Main News

चुनावी घोषणापत्र : लाखौँ रोजगारी सिर्जना गर्ने दल र स्वतन्त्र उम्मेदवारको आश्वासन (भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक १८ गते २१:१७
चुनावी घोषणापत्र : लाखौँ रोजगारी सिर्जना गर्ने दल र स्वतन्त्र उम्मेदवारको आश्वासन (भिडियो रिपोर्टसहित)

१८ कात्तिक २०७९ काठमाडौं । दलहरुका चुनावी घोषणापत्र लोकप्रिय नाराले भरिभराउ बनेका छन् । यी नाराहरुमा सबैभन्दा बिकाउ देखिएको छ, युवा लक्षित रोजगारी सिर्जनाको आश्वासन ।

प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत सबैजसो पार्टी तथा स्वतन्त्र उम्मेदवारसमेतले आफ्नो घोषणापत्रमा लाखौँ रोजगारी सिर्जना गर्ने आश्वासन बाँडेका छन् ।

सत्तारुढ नेपाली कांग्रेसले आफ्नो संकल्प पत्रमा पाँच वर्षमा साढे १२ लाख रोजगारी सिर्जना गर्ने उल्लेख गरेको छ । उसले वार्षिक साढे दुई लाखका दरले पाँच वर्षमा साढे १२ लाख रोजगारी सिर्जना गर्ने बताएको हो ।

वार्षिक रुपमा ५ लाख युवा रोजगारीको खोजीमा भए पनि अत्यन्तै न्यून संख्यामा मात्रै रोजगारी सिर्जना हुने गरेको भन्दै आफ्नो सरकार आए साढे १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने कांग्रेसको जिकिर छ । तर यसरी रोजगारी सिर्जना गर्ने स्पष्ट आधार भने उसँग छैनन् ।

साढे ३ वर्ष झण्डै दुई तिहाई बहुमतको सत्ता सम्हालेको एमालेले पाँच वर्षमा न्यूनतम ज्याला २५ हजार रुपैयाँ पुर्‍याउने आस्वासनसहित वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने जिकिर घोषणापत्रमा गरेको छ ।

कृषि, वन, उद्योग, पर्यटन, ऊर्जा, यातायात तथा सूचना प्रविधि र भौतिक पूर्वाधारलाई रोजगार सिर्जनाको मुख्य आधार बनाउने एमालेको प्रतिबद्धता छ। तर, कहाँ कति राजगारी सिर्जना गर्ने र त्यसका लागि स्रोत के हो भन्नेबारे भने एमालेलाई नै थाहा छैन ।

माओवादी केन्द्रले आफ्नो घोषणा पत्रमा पाँच वर्षमा २० लाख रोजगारी सिर्जना गर्ने उल्लेख गरेको छ । रोजगारीको सिर्जनाको मुद्दा बाँड्नमा राप्रपा पनि कम देखिएको छैन् । राप्रपाले आफ्नो घोषणा पत्रमा पाँच वर्षमा १० लाख नयाँ रोजगारी सिर्जना गर्ने बताएको छ ।

यता नेकपा एकीकृत समाजवादीले पनि ‘म पनि के कम’ भन्ने शैलीमा ‘एक घर एक रोजगारी’ को अवधारण ल्याएको छ । दलहरुले रोजगारी सिर्जनाका आधार नै नबनाई हचुवाको भरमा घोषणा पत्रमा छापेका प्रष्ट देखिन्छ । किन न कि नेपाली श्रम बजारमा दलहरुले घोषणा गरेको संख्यामा रोजगारी सिर्जना गर्ने आधार नै नबनेको जानकारीहरु बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *