एमाले उम्मेदवार अधिकारी भन्छन्–मेरो उम्मेदवारी राष्ट्रियता रक्षाका लागि (भिडियो रिपोर्टसहित)
![एमाले उम्मेदवार अधिकारी भन्छन्–मेरो उम्मेदवारी राष्ट्रियता रक्षाका लागि (भिडियो रिपोर्टसहित)](https://www.himalayatv.com/wp-content/uploads/2022/11/khagaraj-adhikari.jpg)
२२ कात्तिक २०७९ काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले नेपालको राष्ट्रियता रक्षाका लागि एमाले खरो उत्रिएको दाबी गर्नुभएको छ ।
हिमालय टेलिभिजनले पोखरामा आज गरेको महासंग्राम बहस कार्यक्रममा नेता अधिकारीले राष्ट्रियता हरेक नेपालीका मन–मनमा रहेकाले यसको रक्षा गर्न आवश्यक रहेको बताउनुभयो । इतिहास कागजको खोस्टा नभएर ऐतिहासिक दस्तावेज भएकाले यसलाई पुनर्लेखन गर्नु जरुरी रहेको उहाँको भनाइ छ ।
महासंग्राम बहसमा नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले अहिलेको सत्ता गठबन्धन संविधान रक्षाका लागि बनेको दाबी गर्नुभयो । एमालेप्रति लक्षित गर्दै उहाँले संविधानसभाबाट प्राप्त संविधान मास्ने कुचेस्टा हुने संकेत देखिएपछि कांग्रेसले कम्युनिष्ट पार्टीसँग गठबन्धन गरेको बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता हितराज पाण्डेले जनआन्दोलनले राजनीतिक परिर्वनतन भए पनि आर्थिक परिर्वतन नभएको स्वीकार गर्नुभएको छ । उहाँले आसन्न निर्वाचनबाट माओवादी केन्द्रले सरकारको नेतृत्व गरेर आर्थिक परिर्वतन गर्ने योजना रहेको बताउनुभयो ।
महासंग्राम बहसमा कांग्रेसबाट बागी उम्मेदवारी दिएका नेता महादेव गुरुङले दलहरुले ३३ वर्षदेखि एउटै मुद्दा उठाउँदै आएको आरोप लगाउनुभएको छ । उहाँले राजनीतिक दलहरुले घोषणापत्रमा जनताका अपेक्षा समेटे पनि कार्यान्वयन नभएको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ढाकाकुमार श्रेष्ठले पुराना राजनीतिक दलले देश परिवर्तनको नारा दशकौंदेखि लगाउँदै आए पनि पुरा गर्न नसकेको आरोप लगाउनुभयो ।
कार्यक्रममा व्यवसायीहरुले गण्डकी पर्यटकीय सम्भावना बोकेको प्रदेश भए पनि नीतिगत समस्याका कारण व्यवसायीले समस्या खेप्नु परेको गुनासो गरेका छन् । हिमालय टेलिभिजनले कात्तिक २५ गते लुम्बिनी प्रदेशको रुपन्देहीमा महासंग्राम बहस आयोजना गर्नेछ ।
प्रतिक्रिया