार गतेका लागि तोकिएको निर्वाचनमा भने परिस्थिति ठिक उल्टो छ । ७४ सालको निर्वाचनमा एमालेसंग तालमेल गरेको माओवादी केन्द्र अहिले नेपाली कांग्रेसको साथमा छ । यति मात्रै नभएर एमालेबाट चोइटिएर बनेको एकीकृत समाजवादी पार्टी पनि माओवादी केन्द्र र नेपाली कांग्रेससंगै गठबन्धन गरेर निर्वाचनमा होमिएको छ । यसको अर्थ आगामी निर्वाचनमा नेकपा एमालेका लागि मुश्किल पर्ने निश्चित छ तर अध्यक्ष केपी शर्मा ओलीले भने एक्लै बहुमत ल्याउने दाबी छाड्नु भएको छैन ।

गत स्थानीय तहको नतिजा र २०७४ को प्रतिनिधिसभा निर्वाचनलाई विश्लेषण गर्ने हो भने एमाले एक्लैले बहुमत ल्याउन असम्भव जस्तै छ । किनकि त्यतिबेला वाम गठबन्धनसँग कांग्रेसले थोरै मतान्तरले हारेका निर्वाचन क्षेत्र ४३ वटा थिए ।

कांग्रेसले ५ हजारभन्दा कम वा हारामारी मतान्तरले पराजित भएका निर्वाचन क्षेत्र १७ वटा थिए । त्यस्तै ३ हजारभन्दा कम मतान्तरले पराजित भएका क्षेत्र १३ वटा, २ हजारभन्दा कम ४ वटा र एक हजारभन्दा कम मतान्तरले पराजित भएका निर्वाचन क्षेत्र ६ वटा थिए । पाँच सय भन्दा पनि कम मतान्तरले पराजित भएका क्षेत्र ४ वटा थिए ।

कतिपय स्थानमा त एक सयभन्दा कम मतान्तरले पनि नेपाली कांग्रेसका उम्मेदवार पराजय भोग्न बाध्य भएका थिए । यसो त नेकपा एमालेका उम्मेदवारहरु पनि थोरै मतान्तरले पराजित भएका निर्वाचन क्षेत्र पनि थिए । झण्डै १० निर्वाचन क्षेत्रमा एमालेमा उम्मेदवार पाँच सयदेखि पाँच हजार भन्दा कम मतान्तरले पराजित भएका थिए ।

अहिलेको निर्वाचन नेकपा एमालेका लागि भन्दा नेपाली कांग्रेसका लागि बढी अनुकुल देखिन्छ । त्यसैले यो निर्वाचन ओलीले भनेजस्तो सहज नभएको विश्लेषण हुन थालेको छ ।

एकातिर सत्तारुढ दलहरुको गठबन्धन हुनु र स्वतन्त्र उम्मेदवारहरुको प्रभाव पनि राम्रो हुनु एमालेका लागि चुनौती छँदैछ । अर्कोतर्फ झण्डै दुई तिहाई बहुमतसहित सरकारको नेतृत्व गर्ने अवसर पाउँदा पनि ओलीले दुई(दुई पटक संसद विघटन गरेर अपरिपक्वता प्रस्तुत गर्नुले मतदाताले फेरि त्यही तहको विश्वास गर्लान् त भन्ने प्रश्न पनि छ ।

यसो त नेकपा एमालेले पनि राप्रपा, जसपा लगायतका दलहरुसँग केही सिटमा तालमेल गरेको छ तर यतिले मात्रै एकल बहुमतका लागि पर्याप्त नहुन सक्छ । दलहरुले आफूले निर्वाचन जित्छु भन्न त सक्छन् तर विगतका काम र स्थानीय तहमा देखिएको मतपरिणामलाई विश्लेषण गर्ने हो भने ओलीले गरिरहेको दाबी तथ्यगत भन्दा पनि आत्मरतिमा बढी केन्द्रित भएको अनुमान लगाउन गाह्रो छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *