Main News

चुनावमा थरिथरिका गीत, दलहरूको लाखाैँ खर्च (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक २६ गते २०:४१
चुनावमा थरिथरिका गीत, दलहरूको लाखाैँ खर्च (भिडियो रिपोर्टसहित)

१९ कात्तिक २०७९ काठमाडौं । मानिसको मन मस्तिष्कलाई सहजै उद्वेलित पार्न सक्ने माध्यम हो संगीत । जति नै मिठा शब्दहरुको माला उने पनि सपाट रुपमा बोलिने आवाजभन्दा संगीतबद्ध गरेर प्रस्तुत गरिने सामान्य शब्दहरु पनि सहजै जनजिब्रोमा बस्न सक्छन् ।

नेपाली राजनीतिमा भाषणकलाबाट मन्त्रमुग्ध बनाउने क्षमता भएका कमै व्यक्तिहरुमा पर्नुहुन्छ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । तर आसन्न निर्वाचनका लागि ओलीले आफ्नो बोलीभन्दा पनि संगीतको बढी भर गर्नुभएको देखिन्छ । ओली मात्र होइन निर्वाचन नजिकिँदै गर्दा गीतसँगीतबाट मतदाता तान्ने प्रतिस्पर्धामा सबैजसो दल उत्रिएका छन् ।

यो चाँहि २०७४ को निर्वाचनमा नेकपा एमालेले बनाएको चुनावी गीत हो । लोकप्रिय गायक बद्री पंगेनीको आवाजमा रहेको यो गीतले त्यतिबेला निकै चर्चा पायो । यो कुनै दल विशेषको गीत भए पनि युट्युबमा बैकुण्ठ महतको आधिकारिक च्यानलमा ५७ लाखभन्दा बढीपटक दर्शकले हेरिसकेका छन् ।

नेकपा एमालेले यसपटकको चुनावका लागि कयौँ गीतहरु तयार पारेको छ । अध्यक्ष केपी शर्मा ओलीले दैनिकजसो नयाँ गीत आफ्नो फेसबुकबाट सार्वजनिक गरिरहनु भएको छ ।

त्यसो त ओलीले शुक्रबार राति काठमाडौंको एक रात्रि क्लबमा पुगेर आफ्नो बखानसहितको नयाँ र्याप गीतको बिमोचन नै गर्नुभयो ।

नेपालमा र्याप गीतको प्रचलन अन्य गीतको तुलनामा कम छ तर सबै विधाका संगीत प्रेमीहरुलाई समेट्न अन्य उम्मेदवारले पनि र्याप गीतहरु सार्वजनिक गरिरहेका छन् ।

लोक, सुगम संगीतदेखि र्यापसम्मका जनरामा अहिले सबैजसो पार्टीले चुनावी गीत बनाइरहेका छन् ।
(पाँच वर्ष दिऊँ केपी ओलीलाई)
(अघिअघि प्रचण्ड, पछिपछि हामी नेपाली)
(मंसिर ४, ‘झ्याप्पै भोट हाल्ने हो रूखमां
(नेकपा एसको गीत)
(राप्रपाको गीत)
(राष्ट्रिय स्वतन्त्र पाटीको गीत)

त्यसो त २०४६ सालको जनआन्दोलन र २०६२–६३ को दोस्रो जनआन्दोलनमा पनि माहोल तताउन थुप्रै गीतहरु गाइए ।
‘गाउँगाउँबाट उठ बस्तीबस्तीबाट उठु’ गीत नेपालमा व्यवस्था परिवर्तन आन्दोलनको सर्वकालीन महान गीत बनिरह्यो ।

सांस्कृतिक विविधताले युक्त नेपालमा हरेक जातजाति, भूगोल र समुदायका आफ्ना कला संस्कृति छन् ।पर्वहरुका गीत छन्, भजन छन् ।

दुःखसुख र हाँसो आँशुमा मात्र होइन संगीतलाई सामाजिक सशक्तीकरणका लागि पनि उत्तिकै प्रयोग गरिराखिएको छ । त्यसो त उद्योगीहरुले आफ्ना उत्पादनको विज्ञापनमा समेत संगीतको भरपुर प्रयोग गरिरहकेका छन् । त्यसो हुँदा राजनीतिक दलले मतदातालाई प्रभावित पार्न गीतसंगीतको प्रयोग गर्नु अनौठो कुरै भएन ।

आफ्नो जितका लागि चुनावमा हरेक प्रकारले प्रचारप्रसार गरिन्छ, त्यही प्रचारको एउटा माध्यम गीत बनिरहेको छ ।

अहिलेको अवस्था हेर्ने हो भने नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका ठूला राजनीतिक दलले चुनावका लागि दर्जनौँ गीत तयार पारेको पाइन्छ । यसले यसपटक दलहरुले गीत संगीत र त्यसको भिडियो निर्माणमा पनि लाखौँ खर्च गरिरहेको सहजै अनुमान लगाउन सकिन्छ ।

पार्टी र दलको बखानमा केन्द्रित भएका अल्पकालीन उत्पादन भए पनि चुनावी गीतको निर्माणबाट कलाकार, संगीतकार, स्टुडियोको व्यापार बढेको छ । एउटा गीतको अडियो तयार हुन सामान्य रुपमा ५० हजारदेखि १ लाखसम्मको हिसाब गर्ने हो भने यो चुनावमा पार्टीहरुले करोडौँ रकम गीतमा खन्याएको बुझ्न कठिन छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *