राजनीति

पार्टीका उम्मेदवारले किन भनिरहेका छन्, आफूलाई स्वतन्त्र ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक १९ गते २०:१२
पार्टीका उम्मेदवारले किन भनिरहेका छन्, आफूलाई स्वतन्त्र ? (भिडियो रिपोर्टसहित)

१९ कात्तिक २०७९ काठमाडौं । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा भिड्नेको संख्या उल्लेख्य छ ।

निर्वाचन आयोगकै तथ्यांकअनुसार संघमा मात्रै कुल उम्मेदवारको ३६ प्रतिशत उम्मेदवार स्वतन्त्र छन् । तर कतिपय दलका उम्मेदवारलेसमेत आफूलाई स्वतन्त्र उम्मेदवारका रुपमा चिनाउँदा मतदातामा थप भ्रम सिर्जना हुने आशंका छ ।

गत स्थानीय तह निर्वाचनमा काठमाडौंमा बालेन्द्र शाह र धरानमा हर्क साम्पाङ स्वतन्त्र उम्मेदवारका रुपमा लौरो चुनाव चिह्न लिएर भिडे र जित पनि हासिल गरे । लौरो चुनाव चिह्नका उम्मेदवारले महत्वपूर्ण दुई स्थानीय तहमा जित हासिल गरेपछि यो चिह्न चर्चित र लोकप्रियसमेत बन्यो ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको बहसमा ‘स्वतन्त्र’ र ‘लौरो’ शब्दले लगातार चर्चा पाइरह्यो । त्यसैले लौरो चिह्न धेरैको रोजाइमा प¥यो । स्थानीय तह निर्वाचनलगत्तै गत असार ७ गते रवि लामिछानेले स्वतन्त्र नाममै पार्टी गठन गर्नुभयो । खैर उहाँले लौरो चुनाव चिह्न चाँहि लिनु भएन ।

यतिबेला लौरो पनि हाम्रो नेपाली पार्टीको चुनाव चिह्न बनिसकेको छ । अनन्तराज घिमिरेको नाममा निर्वाचन आयोगमा दर्ता भएको हाम्रो नेपाली पार्टीको चिह्न लौरो लिएर देशव्यापी रुपमा उम्मेदवारहरु मैदानमा छन् । यी दुई चुनाव चिह्नबाहेक नै प्रतिनिधिसभाको निर्वाचन ३६ प्रतिशत उम्मेदवार चुनावी मैदानमा छन् ।

आयोगको तथ्यांकअनुसार प्रतिनिधिसभातर्फ कुल २ हजार ४ सय १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसमध्ये ८ सय ६७ जना स्वतन्त्र उम्मेदवार छन् । प्रदेशसभातर्फ ३ हजार २ सय २४ मध्ये १ हजार २ सय ७८ स्वतन्त्र उम्मेदवार छन् ।

तर अहिले घण्टी र लौरो चुनाव चिह्न लिएर निर्वाचनमा होमिएका उम्मेदवारहरुले समेत आफूलाई स्वतन्त्र उम्मेदवारका रुपमा चिनाइरहेका छन् र त्यसरी नै भोट मागिरहेका छन् । निर्वाचन आयोगले दलको चुनाव चिह्न लिएका उम्मेदवार स्वतन्त्र नभएको भनेर सतर्क गराइसकेको छ । तै पनि लौरो चिह्न लिएका र कतिपय घण्टी चुनाव चिह्न लिएका उम्मेदवारहरु समेतले आफूलाई पार्टीको उम्मेदवार भन्न रुचाउँदैनन् ।

नेपालको संविधान २०७२ ले कुनै पनि निर्वाचनमा दलगत रुपमा वा स्वतन्त्र रुपमा उम्मेदवार बन्ने पाउने अधिकार सुरक्षित गरिदिएको छ । त्यसैले स्वतन्त्र हुन पाउनु र भन्न पाउनु उम्मेदवारको हक हो । तर पार्टीबाटै प्रतिनिधित्व गरिरहेका उम्मेदवार किन स्वतन्त्र शब्दप्रति यति धेरै लगाव राख्छन् ?

स्थानीय तह निर्वाचनमा प्राप्त परिणाम र त्यसपछि प्राप्त प्रतिक्रियाका आधारमा नयाँ उम्मेदवारहरुमा स्वतन्त्र बन्ने र चुनाव जित्ने हुटहुटी देखिन्छ । स्वतन्त्र हुँदा कुनै पनि दलप्रति बफादार हुनु पर्दैन भन्ने भाष्य स्थापित गर्न र मतदाता प्रभावित पार्न सहज हुने भएकाले पनि नयाँ पार्टीका उम्मेदवार आफूलाई स्वतन्त्र भन्न रुचाईरहेका छन् ।

उनीहरुको प्रचारसभा र प्रचार सामग्रीहरुमा पार्टीको नाम नलेखेर उम्मेदवारको नाम र चुनाव चिह्न मात्र लेख्ने गरेको पाइन्छ । आम नागरिकमा पार्टीप्रति बढेको वितृष्णाका कारण पार्टीकै उम्मेदवारहरु पनि आफूलाई स्वतन्त्र भन्न रुचाइरहेको बुझ्न सकिन्छ ।

लौरो चुनाव चिह्नधारी दलका उम्मेदवारहरु लौरोको प्रभाव पनि कायमै राख्ने र स्वतन्त्र शब्दप्रतिको सेन्टिमेन्ट पनि लिने प्रयासमा देखिन्छन् ।

२०७४ को आम निर्वाचनपछि उदाउँदो रुपमा हेरिएको विवेकशील साझा पार्टीको हबिगतका कारण पनि यतिबेला नयाँ पार्टीहरु आफूलाई पार्टीका रुपमा भन्दा पनि चुनाव चिह्नका रुपमा मात्रै देखाउन सजिलो मानेको पाइन्छ । तर लोकतन्त्रको उच्चतम सदुपयोग गरिरहेका उम्मेदवारले पार्टीको चुनाव चिह्न लिएर ‘मोही माग्ने ढुंग्रो लुकाउने’ गरी गरिरहेको प्रचारले मतदातालाई भ्रमित त गर्दैन ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्