Main News

बैतडीमा चुनावी सरगर्मी: गठबन्धनका साझा उम्मेदवारलाई बागी उम्मेदवारकाे चुनौती (भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक १९ गते २०:०६
बैतडीमा चुनावी सरगर्मी: गठबन्धनका साझा उम्मेदवारलाई बागी उम्मेदवारकाे चुनौती (भिडियो रिपोर्टसहित)

१९ कात्तिक २०७९ बैतडी । बैतडीमा पनि चुनावी सरगर्मी बढेको छ । सत्ता गठबन्धन दलले साझा उम्मेदवार खडा गरेका भए पनि बागी उम्मेदवारले प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ ।

प्रतिनिधि सभाका लागि नेकपा एमालेबाट दामोदर भण्डारी र सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नरेन्द्र कुँवर चुनावी मैदानमा हुनुहुन्छ।

बैतडीमा अहिले २०७४ सालका सहयात्री चुनावी प्रतिस्पर्धामा छन् । २०७४ सालमा बाम गठबन्धन हुँदा सँगै गठबन्धनका लागि मत मागेका सहयात्री यतिबेला बाम लोकतान्त्रिक गठबन्धन र एमालेको उम्मेदवारका रुपमा मैदानमा छन । नेकपा एमालेका सुदूरपश्चिम प्रदेशका अध्यक्ष दामोदर भण्डारी तेश्रो पटक संसद छिर्ने योजनामा हुनुहुन्छ । बाम लोकतान्त्रिक गठबन्धनबाट माओवादी पोलिटब्युरो सदस्य नरेन्द्र कुँवर मैदानमा हुनुहुन्छ ।

२०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्रबाट नरेन्द्र कुँवर र एमालेका दामोदर भण्डारी चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । त्यत्तिबेला काग्रेंस र एमालेलाई पराजित गर्दै बैतडी १ बाट निर्वाचित भएका कुँवर २०७० सालको संविधानसभा निर्वाचनमा एमालेका भण्डारीसँगै पराजित हुनुभयो ।

दोश्रो पटकको प्रयासमा संसदको यात्रा तय गरेका भण्डारी २०७४ सालको निर्वाचनमा बाम गठबन्धनका साझा उमेदवार हुनुभयो । र काग्रेंसका उमेदवार नरबहादुर चन्दलाई निकै पछाडी पार्दै बाजी मार्नुभयो । तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको ९ महिने सरकारमा अर्थराज्य मन्त्री भएका भण्डारी यो पटक आफुलाई चुनाव जित्न सहज दाबी गर्नुहुन्छ ।

२०६४ सालको संविधानसभा सदस्य कुँवर यो पटक बाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार हुनुभएको छ । १० बर्ष निरन्तर बैतडीबाट सांसद बनेर राज्यमन्त्री समेत भएका भण्डारीले बैतडीको विकासमा खासै योगदान नदिएको कुँवरको आरोप छ । संविधान जोगाउन र बैतडीको विकासका लागि आफू चुनावी मैदानमा रहेको कुँवरको दाबी छ ।

बैतडीमा स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा बैतडीमा एमाले सबै भन्दा अगाडी देखिन्छ । एमालेको ३५ हजार ४८, कांग्रेसको ३३ हजार ६८३, माओवादीको १४ हजार ९९८, नेकपा एकीकृत समाजवादीको ३ हजार १४० र राप्रपाको २ हजार ४ मत छ ।

स्थानीय तहको मतलाई हेर्दा एमाले भन्दा गठबन्धनको मत १६ हजार बढी भए पनि नेपाली काग्रेसका नेता केशव चन्द गठबन्धनबाटै बागी उम्मेदवार हुनुभएको छ । चन्दको उमेदवारीले गठबन्धनलाई असर गर्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *