धनकुटा: स्वास्थ्यको पूर्वाधारले गिज्याइरहेको छ उम्मेदवारलाई (भिडियो रिपोर्टसहित)
२० कात्तिक २०७९ धनकुटा । देश निर्वाचनमय भएको छ । धनकुटाका उम्मेदवार पनि मतदाता आकर्षित गर्न घरदैलो, सभा, सम्मेलनमा व्यस्त छन् ।
धनकुटाका उम्मेदवार यो वर्ष पनि स्वास्थ्यलाई प्रमुख एजेण्डा बनाएर भोट मागिरहेका छन् । तर स्वास्थ्यको पूर्वाधारले उनीहरुलाई नै गिज्याइरहेको छ ।
यो धनकुटाको सदरमुकाममा रहेको जिल्ला अस्पताल । जिल्ला अस्पताल धनकुटा र स्वास्थ्य क्षेत्र सुधारको आश्वासन बाँडेर धनकुटामा राजनीति हुनु नौलो विषय होइन ।
प्रदेश एकका तत्कालिन मुख्यमन्त्री भीमप्रसाद आचार्यले गत वर्ष कात्तिकमा धनकुटा जिल्ला अस्पताललाई छिट्टै एक सय शैय्यामा स्तरोन्नति गर्ने घोषणा गरी उद्घाटन समेत गर्नुभयो ।
यसबारे थप प्रसंग समेत अगाडि बढेको छैन । यस बाहेक धनकुटामा प्रदेश सरकारले बनाउने प्रदेश शिक्षण अस्पताल समेत निर्माण हुने चर्चा धेरै भयो ।
१५ शैया क्षमताको अस्पतालले आवश्यक जनशक्ति नपाउँदा उपचारमा समस्या आउने गरेको हो । एक मेडिकल सुपरिटेन्डेण्ट तथा दुई मेडिकल अफिसरको पद खाली रहेको अस्पताल करारका कर्मचारीको भरमा चल्दै आएको छ । अस्पतालमा दुई वर्ष पहिले जडान गरिएको भेन्टिलेटर र आइसीयू अझै सञ्चालनमा आउन सकेको छैन ।
जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक र जडान भएका उपकरण सञ्चालनमा नहुँदा सामान्य उपचारका लागि समेत सेवाग्राहीलाई धरान, विराटनगर धाउनु पर्ने बाध्यता छ ।
प्रतिक्रिया