Main News

दलित बस्तीका मतदाता भन्छन् : ‘पानी दिनेलाई भोट’

२०७९ कार्तिक २७ गते १४:४३
दलित बस्तीका मतदाता भन्छन् : ‘पानी दिनेलाई भोट’

२७ कात्तिक २०७९ गलेश्वर । म्याग्दी सदरमुकाम बेनीबजारदेखि ठाडै उकालो अर्थुङ्गे हुँदै सवारीसाधनमा ४५ मिनेटको यात्रा गरेपछि पुगिन्छ बेनीनगरपालिका–५ पुरण्य गाउँ ।

वडा नं ५ को मुख्यगाउँ पुलाचौरदेखि छुट्टै केबल दलितको मात्र बसोबास रहेको यो बस्तीमा एक सय पाँच परिवारको बसोबास छ । यहाँ दुई सय ६० मतदाता छन् ।

अघिपछि राजनीतिक दलका नेताहरु देखा पर्न मुश्किल हुने यो गाउँमा निर्वाचन नजिकिँदै जाँदा म्याग्दीका प्रायः सबै राजनीतिक दलका नेता, कार्यकर्ता र उम्मेदवारको लर्को लाग्ने गरेको छ ।

यहाँ पुग्ने सबै राजनीतिक दल र तिनका उम्मेदवारले विगतका निर्वाचनमा झैँ आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यहाँको मुख्य खानेपानी समस्या समाधान गरिदिने प्रतिबद्धता जनाउने गरेका छन् । स्थानीय भने नेताहरुको वर्षौंदेखिको यो प्रतिबद्धता पूरा नभएको भन्दै यस पटकको निर्वाचनमा गाउँमा जसले पानी ल्याइदिने ग्यारेन्टी दिन्छ उसैलाई मात्र मत दिने निर्णयमा पुगेका छन् ।

चुनावको मुखमा दैनिकजसो विभिन्न दलका नेता भोट माग्न आउने गरेका छन् । अभावै अभावमा गुज्रिएको पुरण्यका समस्या समाधान गर्ने प्रतिबद्धतासहित ढोकाढोकामा आएर नमस्कार गरेका नेताहरूलाई गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन पछि पहिलो पटक गाउँमा देख्न पाएका छन् यहाँका मतदाताले । स्थानीय तहमा भोट माग्न गाउँमा आएका उम्मेदवारले दिएको एउटा आश्वासन पूरा नभएको ६४ वर्षीय पूर्णबहादुर दर्जीले बताउनुभयो ।

“गाउँमा खानेपानीको अभाव छ, विद्यालय बनाउँदा लागेको ऋण तिर्न सकेका छैनौँ, घरघरमा पानी ल्याइ दिन्छौँ भन्ने स्थानीय नेताकै अनुहार बल्ल छ महिनापछि देख्न पाएका छौँ, नेताहरुको बोलीमा विश्वास नै लाग्न छाडिसक्यो”, उहाँले भन्नुभयो ।

एक घण्टाको यात्रा गरी खानेपानी ल्याउनुपर्ने बाध्यता रहेको भन्दै नेताहरूले दलितलाई सधैँ भोट माग्ने मतदाताका रुपमामात्रै प्रयोग गरेको स्थानीयको गुनासो छ । सदरमुकाम नजिकै रहेको यो बस्तीमा न खानेपानी छ न त सबै घरमा शौचालय नै छ । विगतमा जितेका जनप्रतिनिधिका आश्वासनबाट आजित भएका स्थानीयले उल्टै आश्वासन पाउन थालेका छन् । एक गाग्री पानी लिनका लागि एक घण्टाको समय खर्चिन पर्ने समस्यामा यहाँका नागरिक छन् ।

दिसापिसाब गर्नका लागि पाखो वा अर्कैको शौचालयमा पालो पर्खन पर्ने बाध्यता छ । “भोट बटुल्न मात्रै आउँछन्, चुनावमा मात्र नेताहरु हाम्रो वस्तीलाई सम्झन्छन”, दर्जीले भन्नुभयो । उहाँले गाउँमा शिक्षा, स्वास्थ्य खानेपानी, विद्युतलगायत सुविधा पाउन नसकेको उल्लेख गर्दै मत दिएर पठाएकाबाटै वर्षांैदेखि गाउँलाई धोका भएको गुनासो गर्नुभयो ।

बाक्लो बस्ती भएको यस गाउँलाई चुनावका बेला भने राजनीतिक दलका नेताहरुबाट खुब मीठामीठा आश्वास मिल्ने गरेका तर ती आश्वासन कहिल्यै पनि वास्तविकतामा परिणत हुन नसकेको स्थानीय अगुवा हीराबहादुर परियारले बताउनुभयो । “हामीलाई त जुन जोगी आए पनि कानै चिरेको जस्तै भएको छ”, उहाँले भन्नुभयो ।

राजनीतिक दलका लागि भोट बैंककारुपमा प्रयोग भइरहेको भन्दै यसपटक लिखित र समय तोकेर प्रतिबद्धता दिनेलाई नै भोट दिने यहाँका दलित समुदायले निर्णय नै गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *