मनिषा कोइरालाको भाषण : के कोइराला परिवारमा विखण्डन आएको हो ? (भिडियो रिपोर्टसहित)
१९ कात्तिक २०७९ काठमाडौं । शुक्रबार राप्रपाले काठमाडौंमा आयोजना गरेको चुनावी सभालाई संबोधन गर्न पुग्नुभयो, मनिषा कोइराला ।
नेपाली कांग्रेसभित्र कोइराला परिवारको दबदबा बाँकी रहेका बेला यही पार्टीका संस्थापक बीपीकी नातिनी मनिषा एकाएक कांग्रेसको ‘लिग’ बाहिर गएर राप्रपालाई भोट माग्नुभयो ।
उहाँले भोट मात्रै माग्नु भएन अब बीपीको उत्तराधिकारी चाँहि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भएको ठोकुवा पनि गर्नुभयो । उहाँको यस्तो अभिव्यक्तिपछि नेपाली राजनीतिमा कोइराला परिवारको विरासत डगमगाएको हो कि भन्ने अड्कलबाजी हुन थालेको छ ।
नेपाली राजनीतिमा सबैभन्दा लामो विरासत बोकेको परिवार हो ‘कोइराला परिवार’ । कोइराला परिवारका तीन पुस्ताले नेपाली राजनीतिमा उत्साहजनक समय व्यतित गरेका छन् । पार्टी र सरकारमा पनि अर्थपूर्ण भूमिकामा उनीहरु रहिसकेका छन् ।
नेपाली कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेको कोइराला परिवार अहिले पनि कांग्रेस केन्द्रित छ । कोइराला परिवारले ४९ वर्षसम्म कांग्रेसको नेतृत्व ग¥यो । जसमध्ये विश्वेश्वरप्रसाद कोइरालाले २५ वर्ष, मातृकाप्रसाद कोइरालले ४ वर्ष, गिरिजाप्रसाद कोइरालाले १४ वर्ष र सुशील कोइरालाले ६ वर्ष कांग्रेसको नेतृत्व गरे ।
कृष्णप्रसाद कोइरालाले सुरु गरेको सामाजिक सशक्तिकरणको आन्दोलनलाई उनका छोरा बीपी कोइरालाले राजनीतिक रुप दिनु भएको थियो । त्यसपछि बीपीपुत्रसम्मले अहिले राजनीति गरिरहेको छ र यो पुस्ता पनि कांग्रेस राजनीतिको केन्द्रमा छ । जसरी तेस्रो पुस्तासम्म कोइराला परिवारको राजनीतिमा चर्चा थियो चौथो पुस्ता त्यसको ठिक विपरित छ ।
त्यति मात्रै होइन, कोइराला परिवारको राजनीति जति लम्बिदै गयो त्यति नै उनीहरुबीच मनमुटाव पनि बढ्दै गएको पाइन्छ । सोही कारण कांग्रेस पार्टीको मियो मात्रै नभएर देशकै राजनीतिको केन्द्र रहेको कोइराला परिवार किनारा लाग्न थालेको आभाष भएको छ । कोइराला परिवारको राजनीतिक अवसानको यात्रा कांग्रेसको १४औं महाधिवेशनमा उदांगियो । यो महाविधेशनमा कोइराला समूहबाट डा। शेखर कोइराला सभापतिका उम्मेदवार बन्नुभयो ।
उहाँले आफ्नै परिवारका शंशाक र सुजाताको साथ पाउनु भएन । कोइराला परिवारलाई नजिकबाट चिन्नेहरुका अनुसार सो महाधिवेशनपछि राजनीतिक मात्रै नभएर पारिवारीक तिक्तता पनि बढेको छ । यस्तो अवस्थामा कोइराला परिवारकी चौथो पुस्ता मनिषा कोइरालाले शुक्रबार काठमाडौंमा राप्रपाको चुनावी सभामा बोल्दै राजनीतिमा आउने संकेत गर्नुभयो । मनिषा विश्वेश्वर प्रसादकी नातिनी हुनुहुन्छ । मनिषाका बुबा प्रकाश पनि नेपाली राजनीतिमा चर्चित नाम हो ।
प्रकाश २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रको अध्यक्षतामा बनेको सरकारमा वातावरण, विज्ञान तथा प्रविधि मन्त्री बन्नुभएको थियो । लामो समय भारतीय चलचित्रमा जीवन व्यतित गरेकी मनिषा केही वर्षयता चलचित्रबाट टाढिनुभएको छ । क्यानसरको सफल उपचारपछि मनिषाले अधिकांस समय धर्मकर्ममा विताएको देखिन्छ । समय समयमा उहाँ राजनीतिमा आउने चर्चा हुने गरेको थियो । तर शुक्रबार उहाँ अचानक राप्रपाको कार्यक्रममा झुल्किनुभयो ।
यही कारण धेरैले कोइराला परिवारको ‘लिग’ बाहिर मनिषा कोइरालाले राजनीति आरम्भ गर्ने संकेत गरेको अनुमान लगाउन थालेका छन् । यति मात्रै होइन बीपीले सुरु गरेको आदर्शको पर्याय लिङ्देन हो भन्नुलाई धेरैले अर्थपूर्ण रुपमा हेरेका छन् ।
अब कोइराला परिवार कांग्रेस राजनीतिमा मात्र होइन अन्य राजनीतिक पार्टीका रुपमा पनि विभक्त हुन सक्ने सम्भावना, मनिषा कोइराला राप्रपाको राजनीतिमा आउन सक्ने सम्भावना वा समग्र रुपमा कोइराला परिवारसँग कांग्रेस पार्टीको विरासत नरहने सम्भावनाहरुको संकेत मनिषा कोइरालाको अभिव्यक्तिले गरेको छ ।
प्रतिक्रिया