चुनाव प्रचारका लागि दलका शीर्ष नेताहरु देश दौडाहामा

२१ कात्तिक २०७९ काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरु चुनावको प्रचारका लागि देश दौडाहामा व्यस्त छन् ।
एक सातादेखि चुनावी प्रचार प्रसारका क्रममा काठमाडौं बाहिर रहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज धनगढीमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवाले गृहजिल्ला डडेल्धुराका सबै स्थानीय तहमा आयोजित सभालाई सम्बोधन गरिसक्नु भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरामा हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
एमालेले दार्चुलाबाट चुनावी प्रचार अभियान शुरु गरेको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चुनावी अभियान पनि जारी छ ।
आज काठमाडौंमै व्यस्त रहने प्रचण्ड भोलिदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा आयोजना हुने चुनावी सभामा सहभागी हुने उहाँको सचिवालयले जनाएको छ ।
मतदान शुरु हुनु ४८ घण्टा अघि मंसिर २ गतेदेखि मौन अवधि शुरु हुने भएकाले दलहरुले मंसिर १ गतेसम्म मात्रै चुनाव प्रचार प्रसार गर्न पाउँछन्।
प्रतिक्रिया