राजनीति

मतदाताको घरमा उम्मेदवारका नौटंकी : जाँतो घुमाउनेदेखि आलु ताच्नेसम्म, कस्ले के गरे ? (भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक २१ गते २१:०९
मतदाताको घरमा उम्मेदवारका नौटंकी : जाँतो घुमाउनेदेखि आलु ताच्नेसम्म, कस्ले के गरे ? (भिडियो रिपोर्टसहित)

२१ कात्तिक २०७९ काठमाडौं । निर्वाचन प्रचार प्रसारमा गाउँगाउँ र घरघरमा पुगेका उम्मेदवारहरु अहिले मतदातालाई सघाउन व्यस्त देखिन्छन् ।

खेतबारीमै पुगेर मतदाताको काममा हात लगाउनेदेखि घप्लप्पै खुट्टामा ढोगेर आशिर्वाद लिने नेताहरु अहिले सामाजिक सञ्जालहरुमा हासोको पात्र बनिरहेको देखिन्छ । भोट माग्नका लागि नेताहरु के के सम्म गरिरहेका छन् त ?

उहाँ हुनुहुन्छ नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी । उहाँले आफ्नो गाडी नभएर कसैको मोटरसाइकलमा लिफ्ट माग्नु भएको होइन । सँधैजसो कोट र टाइमा देखिने चौधरीलाई यो धुलो र हिलो बाटोमा अरु कसैको मोटरसाइकलको पछाडि बसेर पुग्नुपर्ने र सर्वसाधारणसँग बसेर दुःखजिलो हातमुख जोर्नुपर्ने अवस्था ल्याइदिएको हो आसन्न निर्वाचनले । निर्वाचनका बेला मतदातासँग भिज्न कांग्रेस उम्मेदवार चौधरीले गरेका यी व्यवहार सामाजिक सञ्जालमा खुबै चर्चित भए ।

भोट आफ्नो पक्षमा पार्न उम्मेदवारहरु भ्याएसम्मका तरिका अपनाउँछन् । सिन्धुपाल्चोक(२ का नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार शेरबहादुर तामाङ त खेतमै पुगेर स्थानीय किसानको धान चुट्न सघाउँदै हुनुहुन्छ, त्यो पनि खादामाला सहित ।

धान चुट्ने मात्र हैन खेतमै पुगेर धान काट्ने सम्मका उम्मेदवारहरुको यहाँ कमी छैन । रुपन्देही – १ का एमाले उम्मेदवार छविलाल विश्वकर्मालाई हेरौं । गलामा माला लगाएका विश्वकर्मा मतदाताको खेतमा पुगेर भटाभट धान काट्दै हुनुहुन्छ । समाजसेवी भावना देखाउन र मतदाताहरुलाई प्रभावमा पार्न उम्मदेवारहरु सडक, खलियान र खेतमा मात्र हैन घरघर र चोटा(कोठासम्मै पुग्ने गरेका छन् । भान्छामै पुगेर आलु तास्दै गर्नुभएका ओखलढुंगा क्षेत्र(१ का काँग्रेस उम्मेदवार रामहरि खतिवडालाई हेरौं ।

घरमै पुगरे साघाउनेमा सुुर्खेत क्षेत्र नम्बर २, प्रदेश २ का एमाले उम्मेदवार ताराकेशर गौतम पनि पछि हुनुहुन्न । उहाँको प्रचारप्रसारमा संलग्न एक कार्यकताले त भोट माग्दै जाँतो चलाउँदै हुनुहुन्छ ।

चुनावमा मतदातालाई रिझाउन उम्मेदवारहरुले कुनै कसर बाँकी राख्दैनन् । मतदातासँग सबैभन्दा धेरै निकटता देखाउने मुख्य अस्त्र चाँहि आर्शिवाद ग्रहण गर्ने प्रवृति हो । खुट्टैमा ढोग्ने र मत माग्ने अनि जितको आशिर्वाद पनि माग्ने उम्मेदवारको संख्या पनि ठूलै छ ।
उहाँ चाँहि कैलाली क्षेत्र नम्बर २ का राप्रपा उम्मेदवार भरत बिसी हुनुहुन्छ ।

पाँच वर्षसम्म राजधानी केन्द्रित हुने र चुनावको बेला मुख देखाउन पुग्ने उम्मेदवारका चटकहरु धेरैतिर हेर्न लायक छन् । मतदातालाई भावुक बनाउने र मत हासिल गर्ने त्यसपछि फर्केर गाउँ नपस्नेहरुका बाचाबन्धनबाट आजित भएका मतदाता अहिले सामाजिक सञ्जालबाटै यस्तो शैलीको आलोचना गरिरहेका छन् ।

सामाजिक सञ्जालका प्रयोगकर्ताले पोष्ट गर्ने नेताहरुको तरहतरहको भोट माग्ने शैलीमा टिप्पणी पनि उस्तै आउने गरेका छन् । खासमा यस्तो शैली अपनाइरहेका नेताहरु हाँसोको पात्र बनिरहेका छन् ।

चुनावको बेला गरेका बाचाहरु पूरा गर्न नसकेपछि नेताहरु मतदाताप्रति नतमस्तक हुने र माफीसमेत माग्न लम्पसार पर्ने गरेको देखिन्छ । चुनाव भरि नेताले हात जोड्ने र चुनाव सकिएको पाँच वर्ष मतदाताले हात जोड्नुपर्ने परिपाटीबारे त धेरै नै चर्चा हुने गरेको छ । नीति निर्माण तहमा पुग्छौँ भन्ने नेताहरुले यस्ता चटक देखाउनुभन्दा आफ्ना प्रतिबद्धता पुरा मतदता रिझाउने काम गरे राम्रो हुन्थ्यो कि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्